राजकुमार दिक्पाल | साहित्य | जेठ १३, २०८०
धनकुटामा जन्म भयो, त्यहीँ हुर्किएँ । त्यहीँको स्थानीय बासिन्दा परेँ । तर मेरो पुर्खाको विरासत चाहिँ ताप्लेजुङको हाङपाङ पर्यो । मभन्दा सात पुस्तादेखि पूर्खाहरुले जोहो गरिदिएका कागज पत्रहरुको ठेली आज मेरै हातमा आइपुगेको छ । म आफैले अहिले जोगाउँदै अनि सुम्सुम्याउँदै ल्याएको ऐतिहासिक कागजपत्रले सप्रमाण भन्छ, म तत्कालिन आठराई थुम अन्तरगत पर्ने हाङपाङको एक किपटिया लिम्बू सुब्बाको सन्तान हुँ । आठराई थुम अन्तरगत पर्छ, हाङपाङ । लिम्बू भाषामा ‘हाङ’ भनेको राजा हो र ‘पाङ’ भनेको गाउँ हो । यसअर्थमा मेरो पुख्र्यौली विरासत भएको हाङपाङ राजाको गाउँ अर्थात् राजधानी हो ।
त्यहीँ आठराई क्षेत्रका लिम्बू सुब्बाहरूले पिछा लिएका कुमाई बाहुनका सन्तान हुन्, केपी शर्मा ओली, आरके मैनाली, सीपी मैनाली, कृष्णप्रसाद सिटौला, रामबाबु प्रसाईं, सीके प्रसाईं, नन्दकुमार प्रसाईं आदि । लिम्बू सुब्बाहरूले रस्ती रसाउने र बस्ती बसाउने क्रममा उनीहरुका पुर्खाले त्यहाँ लिम्बूहरूको पिछा पाए । कालान्तरमा उनीहरु नै लिम्बूहरूको शासक बन्न पुगे, अनि लिम्बूहरू चाहिँ उनीहरुको रैति ।
१९०९ सालमा लेखिएको मावोहाङ यक्सो लिम्बुको वंशावली पनि हाम्रै घरमा भेटियो । त्योसँगै अन्य केही ऐतिहासिक कागज पनि मसँग सुरक्षित रहेकोले इतिहासको सेरोफेरोले म इतिहास प्रेमीलाई पनि अङ्गालोमा बाँध्न आइपुगेछ । वंशावलीअनुसार कालान्तरमा हाङपाङका यक्सो सुब्बाहरूको किपट विभाजित भयो । जेठो पुस्ताले पाँच भाग पाए र कान्छो पुस्ताले तीन भाग । हाङपाङका यक्सोहरु तीन सुब्बा र पाँच सुब्बा खलकका छन्, किपटिया जिम्माको ऐतिहासिक आधारमा । म परेँ, तीन सुब्बा यक्सोको सन्तान ।
कुनै बेला हाङपाङको माटोमा रजगज गरेका लिम्बू सुब्बाका सन्तानहरु समयको जाँतोमा पिसिदै जादा कतिपय खाईजिविकाको लागि लाहुर लाग्न मुगलान पसे । हाङपाङका कुनै बेलाका नामी सुब्बामध्ये एक श्रीवाजका सन्तान आशबहादुर लाहुर लाग्न मुगलान पस्नेमध्येका एक हुन् । उनी लाहुर गए, दोस्रो विश्वयुद्ध लडे । अफिसर भए, छातीमा तक्मा भिरेर फर्के । उनै एक लाहुरेको सन्तान हुँ म ।
