आशिष पौडेल | अन्तर्मन्थन | जेठ १४, २०८०
डा. हरिहर प्रदीप घिमिरेको पुस्ता मुखिया जिम्वालको पुस्ता हो । जिजु बाजेको पालादेखि नै उहाँहरुले जिम्वालको काम गर्नुभएको हो । उहाँ यही जिम्वालको खलकको काँइलो बाजेको पनाति । उहाँहरुका ठाउँ ढिकुरा अनि ढिकुरे मुखिया वा ढिकुरे घिमिरे भनेर पनि उहाँहरु परिचित हुनुहुन्छ ।
उहाँको बुवा खेतीपाती तथा पशुपालन गर्नुहुन्थ्यो । झण्डै ५०/६० वटा गाई अनि ८०/९० वटा बाख्रा पालन थियो । गोठ भरी लैनू, बर्केना भैंसीहरु पनि थिए । एक माना खानलाई दुःख थिएन । नगद त त्यो बेला अभाव नै थियो । दूध, घ्यु तथा मोहीको दुःख हुने कुरो भएन । नगदका हिसाबले सम्पन्न भन्न नमिले पनि आर्थिक अवस्था ठीकै थियो उहाँको बुवाको ।
उहाँको जन्म अर्घाखाँचीको काफल बुटामा २००९ सालमा भएको हो । घरमा अब यतिका धेरै गाईबस्तु भएपछि उहाँले पनि यिनको रेखदेख, घाँस पानी र गोठालो त गर्नुभयो नै । उहाँ काफलबुटामा करिब ९ वर्ष बस्नुभयो । २०१८ सालमा उहाँको बुवाको छुट्टा भिन्न भयो । त्यसपछि उहाँहरु पखेरे भन्ने ठाउँमा आएर बस्नुभयो । उहाँका ५/७ भाइ बितेर उहाँ जन्मेर बाँचेको हुनाले नानी बाबुको रुपमा वा रातिगेडीको रुपमा नै रहनुभयो ।
त्यसपछि झण्डै १८/१८ महिनाको अन्तरमा उहाँका चार भाइ जन्मे । बहिनीको पनि जन्म भएको थियो । तर, उनको भने देहावसान भयो । उहाँको बाल्यकाल अरु केटाकेटीको जस्तो त्यस्तो धेरै खेलकुद गरेर बितेन । कारण भाइबहिनी पनि हेर्नुपर्ने अनि गाईवस्तुको पनि हेरविचार गर्नुपर्ने हुनाले उछलकुद गर्ने अवसर मिलेन ।
७ र ८ यी दुई वर्ष भने उहाँको मामाघरमा बित्यो । उहाँको मावली धर्मपानीको आचार्यहरु कहाँ ककनन त्यहाँ पढ्न सुरु गर्नुभयो । यो दुई वर्षमा उहाँ चण्डी खरर पाठ गर्नसक्ने हुनुभयो । हजुरबुवा अनि मामा बाजेहरु पुरेत तथा पण्डित भएका कारण निगालोको कलम अनि सिमीको पात निचोरेर बनाएको मसीले लेख्ने काम पनि गर्नुभयो । धुलौटे पाटीमा लेख्ने, खरीले लेख्ने पनि प्रचलन थियो ।
२०१८ सालमा बुवा पनि छुट्टी भिन्न हुनुभयो र आमालाई पनि भाइबहिनी हेर्न गाह्रो भयो भनेर हजुरआमाले अब घरै गएर आमालाई अलिअलि सघाउँदै पनि धेरै हुन्छ भनेपछि उहाँ मामाघरबाट घरमा आउनुभयो ।
त्यसबेला मामाघर रहेको ठाउँ अर्घा धरम पानीमा पनि स्कूल थिएन । देवाली गुरु र उहाँकै मामाहरूले अमर कोष, ठूलो वर्णमाला पढाउन सुरु गर्नुभएको थियो ।
त्यसै समयमा समीको रुख मुनि चउरमा उहाँ करिब एकहप्ता पाटी बोकेर पढ्न भनेर जानुभएको थियो । त्यसबेलासम्म उहाँको घर रहेको ओखरेमा पनि स्कूल तथा यस सम्बन्धी कुनै अवधारणा थिएन ।
