लोपोन्मुख तामे सालक गोरखामा

लोपोन्मुख तामे सालक गोरखामा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०१, २०८०

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–४, फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक आज बिहान फेला परेको छ । स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिनुभयो ।

फेला परेको उक्त सालकलाई डिभिजन वन कार्यालय गोरखाबाट गएको टोलीले तत्काल उद्धार गरेको उहाँले बताउनुभयो ।  'आज बिहान फेला परेको सालक तामे सालक हो, यसलाई पमा समेत भनेर चिन्ने गरिन्छ', उहाँले भन्नुभयो । सालकको आहारा कमिला, धमिरा लगायतका कीरो भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने उहाँको भनाइ छ ।

यसको  अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी  सिकार गर्ने गरेको पाइन्छ । यस प्रकारको प्रजाति समुन्द्र सतहदेखि एक हजारदेखि २२ सय मिटरसम्मको उचाइमा पाइने वन अधिकृत गोेपालीले जानकारी दिनुभयो ।

उद्धार गरिएकोे सालकलाई उसैको प्राकृतिक बासस्थान ठाडेखोलको जङ्गलमा लगेर छाडिएको उहाँले बताउनुभयो । विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने वन अधिकृत गोेपालीले भनाइ छ ।