तर खाई जिविकाको लागि बाबुको पाइला पछ्याउँदै लाहुरे हुने तिर गएन, मेरो मन । पढाई लेखाई गरेर, पेट भर्दै नाम कमाउने पेसातिर लोभिए, म । बाबुले बन्दुक उचाले, अनि मैले चाहिँ कलम । कलमको हलो जोत्न सुरु गरेको बेला मेरा खुट्टा भुँईमा थिएनन्, ओहो ! पानीमा आगो बाल्न सक्छु भन्ने जोश थियो । पाएदेखि हात्ती नै उचाल्छु भन्ने लाग्थ्यो । कलेज पढाउन थालेदेखि मलाई लाग्थ्यो, शास्त्रार्थका लागि पनि म तयार छु ।
तर म त एउटा बबुरो रहेछु, नेपाली समाजका लागि । मनभरिको यो जोशको अगाडी मेरो अनुहारको रुप रङ बाधक बन्न खोजिरह्यो, एक पटक होइन धेरै पटक । बुद्धिको क्षमता हेरेर होइन, यो छालाको ब्यापार गर्ने समाजले अनुहार हेरेर ब्यवहार गरि रहृयो मसँग । यस्तो ब्यबहारसँग म बारम्बार ठोक्किइ रहेँ ।
समय क्रममा यस्तो समाजदेखि भौतिक रुपमा यतिखेर निक्कै टाढा रहेको छु । टाढै बसेर अर्कै किसिमले खाई जिविका गरि रहेछु । अनुहार हेरेर ब्यवहार गर्ने समाजको आँखासँग प्रत्यक्ष रुपमा मैले पहिलेजस्तो ठोक्किइ रहनु त परेको छैन । तर हिजोका ती चरण चरणका उनीहरुको दृष्टि भ्रम एकप्रकारको नोस्टाल्जिया बनेर मनभित्र गढेर बसेको छ । त्यो कति गाढा छ भने हत्तपत्त धोएर जाने वाला छैन ।
मानिसहरु किन अनुहारको छाला हेरेर आफ्नो अवधारणा बनाउँछन् ? यहाँनेर मिथिला देशका विद्वान अष्टबक्राको समयको एउटा घटनाको उल्लेख गर्न चाहन्छु ।
राजा जनक विद्वानहरूको ठूलो सम्मान गर्थे । उनको दरबारमा विद्वानहरूबीच शास्त्रार्थ चल्थ्यो ।
मैले मेरा अनुहार हेरेरै मेरो बारे अवधारणा बनाउनेहरूका लागि जवाफ दिन पनि मेरो जस्तै अनुहार परेका सिमान्तकृतहरुको इतिहास खोज्न र लेख्न यतिखेर प्रतिवद्ध हुन पुगेको छु । यहाँनेर सन्त कविरले भनेको याद आउँछ । उनले भनेका छन् ‘तिमी आफ्नो खुट्टाको धुलोलाई पनि निन्दा नगर, कुनै बेला त्यो तिम्रो आँखामा पर्यो भने त्यो तिम्रो लागि महङ्गो सावित हुनेछ ।’
एक दिन राजा जनकले विद्वानका लागि राजभोजको आयोजना गरेका थिए । अष्टवक्रका बाबु पनि एक विद्वान भएकोले राजभोजमा उनलाई पनि निम्तो थियो । तर हेर्दै अनुहार नपरेको र शरीर पनि आठ ठाउँमा बाङ्गो भएकोले अष्टवक्रलाई उक्त भोजमा निम्तो थिएन । उनी आफ्नो बाबुलाई खोज्दै जब राजा जनकको राजभोजमा पुगे, तब त्यहाँ रहेको विद्वानहरू उनलाई देखेर गलल हाँसे । तर अष्टबक्रा पनि चुप लागेर बस्न सकेनन्, उनी ती विद्वानभन्दा झन जोडले हाँसे । त्यसपछि एकाएक विद्वानहरूको हाँसो रोकियो । राजा जनकले अष्टबक्रालाई सोधे, ‘तिमी किन हाँस्यौ अष्टबक्रा ?’