०००
२०२० सालमा उहाँको आमाको देहावसान भयो । अब भाइ बैना हेर्न अनि घर व्यवहार चलाउन समस्या भयो । यसको विकल्प भनेको उहाँको विवाह देखियो । बरु यसको साटो उहाँले नै बुवालाई बिहे गर्ने प्रस्ताव गर्नुभयो । त्यसपछि उहाँ पढ्नका लागि भनेर २०२१ सालमा तीन सय रुपैयाँ सरसापट गरेर भारतको मथुरा वृन्दावनमा जानुभयो ।
विद्यावारिधिको थेसिस त तयार गर्नुभयो । तर, सबै आफ्नै किसिमले । यसका ढाँचाका बारेमा उहाँका आफ्नै मौलिक शैली थियो । २०७१ सालमा उहाँको विद्यावारिधि सकियो । भलै गाउन लाएर फोटो खिच्ने उहाँको इच्छा भने बाँकी नै छ । पहिले उहाँको विद्यावारिधिको शीर्षक पुराणमा जैविक विविधता भन्ने थियो । तर, पछि यो शीर्षक भन्दा पनि पुराणमा जैविक चिन्तन भन्ने रह्यो ।
ममाघर पट्टि पनि पण्डितको नाती अनि घरपट्टि पनि मुखियाको सन्तान भएका कारण सबैले आदर सम्मान गर्ने भएकोले पनि अब पढ्नुपर्छ भन्ने उहाँको मनमा थियो । गाउँमा पनि अरु पण्डित्याँइ र पुरोहितको काम गर्ने नभएकोले पनि अरु हरुको इच्छा पनि पढेर कर्मकाण्ड पनि गरोस् भन्ने थियो यसकारण पनि उहाँको पढाइको वातावरण बनेको थियो ।
ढिकुराको बुवाको मामाका छोराहरु मथुरामा पढ्न गएको कारणले पनि उहाँले बुवालाई उहाँलाई त्यहाँ पढ्न पठाउन अनुरोध गर्नुभएको थियो ।
मथुरामा उहाँको मावली दाई गिरिराज पोखरेल र गाउँको दाइ ऋषिराम घिमिरे उहाँहरु त्यहाँको एउटा आश्रममा बस्नु भएको थियो । पछि त्यो भागवत महाविद्यालयमा परिणत भयो । त्यसमा केही विद्यार्थीलाई आवासको व्यवस्था गरेकोमा उहाँको दाइहरू पनि त्यो सुविधा उपयोग गर्नेमा हुनु हुँदो रहेछ । उहाँ पनि लुके रै भए पनि त्यसमा मिसिनुभयो ।
त्यहाँ एकजना सेठले एक महिनाका लागि एक मन चना वितरण गर्ने व्यवस्था गरेका रहेछन् । त्यही एक मन चना बाँडेर अनि लुकेर उहाँ दुई/चार महिना दाजुहरूसँगै बस्नुभयो ।
त्यहाँ केही नेपालीहरु त्यसरी आवासीय सुविधा लिएर बसेका थिए । पछि केही नेपालीहरु वैष्णव बनेर आश्रमहरूमा गए र आफ्नो पढाइलाई अगाडि बढाए । उहाँको पढ्नुछ भन्ने संकल्प छँदै थियो । त्यहाँ बस्दा पनि अलि अलि कौमुदी पढ्नुभयो ।
उहाँ भने संयोगले नजिकै रहेको आवाससहितको संस्कृत महाविद्यालयमा पढ्ने अवसर पाउनुभयो । उहाँ प्रथमा अर्थात् आठ कक्षामा प्रथम श्रेणीमा उत्तिर्ण हुनुभयो । त्यसवापत उहाँलाई उत्तर प्रदेश सरकारबाट धन्यवादसहित छात्रवृत्ति पनि प्राप्त भएको थियो । तर, उहाँका नाममा आएको छात्रवृत्ति त्यहीँको अर्को भारतीय विद्यार्थीले लिए भन्ने पनि उहाँले थाहा पाउनु भयो ।
