राजकुमार दिक्पाल | दृष्टिकोण | असार ०२, २०८०
कतिपय कार्यक्रमहरुमा समाचार सङ्कलनका लागि त्यहाँ पुगेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरु पनि आसन ग्रहण गराइने गरेको पाइन्छ, जो आवश्यक होइन । म आफूले कुनै समय पत्रकारितामा सक्रिय रहेको बेला यस्तो अवसर पाएको छु । मेरा निमित्त यस्ता अवसर अपेक्षित थिएनन् । यस्तो अवसर मेरो रुची र सरोकारको विषयभित्र पर्ने पनि होइन । यो त कार्यक्रम आयोजकहरुले सञ्चारमाध्यममा आफ्नो कार्यक्रमको समाचारले स्थान प्राप्त गर्न सकोस् भनेर गरेको खुलेआम चाकरी हो । यसले पत्रकारहरुको आनीबानी बिगार्नमा ठूलै भूमिका खेलेको छ ।
हुँदा हुँदा खासगरी पुस्तक विमोचन समारोहमा पत्रकारहरुलाई पनि अतिथिको लस्करमा उभ्याएर विमोचित पुस्तक दुई हातले सोझ्याइन लगाएर आयोजकहरुले चाकरीको अर्को आयाम प्रस्तुत गर्न थालेका छन् । पत्रकारहरु पनि गजक्क परेर आफ्ना दुई हातले पुस्तक उठाएर क्यामेरातिर सोझ्याइन लोभिने गरेको देखिन्छ । यसले पत्रकारहरुलाई चाकरी गर्ने काममा ठूलै मलजल गरेको छ ।
यसरी आयोजकहरुले पत्रकारहरुको आनीबानीमा बिगार पारि दिएपछि उनीहरुको भाउले आकास नछुने कुरै भएन । त्यसैले पत्रकारहरु पनि विभिन्न नगदसहितको साहित्यिक पुरस्कारमा नलोभिउन् पनि कसरी ? दोसल्ला, खादा र माला त उनीहरुका लागि सामान्य नै भए । गोप्य रुपमा कतै कतै 'बन्द खाम' को पनि ब्यवस्था त छँदैछ ।
कुनै बेला राजधानीको एक राष्ट्रिय दैनिक मेरो पसिना बगाउने ठाउँ थियो । त्यो दैनिकमा रहेर पसिना बगाउँदा साहित्यका नाम भजाएर खाने केही प्रवृत्तिहरूको राम्रैसँग साक्षात्कार गर्ने अवसर पाएको छु । भन्नेहरुले छुच्चो भने पनि यो लेखकलाई फरक पर्दैन, नलेखी भने बस्न सकिएन ।
'खाएर होइन खुवाएर लेख'
धेरैपछि मैले हिन्दी चलचित्र 'पेज थ्री' यूट्यूव मार्फत हेर्ने अवसर पाएँ । चलचित्रको मुख्य चरित्रले मनोरञ्जन पत्रकारिताबाट वाक्क दिक्क भएर खासगरी अपराध अन्वेषण पत्रकारितामा लाग्दा जुन स्कूप मार्न पुग्छिन्, त्यहीँ 'अपराध' मा उनको जागिर खोसिन्छ । जागिर खोसिएर अर्को विकल्प सोचिरहेकी ती मुख्य चरित्रलाई अर्का अपराध अन्वेषण पत्रकारितामै अनुभवले खारिएका चरित्रले साहनुभूति पूर्वक सम्झाउने क्रममा भन्छन्,'पत्रकारितामा इमान्दारिता भएर मात्र पुग्दैन, समझदारिता पनि चाहिन्छ ।'
मैले पनि आफ्नो पत्रकारिताको करिअरलाई मजबुत र प्राज्ञिक बनाउन आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तहको अध्ययन गरेँ । केही वर्ष पत्रकारिता पढाए पनि । तर क्लास रुममा पढे र पढाइएको जुन यथार्थ छ, त्यो न्यूज रुममा नभेट्न पनि सकिँदो रहेछ ।
म कुनै राष्ट्रिय दैनिकको त्यसबेला शिक्षा क्षेत्रलाई आफ्नो मूल विषय बनाएर रिपोर्टिङ गरिरहेको थिएँ । उच्च माध्यमिक विद्यालय परिषद र सीटीईभीटीमा भएका केही अनियमितता र भ्रष्टाचारसम्बन्धी समाचार क्रमबद्ध रुपमा लेख्दै गरेको बेला मार्केटिङमा कार्यरत कर्मचारीहरु आएर भन्थे,'हामीलाई विज्ञापन माग्न जान पनि गाह्रो भयो सर, यी समाचारहरु रोकिदिन पर्यो ।'
यस्तो बेला खोज मूलक समाचार लेखेर आफ्नो करिअरलाई माथि उठाउने मेरो सपनाको आकास कति कालो मैलो भयो होला ? क्लास रुममा घोकाइएका पत्रकारिताका आदर्शहरू न्यूज रुममा धुजा धुजा भएको घटना पत्रकारिता छाडेको झण्डै एक दशक बित्न लाग्दा मन नलागी नलागी सम्झनु परेको छ । कतिपय सन्दर्भमा पत्रकारितामा यस किसिमको 'समझदारिता' कायम गर्दा पसिनासँगै आँसु पनि बगाउनु परेको थियो । अहिले त पत्रकारिता पनि छाडियो, यस्ता आँसुले गह भिजाउन पर्ने बाध्यता पनि छैन । न्यूज रुममा इमान्दारिता वाहेक समझदारिता कायम गर्ने अभ्यासमा पूर्ण सफलता पाउन नसक्दा ढल्कँदो उमेरमा लाहुरको बाटो समातियो । यहीँ बाध्यतामा आज अभ्यस्त भइरहेको छु । भन्न मन लाग्छ, 'म जे छु ठीकै छु बिथोल्न नआऊ !'