‘महाराज ! तपाई विद्वानहरूलाई भेला गर्नुहुन्छ, उनीहरुलाई सम्मान गर्नु हुन्छ र तपाईंको सभामा विद्वानहरूबीच शास्त्रार्थ चल्छ भन्ने सुनेको थिएँ । तर यहाँ त छालाका व्यापारीहरुको भेला भएको पनि देखेँ । मानिसको मष्तिष्कलाई हेरेर होइन छालालाई हेरेर अवधारणा बनाउने यी छालाका व्यापारीहरुलाई भेला गरेर तपाईंले अमूल्य समयलाई किन वर्वाद गरिरहनुभएको छ महाराज ? यस्तो घिनलाग्दो भेलामा म एकछिन पनि बस्न सक्दिनँ’, यति भनेर अष्टबक्रा त्यहाँबाट हिँडे ।
राजा जनक भने उनलाई पछ्याउँदै गए र अनेक प्रश्नहरु सोधे । यिनै प्रश्नहरुको जवाफपछि ‘अष्टबक्रा गीता’को जन्म भयो ।
अष्टबक्राको छेउसम्म पनि पुग्ने हैसियत र बुद्धि मसँग छैन । तर कमसेकम म एउटा साधारण मानव त हुँ । तर पनि किन मेरो अनुहार हेरेर यहाँ मानिसहरु मेरो बारेमा अवधारणा बनाउँछन् ? मैले कुरा बुझ्न सकेको छैन ।
हिजो जिविकाको लागि पत्रकारिता र प्राध्यापन क्षेत्र रोजे । सिर्जनात्मक यात्राका लागि साहित्य क्षेत्र रोजे ।
पछिल्लो सिमान्तकृतहरुको विगतलाई स्पष्ट पार्न इतिहासको अध्ययन गरिरहेको छ, यसैमा मेरो कलम चलिरहेछ । फेरि अर्को आरोपको भुक्तमान खेप्न बाध्य छु । नेपाली शासकहरुको अन्याय र अत्याचारको फेहरिस्त प्रमाण प्रमेय प्रस्तुत गर्दा कहिले विदेशीको इशारा वा डलर भुक्तानीमा चलेको त कहिले नेपाली समाजलाई भाँडेर देश विघटनको पक्षमा उभिएको आरोप लगाउनेको लर्को लागेको छ ।
यो लेखमा मैले यस्तै तितामीठा अनुभूतिका पुन्तुरो फुकाएको छु । कृपा गरेर पढि दिनुस् है !
फारम भराउन खोज्नेहरूले छोप्दा
अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा १४ वर्ष बुद्धि र पसिनाको खोलो बगाए । लाहुर लागेको भए त पेन्सन नै पाक्ने समयावधि हो यो ।
पहिले यसको कार्यालय अनामनगरमा थियो, पछि तीनकुने, गैरीगाउँ सर्यो । म परेँ, सवारी साधन विहीन, फुटपाथ प्रेमी । पैदल यात्राबाट पुग्न सकिने गन्तब्य भए हिँडेरै पुग्ने, नभए सार्वजनिक यातायात जिन्दावाद !
अनामनगरमा कार्यालय हुँदाखेरि बबरमहल भएर निस्किरहनु पर्थ्यो, कहिलेकाहिँ । जिल्ला प्रशासन कार्यालयको बाटो हुँदै जब म त्यतातिर पाइला चालिरहेको हुन्थेँ त्यसबेला ममा एक प्रकारको साह्रै नमीठो पीडाबोध हुन्थ्यो ।
जब त्यो बाटो भएर हिँड्थेँ, हातमा डटपेन समातेमा केही मानिसहरु मेरो बाटो छेक्थे, र भन्थे,'तपाईँ राहदानीको फारम भर्न आउनुभएको हो ? म सस्तोमा गरिदिन्छु । आउनुस् आउनुस् ।'
नेपाली अक्षर लेख्ने मान्छे म । लामो समयदेखि नेपाली भाषाकै सेवा गरिरहेको मान्छेलाई राहदानीको फारम भर्न आउँदैन होला र ?
तर ती राहदानीका फारम भराउनेहरूलाई म पनि अक्षरको गोडमेल गर्न सक्छु भन्ने के थाहा ? उनीहरु गहुँगोरो मेरो अनुहार र त्यहीँ अनुहारमा कैँचीले काटेजस्तो चिम्सा आँखा न देख्थे । उनीहरुले म भित्रको ‘म’ लाई कसरी पहिचान गर्न सक्थे, बरा कठै !