त्यसपछि उहाँले त्यो विद्यालय छोडेर गोकुलमा रहेको ब्रम्हाण्ड घाट विद्यालयबाट उत्तर मध्यमा द्वितीय श्रेणीमा उत्तिर्ण हुनुभयो । र, फेरि वृन्दावनबाट साहित्य विषयमा शास्त्री द्वितीय श्रेणीमा पास गर्नुभयो ।
आचार्य भने उहाँले पहिले मथुरामा बसेको आश्रम जुन पछि महाविद्यालयमा परिणत भयो त्यहाँबाट गर्नुभएको हो ।
आचार्य द्वितीय भने उहाँ अनुत्तीर्ण हुनुभयो । आचार्य द्वितीय पढ्दा भने घर तिरका कामले उहाँ छ/आठ महिना ढिलो हुनुभयो । यसले गर्दा पढाइमा बाधा भयो । साहित्यको रस गंगाधर भन्ने विषयमा उहाँ अनुत्तीर्ण हुनुभयो ।
विविध कारणले अध्ययनमा कमी भएर कहिल्यै अनुत्तीर्ण भएको अनुभव नभएका कारण उहाँलाई त्यहाँ बस्न पनि मन लागेन र २०३३ सालमा उहाँ काठमाण्डौ फर्कनुभयो
०००
उहाँको बुवा २०१८ सालमा छुट्टा भिन्न हुँदा आफ्नो बुवासँग मुख नफोर्ने, मुख नजुधाउने भनेर कुनै अंश नलिइ तीन हजार रुपैयाँ सापटी लिएर जग्गा किनेर सर्नुभएको थियो । नचुक्ने अनि नझुक्ने र अत्यन्त स्वाभिमानी स्वभाव थियो उहाँको बुवाको । बुवाले दुःखले परिवार चलाउनु भएको थियो । २१/२२ सालमा खडेरी पर्यो । भएका भैंसी पनि मरे । बुवा २०७० सालमा बितेपछि बुवाले जोड्नु भएका र कायम गर्नुभएका सबै सञ्जाल उहाँहरुले सम्हाल्न सक्नु भएन र पछि सप्ताह लगाएर सबै गाईहरु पनि दान दिएर अहिले भने यी सबै कुराहरूबाट उहाँहरु टाढिनु भएको छ ।
उहाँ बनारसबाट २०३३ सालमा काठमाडौँ आउँदा पनि आर्थिक अवस्था भने दयनीय नै थियो । केही समय यतै चिनेकाहरूको कोठामा बसेपछि उहाँ घरमा जानुभयो । र, केही समय घर बसेर फर्केपछि २०३४ सालमा काठमाडौँमा गृहमन्त्रालयले जन्म, मृत्यु दर्ता प्रणाली भन्ने खरिदारको जागिर खोल्यो । करिब २५/३० जनाले भरेका थिए ।
अन्तरवार्तामा उपसचिव शहाबुद्दीनले तपाईँ पण्डित जी हुनु हुँदोरहेछ तपाईँलाई के सोध्ने, मैले सोधेको तपाईँ जान्नुहुन्न, बनारसबाट आउनु भएको रहेछ भनेर भन्नुभयो । उहाँले आफूले जानेका केही कुराहरु गर्नुभयो । उपसचिवले तपाईँ त राजेश्वर देवकोटा जस्तै देखिनु हुँदोरहेछ नि भन्दा उहाँले मुनामदनको देवकोटा सम्झिएर तपाईँहरुले सहयोग गर्नुभयो भने बनौँला नि भनेर भन्नुभयो । उहाँले के सोचेर हो उहाँलाई छनोट गर्नुभयो । र, उहाँ खरिदार हुनुभयो ।
उहाँ जागिरे त हुनुभयो तर, पढ्ने धोको भने बाँकी नै थियो । संस्कृत त छँदैछ पास गर्नलाई सजिलो विषय के हुनसक्छ भनेर उहाँले इतिहास पुराण पढ्न थाल्नुभयो । उहाँले २०३९ सालमा नेपालीमा एमए तथा २०४० सालमा संस्कृतमा आचार्य सकाउनु भयो ।
