लोकसंवाद संवाददाता | समाचार | जेठ ०८, २०८०
काठमाडौँ । सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताह नेपालमा पनि मनाउने सन्दर्भमा टुँडिखेलदेखि धुलिखेलसम्म साइकल र्याली र साइकल तथा पैदलयात्री सुरक्षा सम्बन्धी कार्यशाला धुलिखेल नगरपालिकामा सम्पन्न भएको छ । यस वर्षको विषयवस्तु रिथिङ्क मोविलिटी अन्तर्गत आयोजित टुँडिखेल देखी धुलिखेलसम्म साइकल र्याली नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपबाट सुरु भएको थियो ।
भक्तपुर, साँगा, नाला, धुलिखेल लगायतका सम्पदा क्षेत्रहरु अवलोकन गर्दै करिब ४० किलोमिटरको दुरी पार गरि सहभागी साइकिस्टहरु धुलिखेल नगरपालिकामा पुगेका थिए । र्याली पश्चात आयोजित कार्यशालामा विभिन्न विज्ञहरुले आफ्ना भनाइ राख्नुभएको थियो । २०० जना भन्दा बढीको सहभागिता रहेको कार्यशालामा बोल्दै कार्यशाला तथा र्याली संयोजक डा.तारालाल श्रेष्ठले नेपालमा साइकल संस्कृति विकासका लागि साइकल सम्बन्धी कानुनको आवश्यकता रहको बताउनु भयो । नेपालमा साइकल पूर्वाधार, साइकल शिक्षा, साइकल प्रयोगकर्ताबीच सदभावपूर्ण एकता तथा छाता संगठन निर्माणका लागि पनि साइकल कानुले निकै ठोस रुपले सघाउने श्रेष्ठको दावी थियो ।
त्यसै गरि नासा नेपालका महासचिव सुशिल ताण्डुकारले इन्जिनियरिङ्ग पक्षबाट सडक सुरक्षाका विषयमाथि प्रकाश पारेका थिए । प्यारा विश्व साइक्लिष्ट तथा स्वर्णपदक विजेता राम अधिकारीले साइकल सुरक्षा र सडक सुरक्षाबारे सहभागीलाई जानकारी दिएका थिए । ललितपुरमा करिब ७ सय महिलालाई साइकल प्रशिक्षण प्रदान गर्ने महिला साइक्लिष्ट प्रतिनिधिका तर्फबाट सुनिता गुरुङ, निरु बज्रचार्य र उर्मिला शाक्यले महिलाका लागि घरभित्र र घरबाहिर साइक्स्टि बन्नुको चुनौतीबारे बताएका थिए । त्यसैगरि कृषि बैज्ञानिक डा। गोविन्द रिजालले विदेश तथा स्वदेश नेपालमा साइकल प्रयोग गर्दाका अनुभव तथा सडक सुरक्षाका चुनौतीबारे बोलेका थिए । नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले नेपालमा साइकल यात्रीलाई प्राथमिकतामा राखेर सडक संरचना निर्माण नगरेसम्म सडक सुरक्षामा सुधार नआउने विचार व्यक्त गरेका थिए ।
कार्यशालाको प्रमुख अतिथिका रुपमा उपस्थित नेपाल प्रहरीका एसएसपी साइक्लिस्ट संजीव शर्माले देशभर गत वर्ष र यस वर्ष साइकल यात्री कति दुर्घटनामा परे भन्ने विस्तृति ताजा आँकडासहित आफ्नो भनाई राखेका थिए । उनले साइकल संस्कृतिको विकासबाट सडक सुरक्षा सम्भव भएको बताउदै आजीवन साइकल संस्कृति विकासका लागि आफू समर्पित रहने र राज्यले प्रदान गर्ने सवारी साधन प्रयोगको साटो साइकल प्रयोगलाई नै नियमितता दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमको अध्यक्षता धुलिखेल नगरपालिकाका वडा अध्यक्ष तथा सामाजिक शाखा प्रमुख गणेश आचार्यले गरेका थिए ।
साइकल कल्चर अभियानको संयोजनमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्ड, धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका, नासा नेपाल, ग्लोबल एलान्यस लगायत साइकल संस्थाहरुले संयुक्त रुपमा सघाएको थियो ।