अझ बुट्टे सर्ट लगाएर त्यो बाटो हिँड्दा त पाखुरामा समाएर फारम भराऊँ ला जस्तै गर्ने । उनीहरुको दृष्टिकोणमा म भर्खरै सकभर बेलायत वा हङकङ, नत्र इण्डिया र कम्तिमा खाँडी क्षेत्र वा मलेसियाबाट फर्केको लाहुरे हुँ । त्यसैले राहदानीको फारम भराउनेहरू मेरो पिछा गर्थे ।
यसरी राहदानीको फारम भराउन खोज्नेहरूको प्रस्तावलाई म मन्द मुस्कुराहटका साथ 'पर्दैन/होइन' भन्थेँ । त्यतिखेर मेरा दाँतहरु मात्र हाँसिरहेका हुन्थे, आँतले हाँस्ने कसरी ? पीडाले उथलपुथल हुन्थ्यो, मेरो आत्मा । त्यो पीडा उक्लेर कहिले काहिँ आँखाको डिलसम्म आइ पुग्थ्यो । र म आफू आफैलाई प्रश्न गर्थेँ,'के म अनुहारले त्यति साह्रै ठगिएको ब्यक्ति हुँ ? राहदानीको फारम भर्नै नजान्ने जस्तो छ र मेरो अनुहार ?'
पछि परराष्ट्र मन्त्रालयले राहदानीको जिम्मा लिएपछि बबरमहलको बाटो हिँड्दा राहत महसुस गरेको थिएँ । त्यसबेला मैले लामो सास फेरेको थिएँ, बल्ल मुक्ति पाइयो ।
एक कम्पनीबाट अर्को कम्पनीलाई स्वामित्व हस्तान्तरण भएपछि अनामनगरबाट अन्नपूर्ण पोस्टको कार्यालय सर्यो, तीनकुने, गैरीगाउँमा । तर बबरमहलको जिल्ला प्रशासन कार्यालय अगाडिको त्यो सडकभन्दा भयानक पीडादायी बन्न पुग्यो, तीनकुने गैरीगाउँ मेरो लागि ।
पीडा झन बल्झेर आयो । मैले काम गर्ने कार्यालय नजिकै रहेछ, श्रम विभागको कार्यालय । त्यहाँ हिँडडुल गर्दा 'तपाईँ श्रममा हो' भनेर सोध्नेहरूको सङ्ख्या त कति हो, कति !
त्यो भीडलाई छिचोलेर कार्यालयमा पुगेपछि आधा लिटर जति पानी पिएर लामो सास फेर्थेँ र सोच्थेँ, के मेरो अनुहारको विम्व श्रम विभागको फारम भर्नै नजान्ने वा नसक्ने जस्तो छ र ?
हुँदाहुँदा श्रमको फारम भराउन खोज्नेहरु बाग मति पुलबाटै पिछा लाग्न थाले । यसरी पिछा लाग्नेहरुमा कतिपय मावि वा उच्च मावि तहमा पढ्ने विद्यार्थीजस्ता पनि थिए । त्यो बेला म आफै विहानको समयमा एउटा कलेजमा कक्षा ११देखि स्नातक तहको तेस्रो वर्षसम्मका विद्यार्थीहरुलाई पढाइरहेको थिएँ ।
अब त हदै भयो । त्यसपछि मैले एउटा अक्कल झिके । त्यो दिन कोट लगाएँ, अलि औपचारिक जस्तो हुनलाई । अनि हातमा रातो कभरमा छापिएको डेनिस मक्वीलको मोटो पुस्तक 'मास कम्युनिकेसन थ्योरी' बोकेँ । अचम्म, त्यो दिनको मेरो रुप रङ देखेर होला, कसैले पनि त्यो दिन मलाई 'तपाई श्रम विभागमा हो ?' भनेर सोधेनन्, कोही झुत्तो खेल्न आएनन् । त्यसपछि म कुनै न कुनै पुस्तक बोकेरै कार्यालय आउने जाने गर्न थालेँ । ती पुस्तक फुर्सदको समयमा पढिन्थ्यो । देखाउन कै लागि पनि पुस्तक बोक्न बाध्य भएँ म ।
अधिकारवादलाई तर्साउने मेरो अनुहार
मेरो अनुहार कस्तो होला, जसले मानव अधिकार वादीलाई समेत तर्साइरह्यो !