पढ्ने धोको भएका कारण उहाँले अफिसमा त्यसका लागि समय मिलाइदिन पनि आग्रह गर्नुभयो । त्यसबेला जनगणनाको घरघरमा गएर लगत लिनुपर्ने थियो । एक किसिमले यहाँदेखि यहाँसम्म भनेर ठेक्का जस्तै थियो । अफिसका निरीक्षकहरू आउँदा रिर्पोट देखाउनुपर्ने भन्ने शर्तसहित त्यतिबेला कीर्तिपुरबाट महाराजगन्जसम्म हिँडेरै पनि काम र पढाइलाई निरन्तरता दिनुभयो । लाजिम्पाटदेखि बुढानिलकण्ठ सम्मको क्षेत्रमा उहाँ २०३४ सालमा घरघर पुगेर लगत पनि संकलन गर्नुभएको छ ।
उहाँको त्यसबेलाको तलब झण्डै २ सय ५० रुपैयाँ थियो । यसले उहाँको खर्च राम्रै चलेको थियो भने वाल्मीकि क्याम्पसबाट छात्रवृत्ति वापत पनि १०/१५ रुपैयाँ पनि आउँथ्यो । उहाँलाई घरबेटीले पनि एकदमै स्नेह गर्नुहुन्थ्यो । दिएको भाडा नलिएर उहाँ घर छोडेर हिँड्न खोज्दा आफ्नै कान्छो छोरासँग मित लगाउन लगाएर २०३४ सालदेखि २०३६ साल सम्म भाडा पनि लिनु भएन । यो बीचमा उहाँ एनडीएसका लागि बाहिर पनि जानुभयो ।
२०३६ सालमा उहाँले तथ्याङ्क विभागमा सुब्बाको जागिर खानुभयो । २०३८ सालको जनगणनामा अधिकृतमा नाम निस्किएकामा छोरी जन्मेका कारण अन्तरवार्तामा सहभागी हुनसक्नु भएन । यताको जागिर छुटेपछि उहाँले आनन्दकुटी स्कूलमा संस्कृत शिक्षकको रुपमा पनि एक वर्ष काम गर्नुभयो । पछि राष्ट्रिय बिमा संस्थानमा सातौँ तहको अधिकृतका रुपमा नाम निस्किएपछि उहाँ स्कूलको जागिर छोडेर २०३९ सालमा बिमा संस्थानमा काम गर्न थाल्नुभयो । ३० वर्ष बिमा संस्थानमा काम गरेर निमित्त महानिर्देशकका रुपमा उहाँले अवकाश प्राप्त गर्नुभयो ।
०००
उहाँलाई डाक्टर लेख्ने वा जागिरमा पदोन्नतिको लागि तीन नम्बर बढ्छ भनेर विद्यावारिधि गर्न मन लागेको होइन । केही पढौँ, जानौँ । ज्ञानको दायरा फराकिलो बनाउँ भनेर विद्यावारिधि गर्ने हुटहुटी जागेको थियो । एकदिन शुक्रवारको दिन अफिस छुट्टी भएपछि उहाँ संस्कृत विश्वविद्यालयका गुरुहरूसँग यस विषयमा परामर्श गर्न पुग्नुभयो ।
गुरुले थाङ्का वा आधुनिक बौद्धसम्बन्धी अरु विषयमा पनि विद्यावारिधि गर्न सजिलो हुने अथवा कुनै कविका कृतित्वका बारेमा गर्दा पनि हुन्छ भन्नुभएको थियो । तर, उहाँले कुनै सजिलो विषय अनि दुई/तीन वर्षमा पास गर्नका लागि नभएर अध्ययन गर्ने अनि फरक विषय पनि होस् भन्ने चाहेको बताउनुभयो ।