एक दिन फेरि म लेखक नरेन्द्रराज प्रसाईं कहाँ समाचार लिन पुगेको थिए । प्रसाईंले उनै 'सुगानाके'को प्रसङ्ग झिकिहाले । उनी भन्दै थिए, 'त्यो त कति सम्मको छ भने नि मानि लिऊँ मेरो औंला काट्यो, तिम्रो पिसाबले यसलाई ठीक हुन्छ, अलिकति तुर्क्याइ देऊ न भन्यो भने पनि त्यो वापत म के पाउँछु भन्ने खालको छ ।'
मेरो पत्रकारिताको सुरुवात एकलब्य अभ्यासबाट भयो । पत्रकारितामा ज्यालादारी गर्न सुरु गरेको एक वर्षपछि मात्रै धरानमा आधारभूत पत्रकारिता तालिम लिने अवसर पाएको थिएँ । त्यस बेलामा प्रमुख प्रशिक्षक रामकृष्ण रेग्मीले समाचार प्राप्तिका लागि सम्वाददाताले अपनाउनुपर्ने अनेकौं काइदाहरू बताउनु भएको थियो । यो प्रसङ्गमा उहाँले हामीलाई भन्नुभएको थियो, 'पत्रकारले कसैको खाएर समाचार लिने होइन, बरु उनीहरुलाई खुवाएर समाचार लिने हो । कसैको खाएर समाचार लेखियो भने त 'ल्यापडग' भइन्छ, बरु आफूले खुवाएर समाचार ल्याइयो भने सही समाचार आउँछ र 'वाचडग' हुन सकिन्छ ।'
रेग्मी सर मेरो एक आदर्श गुरु । उहाँको गुरुकुलको दुई खालको अध्याय मैले भोगेको छु । एउटा पेशागत र अर्को प्राज्ञिक । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तहको अध्ययन मैले रेग्मी सरकै गुरुकुलबाट पुरा गरेको हुँ । आधारभूत पत्रकारिता तालिम लिएको माथि उल्लेख गरिसकें ।
रेग्मी सरबाट मैले समाचार सङ्कलनको काइदाहरू त्यतिबेला सिकेँ, जतिखेर म पत्रकारिता पेशाबाट जीवन निर्वाह गर्ने अठोटका साथ यस क्षेत्रमा होमिइसकेको थिएँ । त्यसैले उहाँबाट सिकेका काइदाहरू अक्षरशः पालना गर्नेतिर ध्यान यसरी मोडियो कि म वीरगञ्जको टाँगा तान्ने घोडाजस्तै बन्न पुगे छु । यसबारे म एक दुई घटना सम्झना गर्न चाहन्छु ।
सायद त्यो दिन प्राज्ञ अमर गिरी निक्कै ठूलो आश्चर्यमा पर्नुभयो ।
उहाँ त्यतिखेर पद्य (कविता) विभागको प्रमुख हुनुहुन्थ्यो । उहाँसँग कुराकानी गरेर एउटा समाचार सामग्री तयार गर्ने उद्देश्यका साथ हामीले भेटघाटको स्थान, समय र मिति तय गर्यौँ । स्थान थियो, पुतलीसडकको सङ्गीतकार बसन्त मुकारुङ र उहाँकी जीवन संगिनी सरोजाले सञ्चालनमा ल्याएको किङ मम । हामीले भेज ममको स्वादसँगै कुराकानी सिद्यायौँ । त्यसपछि खाजाको बिल तिर्न तँछाडमछाड चल्दा मैले प्राज्ञ गिरीलाई उछिने । यसको साक्षी प्राज्ञ शशि लुमुम्बु र सङ्गीतकार बसन्त मुकारुङ हुनुहुन्छ ।
अर्कोपटक कवि भूपाल राई (हाल नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति) लाई कुराकानीका क्रममा मैले मेरो तत्कालिन अखबारको कार्यालय भएकै तीनकुने गैरीगाउँमा बोलाएको थिएँ । त्यसबेला गायक तथा सङ्गीतकार राजन राईले त्यता एउटा नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याउनु भएको थियो । हामीले खाजामा चिकेन ममको स्वादसँगै कुराकानी सिद्यायौँ । यहाँ पनि खाजाको बिल तिर्ने तँछाडमछाड मा मैले भूपाल राईलाई उछिनेँ ।