म फेसनदार छैन । कामकाजी पोशाक लगाउँछु र प्रायः कपाल छोटो राख्छु । अन्नपूर्ण पोस्टले त्यो बेला मलाई मानवअधिकार क्षेत्र पनि हेर्ने जिम्मेवारी दिएको थियो । तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको समय थियो, त्यो ।
मानवअधिकार तथा शान्ति समाज नामको संस्थाले नियमित कार्यक्रम गरिरहन्थ्यो, कालिका स्थानमा रहेको उसको तत्कालिन कार्यालयमा । जब म त्यहाँ समाचार सङ्कलनका लागि पुग्थेँ, तब शान्ति समाजका सदस्यहरुको मन अशान्त भएझैँ लाग्थ्यो । उनीहरु अनौठा आँखाले हेर्थे मलाई । यहीँ बुझ्थेँ म, उनीहरुको आँखाको भाव पढेर । म पुग्ने बित्तिकै 'ल अब हामी परिचय गरौँ' भनिहाल्थे, पुरुषोत्तम दाहाल (तत्कालिन शान्ति समाजको अध्यक्ष र हाल ‘हिमालय टाइम्स’ दैनिकका प्रधान सम्पादक)
।
एक दिन सञ्चारकर्मी मित्र खिम घलेसँगै त्यहाँ पुगियो, समाचार सङ्कलनकै क्रममा । मैले बाटोमा उनलाई भनेँ,'होइन हौ सोल्टी, म यहाँ पुग्नेवित्तिकै परिचय सोध्छन् । मलाई अचम्म लाग्छ । मेरो अनुहार देख्नै हुँदैन भन्या उनीहरुलाई । '
'हो र ?', खिमजीको आश्चर्य मन्नु भयो ।
सदा झैँ भयो, म कार्यक्रमस्थलमा प्रवेश गरेको मात्र के थिएँ, पुरुषोत्तम दाहालले पहिले पुलुक्क मलाई हेरे र भनिहाले,'ल अब हामी परिचय गरौँ ।'
जब म आफ्नो नाम र संस्थाको नाम भन्थे, अनि मात्र कार्यक्रम आयोजकको अनुहारको भाव आश्वस्त भएको देखिन्थ्यो ।
त्यसपछि खिम जीको प्रश्नले आफै उत्तर पायो । उनले खुसुक्क भने,'सोल्टीले भनेको कुरा हो रहेछ ।'
किन म देखि तर्सेका होलान्, ती मानवअधिकारवादी ? सायद उनीहरु मलाई सादा पोशाकमा आएको सेना वा प्रहरी भन् ठान्थे । तर यो मेरो अपुष्ट अनुमान मात्र हो ।
भर्खरै कोरियाबाट फर्केजस्तो
तत्कालिन राजा ज्ञानेन्द्रको शासन थियो । उनी नेपाली नेताहरुलाई बिरालोले मुसा खेलाए झैँ गर्ने सुरमा देखिए । उनले प्रधानमन्त्री बन्न इच्छुकका लागि बिन्तीपत्र आहृवान गरे, अर्कातिर गिरिजाले पनि कार्ड फ्याँकि दिएपछि माहोल पनि कस्तो बन्यो भने अब माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्ने छैन । अनि उत्साहले पाइला उचालेको देखियो, एमाले जनले !
स्वतः स्फूर्त काठमाडौंमा ठूलो जुलुश निस्कियो एमालेका नेता तथा कार्यकर्ताहरुको । माधवकुमार नेपाललाई काँधमा बोकेर हाँस्दै, नाच्दै र रमाउँदै रत्नपार्क आइपुग्यो, त्यो जुलुश । विजय जुलुसको झल्को दिन्थ्यो, त्यसले । मानि लिऊँ माधवकुमार नेपाल प्रधानमन्त्रीमा नियुक्त भइसके । उनलाई एकजना बलिया एमाले कार्यकर्ताले काँधमा बोकेका थिए । उनी कार्यकर्ताको काँधमा बोकिएर मुसुमुसु हाँसिरहेका थिए ।
त्यो जमघटमा एमाले समर्थक निजामति कर्मचारीहरुको पनि ठूलो भीड लागेको थियो । समाचार सङ्कलनका लागि म रत्नपार्क पुगेको थिएँ । रमिता हेर्दै समाचार सङ्कलन गर्दै म फुटपाथमा उभिइरहेको थिएँ ।
त्यहाँ मेरो चिरपरिचित दुई जना निरौला भेटिए । उनीहरु पनि निजामति कर्मचारी । संयोगले हामी तीनै जना धनकुटा नगरको एउटै वडाबासी । तीमध्ये मेरा अग्रज पुस्ताका लक्ष्मीजीले शाखा अधिकृत (हाल सहसचिव)मा नाम निकालेर स्टाफ कलेज गर्दै गरिरहेका थिए । कुनै बेला उनले धनकुटा अखिलको नेतृत्व गर्दा त्यो कमिटीमा म पनि एउटा पदाधिकारी थिएँ । अर्का भाई पुस्ताका निरौला त बचपन देखिकै नजिकका साथी ।
'हेलो, के छ ?' लामो समयपछि यी साथीभाइसँग भेट भएको थियो । खुसीले उफ्रिए, म ।
भाई निरौला भने मलाई देखेर एकछिन ट्वाँ परे, र भने,'ओहो, दाई त, मोटाउनुभएछ । दाई त कस्तो हुनु भएछ भने कोरियाबाट भर्खरै फर्केजस्तो पो लाग्यो !'
