हरिविनोद अधिकारी | साहित्य | जेठ १३, २०८०
शिक्षाका या ज्ञानका स्रोत त विभिन्न होलान्, कतिपय स्रोतहरु भावात्मक हुन्छन् र कतिपय आधारहरु भने मूर्तरूपमा देखिन्छन्। त्यसैले जीवनको पहिलो गुरु चाहिँ आमालाई नै मानिन्छ । सामान्यतया बच्चाहरु आमासँग खुल्छन्, आफ्ना भावना जस्ताको त्यस्तै व्यक्त गर्छन् र आमा नै त्यस्तो व्यक्ति हुनुहुन्छ जसले निःस्वार्थ आफ्ना बच्चा बच्चीको वर्तमानमा रक्षा गर्दै भविष्यको चिन्ता गर्ने काम गर्नुहुन्छ ।
यक्षको प्रश्नमा वनबासी युधिष्ठिरले तुलना गरेका छन् आमालाई पृथ्वीसँग , पितालाई आकाससँग । गुरु भनेको अन्धकारबाट उज्यालोतर्फ लैजाने मूर्त व्यक्ति हो । त्यसो त अमूर्ततामा पनि मानिसले सिक्छ र त्यसबाट आफ्नो जीवनको लागि नयाँ डोरेटो पत्ता लगाउँछ । तर त्यसमा कुनै अन्तरक्रिया हुँदैन, कुनै दोहोरो सिकाइको काम हुँदैन । अमूर्त रुपमा भावनात्मक संवेदनशीलताले कुनै सन्देहको उत्तर पाउने त गरिन्छ तर त्यो उत्तरबाट पनि कुनै क्षणिक समस्या आएमा फेरि समाधानका लागि अर्को कुनै समस्यासँग जुध्नै पर्छ ।
संसारमा भगवान, ईश्वर वा देउता छन् या छैनन् भन्ने बारेमा आदिकालदेखि नै विवाद छ र कसैले पनि मूर्तरूपमा भगवानको अस्तित्व देखाउन सकेको छैन तर अनुभूतिका आधारमा भगवानको लीला या आशीर्वादका रुपमा आफ्ना सफलता या असफलताको विवरण भने मानिसले दिने गरेका पाइन्छन् । वास्तवमा यदि भगवान छन् भने माता , पिता र गुरुको रुपमा यो संसारमा रहेका छन् । माता र पिताको परिभाषा त दिनै परेन । अर्थ पनि चाहिएन तर जीवनको बाटो, गोरेटो, डोरेटो देखाउने, अन्धकारमा उज्यालो देखाएर भविष्यको बाटो कोर्नेलाई नै गुरुको रुपमा मानिएको हुन्छ । हामीसँग पनि विभिन्न समयमा, विभिन्न जीवित देवतासँग साक्षात्कार भयो र तिनै जीवित देवताको रुपमा हाम्रो अतीतमा हामीलाई बाटो देखाउने मानिसहरु नै हाम्रा गुरुहरू हुनुहुन्थ्यो । त्यसैले होला, हाम्रो पूर्वीय सभ्यतामा, पूर्वीय संस्कृतिमा गुरुलाई 'गुरुरेक परब्रह्म तस्मै श्री गुरुवे नमः ' भनेर गुरुलाई नै ब्रह्मा, विष्णु र महेश्वरको अवतारको रुपमा मानिएको हो ।
प्रसङ्ग अझै पनि पहिलेकै दोहोर्याउन मन लाग्यो २०८० साल वैशाख ३० गतेको, जुन दिन हामी २०२६ सालमा कमला हाई स्कुल, ढुंग्रेबास, सिन्धुलीबाट माध्यमिक तहको अन्तिम परीक्षा , एस एल सी,दिने विद्यार्थीहरुले गुरुहरुलाई अभिनन्दन गर्ने काम गरेका थियौँ । २००७साल चैत्रमा खुलेको कमला हाई स्कुलको अवस्था यताबाट उता , उताबाट यता हुँदै गर्दा कहिले पहिलो प्रधानाध्यापक भरतराज घिमिरे मन्थलीयसँग मन्थली पुग्यो त कहिले रामेछाप भँगेको झहरे चौरमा बास बस्न पुग्यो । कहिले खुर्कोटमा बसाइँ सरेका पाइयो त कहिले गढी डाँडामा उकालो चढेर चिसो हावा खाँदै रुमलियो । अन्तमा सिन्धुलीको फोस्रे टार हुँदै ढुंग्रे बासको धान गोदाममा स्थायी बासको लागि आई पुगेको बुझिन्छ ।
