लोकसंवाद संवाददाता | समाचार | जेठ ०६, २०८०
यूरोप/यूरोपेली मुलुक पोल्याण्डमा नेपाली व्यवसायीद्वारा टच अफ एसिया नामक नेपाली खाद्यान्न पसल सञ्चालनमा ल्याएका छन्।पोल्याण्डका रेस्टुरेन्ट व्यवसायी नरेश सापकोटाले उक्त खाद्यान्न पसल सञ्चालनमा ल्याएका हुन्।
पोल्याण्ड । पोल्याण्डको तेस्रो ठूलो शहर उचमा हिजो टच अफ एसियाको औपचारिक उद्घाटन भएको हो।यसले पोल्याण्ड लगायत यूरोपका सबै देशहरूमा नेपाली खाद्यान्न अनलाइन कुरियरमार्फत समेत बिक्रीवितरण गर्ने बताइएको छ।पसलमा नेपाली, भारतीय खाद्यान्नको साथै भियतनामी, फिलिपिनो, थाइल्याण्ड, कोरिया, चाइनिज लगायत खाद्यान्न वस्तु समेत उपलब्ध छ। पसलले एक हप्तासम्म खरिदमा विशेष छुटको व्यवस्था गरेको छ।
पोल्याण्डमा नेपालीको स्वामित्वमा खाद्य सामग्री पसलको आवश्यक्ता महसुस भएकोले सञ्चालनमा ल्याएको सञ्चालक सापकोटाले बताए। उनले रेस्टुरेन्ट व्यवसायमा सबैले माया गरेको कारणले सफल भए अब खाद्यान्न व्यवसायमा पनि त्यस्तै अपेक्षा गरेको बताए।
नेपालमा उत्पादित सामान सरल रुपमा उपलब्ध गराइदिँदा प्रवासमा रहेका नेपाली समुदायलाई त्यसले नेपालसँग जोड्न मद्दत गर्ने र त्यसले नेपालको निर्यातमा थप सहयोग हुने विश्वास आफूले लिएको बताए। उनले प्रवासमा बस्ने नेपालीहरूलाई सम्भव भए सम्म नेपाली वस्तुहरू प्रयोग गर्न समेत अपिल गरेका छन्।
विगत १८ वर्षदेखि सपरिवार पोल्याण्डमा बस्दै आएका सापकोटा पोल्याण्डमा सफल नेपाली रेष्टुरेण्ट व्यवसायी मानिन्छन्।सापकोटाको टच अफ इण्डिया रेस्टुरेन्टले सन् २०२० र २१ मा उच प्रान्तमा उत्कृष्ट रेस्टुरेन्टको गोल्ड अवार्ड पाएको थियो। उनी नेपाली व्यवसाय संघ पोल्याण्डका संस्थापक सदस्य तथा एनआरएनए पोल्याण्डका पूर्व अध्यक्ष समेत हुन्।