नेपाली माटोलाई आस्था र प्रेमले सुम्सुम्याउँदै अक्षरको गोडमेल गर्ने मेरो पेसाबारे ती भाई परिचित थिए र छन् । तर उनको आँखाले मलाई किन 'भर्खरै कोरियाबाट फर्केको' देख्यो ? आश्चर्यमा परेँ म मैले मन्द मुस्कानका साथ ती भाईलाई सोधेँ,'के भाई, म बुद्धिजीवी जस्तो देखिन्न र ?'
यहाँनेर मैले भन्ने खोजेको के होइन भने कोरिया वा वैदेशिक रोजगारमा जानु कुनै अपराध होइन । आज वैदेशिक रोजगारीबाट नेपालमा रेमिट्यान्स नपठाइँदा हो त, निजामति कर्मचारीहरुलाई समेत तलब भत्ता दिन गाह्राे पर्छ ।
'होइन ! दाई तपाईँ भर्खरै कोरियाबाट फर्के जस्तै देखिनुहुन्छ क्या !!' ती भाइले त उल्टै मलाई पो सम्झाऊँला जस्तै गर्न थाले ।
यसरी मेरो अनुहार हेरेर अनेक अनुमान र पूर्वानुमान लगाउने आँखाहरूबाट यतिखेर स शरीर ओझेलिएको छु म । प्रिय, निरौला भाई, फेरि पनि कुनै दिन नेपालमा भेटौँला, त्यो बेला चाहिँ म कोरियाबाट होइन, युरोपबाट भर्खरै फर्केको हुनेछु । यो चाहिँ कुनै संयोग हुनेछैन । हुनेछ, शतप्रतिशत यथार्थ ।
तत्कालिन आठराई थुम अन्तरगतको हाङपाङको किपट सम्हाल्ने पुर्खाको सन्तान म आज युरोपमा छु । यहाँ रहेर मन्द मुस्कानका साथ सम्झि रहेछु, मेरो अनुहार हेर्ने आँखाहरूलाई ।
तर एउटा सत्य कुरा, मैले युरोप बसेरै लेखेको नेपाली इतिहासका तीन वटा पुस्तक बजारमा आइसकेका छन् । मैले मेरा अनुहार हेरेरै मेरो बारे अवधारणा बनाउनेहरूका लागि जवाफ दिन पनि मेरो जस्तै अनुहार परेका सिमान्तकृतहरुको इतिहास खोज्न र लेख्न यतिखेर प्रतिवद्ध हुन पुगेको छु । यहाँनेर सन्त कविरले भनेको याद आउँछ । उनले भनेका छन् ‘तिमी आफ्नो खुट्टाको धुलोलाई पनि निन्दा नगर, कुनै बेला त्यो तिम्रो आँखामा पर्यो भने त्यो तिम्रो लागि महङ्गो सावित हुनेछ ।’
फेरि पनि मेरो अनुहारलाई हेरेर म बारे धारणा बनाउनेहरूलाई नै यतिखेर सोध्न मन लागिरहेछ, 'मेरो अनुहारमा त्यस्तो के छ हँ !?'