हामीले पनि त्यही धान गोदामका काठका झुप्रामा भन्नु पर्यो,धानलाई जोगाउनका लागि भरेङ उक्लेर माथि चढ्नु पर्ने कोठामा , जस्ताको छानो भएको ठाउँमा पढेका थियौँ । घाम लाग्दा अत्यन्त गर्मी, पानी पर्दा जस्तामा पानी बज्रदा केही पनि नसुनिने कोठाहरु नै हाम्रालागि अहिले पनि स्मरणीय विद्यालयको अतीतको सम्झनामा आउने ठाउँका रुपमा मानिन्छ । त्यही धान गोदाम पनि बडो मुस्किलले प्राप्त गरेको अनि त्यसलाई विद्यालयको सम्पत्तिको रुपमा परिणत गर्न तत्कालीन सञ्चालकहरुलाई कति समस्या परेको थियो भन्ने लोककथाझैँ सुनिन्थ्यो ।
अहिले त्यो ठाउँमा पक्का घरहरु छन् र पनि हामी ५४ वर्षपछि पुग्नेहरूका लागि त्यो तीर्थस्थल जस्तै भयो किनभने पुराना संरचना र हाम्रो सम्झनाका झलक केही नभए पनि यही ठाउँमा हाम्रा बालापन बितेको थियो भन्ने सम्झनाले अतीतको झझल्को आई रह्यो । हेडसर जगदीश्वर महतो, नेपाली तथा संस्कृत विषयका लागि मात्र होइन कि हाम्रालागि भनेर, कमला हाई स्कुलको अस्तित्वका लागि भनेर सम्भावित सबै सुविधाहरु त्यागेर उहाँ सिन्धुलीको विद्यालयको एकलब्य भएर बस्नु भएको थियो ।
तत्कालीन स्कुल सेक्रेटरी रहनु भएका कृष्णहरि अधिकारीले हामीलाई अभिनन्दन गर्न जाँदा भन्नुभएको थियो, शास्त्रीजीका ठुलो परिवार पाल्नु पर्ने भए पनि आफ्नो पारिश्रमिकको आधा विद्यालयलाई चन्दामा छोड्नु हुन्थ्यो । त्यो बेलामा शाखा अधिकृतको तलब १५० रुपैयाँ हुन्थ्यो, शास्त्रीजी ७५ रुपैयाँचाहिँ विद्यालयलाई चन्दा भनेर मात्र ७५ रुपैञा लिएर जानु हुन्थ्यो । अर्थात् हाई स्कुलका मेरुदण्ड नै उहाँ हुनु हुँदो रहेछ किनभने प्रधानाध्यापक हुन र माध्यमिक शिक्षक हुन स्नातक हुनै पर्ने तर बाहिरबाट शिक्षक खोजेर नल्याउँदा सम्म कसले विद्यालय चलाउने भन्दा शास्त्री जीले चलाउने किनभने उहाँमात्र स्नातक हुनुहुन्थ्यो । त्यस्ता गुरु पनि अब हुनु हुन्थेन । थियो त उहाँको निर्जीव तर हाम्रालागि मन्दिरमा राखेको देवताको मूर्तिजस्तै सालिक फोस्रेटारमा । मिलन चोकमा ।
३० गते विहान हामी केही साथीहरु गुरुको (उमानाथ शास्त्री सिन्धुलीयको) सालिक भएको ठाउँमा गएर गुरुलाई सादर श्रद्धाञ्जलि दियौँ र उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठान बसेर गुरुलाई श्रद्धा सुमन अर्पण गर्यौँ । र गुरुको सम्मानमा खोलिएको प्रतिष्ठानलाई सक्दो सहयोग गर्ने बचन बद्धता पनि प्रकट गर्यौँ । तत्कालका लागि हामीसँग रहेको मौज्दातबाट रु. दस हजार सहयोग गरेका थियौँ । अबका दिनमा हामी समेत सहभागी भएर गुरुको नाममा खुलेको प्रतिष्ठानको अवस्था सुधार गर्ने प्रयत्न गर्ने बाचा पनि गर्यौँ ।