जैविक विविधता अहिले नयाँ विषय भएको र यसमा गर्न सकिन्छ तर हाम्रो विश्वविद्यालयमा त्यसको छन्द बन्द केही छैन भनेर अर्का गुरुले भन्नुभयो । उहाँले त्यही बेला यो जैविक विविधता भन्ने विषय केही पनि नबुझे पनि यसैमा गर्न पर्यो । शिवको अंश जीव हो । जीवबाट जैविक हुन्छ । त्यसकारण पुराणको विद्यार्थी भएको हुनाले यिनै कुरालाई आधार बनाएर गर्न पर्यो भनेर उहाँले भन्नुभयो । जीवहरूको बारेमा जे जानेको छु त्यही लेख्छु तर गुरुहरुले मद्दत गर्नुपर्छ भनेर भन्नुभयो ।
कर्मचारीले टिप्पणी उठाएर लिएर आउने अनि माथि हाकिम कहाँ पठाउने काम गरेको मान्छेले अरु के जान्नुभन्दा गुरु पनि हाँस्नुभयो । पछि अनुसन्धान समितिमा यसका लागि फर्म बुझाउने काम भयो । समितिमा अठार पुराण छन् यसमध्ये एउटामा गर्दा हुन्छ भन्ने कुरा पनि नचलको होइन । तर, पछि सबै पुराण एउटै हो एउटा पुराण र विषय बस्तु भन्दा पनि समग्रमा गर्दा हुन्छ कि भनेर जगदिश चन्द्र रेग्मी गुरुसँग सल्लाह गर्दा हुन्छ भन्ने कुरा भयो । र, डा. बाबुराम पोखरेल गुरुलाई उहाँले निर्देशकको रुपमा चयन गर्नुभयो भने विज्ञका रुपमा धर्मशास्त्री डा. दुर्गाप्रसाद दवाडी गुरुलाई चयन गर्नुभयो ।
यस विषयमा अरु कोही विज्ञ हुनसक्छ कि भनेर उहाँहरु भारतका हिन्दु विश्वविद्यालयहरू पनि जानुभयो । तर, त्यस्ता विज्ञहरु कोही पनि फेला परेनन् । यसै एक/दुई वर्ष बित्यो र जागिर छोडेपछि मात्र उहाँ यसमा घनिभूत रुपमा लाग्नुभयो ।
उहाँले विद्यावारिधिको थेसिस त तयार गर्नुभयो । तर, सबै आफ्नै किसिमले । यसका ढाँचाका बारेमा उहाँका आफ्नै मौलिक शैली थियो । २०७१ सालमा उहाँको विद्यावारिधि सकियो । भलै गाउन लाएर फोटो खिच्ने उहाँको इच्छा भने बाँकी नै छ । पहिले उहाँको विद्यावारिधिको शीर्षक पुराणमा जैविक विविधता भन्ने थियो । तर, पछि यो शीर्षक भन्दा पनि पुराणमा जैविक चिन्तन भन्ने रह्यो ।
०००
पहिले उहाँले नाममा लेकाली पनि राख्नु भएको थियो । एक त हरिहर प्रदीप घिमिरे भन्ने यसै लामो त्यसमा लेकाली पनि थपिँदा झनै लामो र अव्यवहारिक भयो भनेर त्यसलाई हटाउनु भयो ।
आफ्ना विषम परिस्थितिलाई आंकलन गरेर उहाँले दुर्घटना चक्र भनेर एउटा कृति तयार गर्नुभएको छ भन्दा पनि डायरीमै छ भनौँ । भारतमा मथुरा वृन्दावनमा हिम ज्योति पत्रिकाको सम्पादक पनि हुनुभयो ।
उहाँमा लेखेर प्रकाशन गर्नेभन्दा पनि चुपचाप रुपमा रचना गर्न रुचाउनुहुन्छ । तर, दायित्व वाङ्मय प्रतिष्ठानसँग पनि आबद्ध भएको हुनाले साथीहरुको आग्रहमा उहाँको आस्था र आकांक्षा कविता संग्रह २०६१ सालमा प्रकाशन भएको छ । जसमा दुई सयभन्दा बढी कविता समेटिएका छन् ।