गुरुको सम्झनामा हामी एकछिन भाव विह्वल पनि भयौँ र यदि शास्त्री गुरुले आफूलाई मैनबत्तीजस्तै गरी नबालेको भए र नपग्लिएर सुख सुविधाका लागि राजधानी पस्नु भएको भए त्यो विद्यालयको अवस्था के हुने थियो भन्ने सामान्य आँकलन मात्र गर्न सकिन्छ किनभने गुरुका चेलाहरूको जमघट रहेको सिन्धुलीमा निःस्वार्थ सेवाको प्रतीक हुनु भएका गुरुको नाममा खुलेको प्रतिष्ठानको जुन हालत छ, पक्कै पनि त्योभन्दा राम्रो भौतिक सुविधा सम्पन्न हुने थियो भन्ने हामीलाई मन मनमा लाग्यो, आफूहरुका बिचमा त खासखुस खुस खुस त गर्यौँ, तर यसपटकको हाम्रो मिसन जीवित गुरुहरूसँगको भेटघाट र बालापनका बारेमा महसुस गर्ने, पुराना अनुभूतिलाई ताजा गराउने थियो, त्यतैतिर लाग्यौँ किनभने साथीहरु सूर्यदेव साह सर र लक्ष्मीप्रसाद सुमन सरलाई लिन जनकपुर जानु भएको थियो, शंकर सर सिन्धुलीमा नै हुनु भएकाले समयमा आउने वचन दिनु भएको थियो, चन्द्रप्रसाद गजुरेल सर हाम्रो अनुरोधका लागि आउँदा खयरमारा तिर पनि जानु भएर आउँदै हुनुहुन्थ्यो । राजेश्वर रजक सर धेरै वृद्ध र अलि अस्वस्थ पनि हुनु भएकाले उहाँकै घरमा गएर अभिनन्दन गरियो ।
काठमाडौँमा नै निधो भएको थियो २०८०सालको वैशाखको ३० गते हामी आफ्ना जीवित गुरुहरुलाई सकेसम्म कमला हाई स्कुलको प्राङ्गण या छेउछाउमा, नभए उहाँहरुको निवासमा गएर भए पनि सम्मान गर्ने । सायद समय र उमेरका हिसाबले हामी नै जीवनको उत्तरार्द्धमा पुगेका थियौँ धेरै ढिलो भई सकेको जस्तो पनि लाग्यो किनभने हामीले आफूहरुलाई समाजमा जति स्थापना गर्न सक्यौँ, सक्यौँ, अब समय घर्केको जस्तो लाग्दा लाग्दै पनि गुरुहरूको सम्मान गर्न ढिलो भएकै हो ।
२०३१सालको समूहले गुरुहरुलाई सम्मान गरेको कुरा सामाजिक सञ्जालबाट प्रसारित भएपछि चाहिँ हामीलाई बृद्ध बालकहरुलाई पनि हुटहुटी चलेकै हो जसको लागि समन्वयको काम गर्ने काम नवराज बरालले गरेका हुन् , पुष्पराज श्रेष्ठले गरेका हुन् । सिन्धुलीको व्यवस्थापनका लागि साथीहरूमध्ये शम्भु गजुरेल, पुष्पराज श्रेष्ठको सहयोग कसरी बिर्सनु र ? भन्नै पर्छ यो कुरा त कि हामीले प्रत्येक साथीबाट स्वैच्छिक रुपमा दिने गरी दस हजार रुपयाँ उठाएका हौँ । कति पुग्यो या पुगेन, पुष्पजीले भन्नु हुनेछ । सायद खर्च राम्रै भएको छ, त्यसले गर्दा नपुग हुँदा पनि हामीले अरु बेहोर्ने पनि कुरा त छ । तर आगामी दिनमा सिन्धुलीका विभिन्न भागमा शिक्षाका लागि आवश्यक सामग्री जुटाउनु पर्ने आवश्यकता हामीले देखेका छौँ । तर अझै धित मर्ने गरी आपसमा बालापनको अनुभव साटासाट गर्न पाएका छैनौँ, त्योचाहिँ मान्नै पर्छ ।
अब जे गर्ने हो ? ठोस रुपमा सिन्धुलीमा सुनिने गरी , देखिने गरी र बुझिने गरी केही गर्ने अठोटका साथ हामी फर्केका छौँ । ७० बर्से युवा जोस छँदैछ भन्ने पो लाग्यो त बालापनका साथीहरु र समयको साक्षी विद्यालयमा पुगेपछि । क्रमशः