यी त प्रतिनिधि घटना मात्र हुन् । यस्ता अवसरहरु मैले धेरैपटक प्राप्त गरेको छु । यस्तो अवसर प्राप्तीको काइदा सिकाउने मेरा गुरु रामकृष्ण रेग्मीलाई म बारम्बार यसअर्थमा शिरोपर राखेर सम्झना गर्न चाहन्छु, किनकि मलाई आजसम्म कसैले पनि 'ल्यापडग' बनाउने आँट गर्न सकेनन् । यहीँ उपक्रममा मैले अनावश्यक लाग्ने दिवा तथा रात्री भोजसहितका कार्यक्रमहरुमा पाइला हाल्न सकेसम्म कञ्जुस्याइँ गरेँ । थाहा छैन, यो मेरो मुर्खता थियो कि हठ ? तर आज सम्झेर ल्याउँदा मैले त्यस्तो ठूलो गल्ती गरेँ भन्ने लाग्दैन ।
जस्तो आफू त्यस्तै च्यापु
पत्रकारिताको यात्राका क्रममा आफ्नो लेखनी क्रममा म सकेसम्म सबैलाई समेट्न चाहन्थेँ, खासगरी फिचर विभागमा काम गरिरहेको बेला ।
सञ्चारमाध्यममा समावेशीकरणको मुद्दामा म संवेदनशील थिएँ । नेपाल पत्रकार महासंघको महाधिवेशनमा समावेशी निर्वाचन प्रणाली लागू गरिँदा आदिवासी जनजातिका लागि सुरक्षित गरिएको केन्द्रीय सदस्य पदमा पहिलोपटक निर्वाचित हुने सञ्चारकर्मी पनि थिएँ, त्यहीँ बेला ।
त्यो बेला म फिचर सेक्सनमा काम गर्थेँ । शनिबार मेरा हाकिमको साप्ताहिक विदा थियो । उनको अनुपस्थितिमा निमित्त नायकको जिम्मेवारी आउँथ्यो मेरो काँधमा ।
अखबारको अन्तिम पृष्ठ बनाउनुपर्ने । मनोरञ्जन पृष्ठ थियो त्यो । संयोग पनि कस्तो भने एउटै विज्ञापन थिएन । पुरै पृष्ठ समाचार सामग्रीले भर्नुपर्ने । फेरि म एक्लै छु । भएभरको सामग्री थुपार्दा पनि अपुग भएपछि केही दिनअघि मैले कुराकानी गरेको एक जना कलाकार राजु आङ्दम्वेको बारेमा दुई सय जति शब्दहरु टाइप गरेर फेसबुकबाट फोटो खोजी त्यो दिनको गर्जो टारेँ । निक्कै मेहनत गरेर लेआउट डिजाइनर देवेन्द्र महतले चिटिक्क परेको पृष्ठ सजावट गरिदिए । सम्पादक ज्यूलाई अन्तिम पटक पृष्ठ दर्शन गराएर उनको निर्देशनअनुसार फाइनल रुप तयार पारी कार्यालयबाट निस्केँ ।
सोचेको थिएँ, पक्कै स्यावासी पाउनेछु । तर परिणाम उल्टो भयो । 'लोकलयमा लहरिँदै' शीर्षक राखेको थिएँ । एक जना ठेट लिम्बू केटोको जातीय गाउँले पहिरनमा सजिएको कलाकार राजु आङ्दम्वेको फोटोसहितको समाचारमा ती हाकिमको पहिलो आँखा परेछ । त्यसैलाई लिएर मलाई नराम्ररी खप्की पो दिए ।
मैले मेरो सम्पूर्ण बाध्यता बताएर पृष्ठ भर्ने सामग्री अरु केही नभएपछि त्यो फिलरका रुपमा राखिएको बताएँ । हाकिम ममाथि ब्यङ्ग्य बाणहरू प्रहार गर्दै निक्कै बेर गन गनाइरहे, 'वाह, लोकलयमा लहरिँदै ?'
बुढापाकाहरु भन्छन्, जस्तो आफू त्यस्तै च्यापु !
ती हाकिम कस्ता हुन्, तिनलाई सम्बन्धित क्षेत्रका बजारले राम्रैसँग चिन्थे । चलचित्रको क्षेत्रमा लेखेर कुनलाई प्रवद्र्धन गर्ने कुनलाई फ्लप खुवाउने जस्ता खेलका कुशल खेलाडी थिए, मेरा ती महान हाकिम । उनको 'महानता'मा चलचित्रका कलाकारहरूमाथिको उनको दृष्टिकोण पनि झल्कन्थ्यो । कसैलाई खसालेर लेख्थे, कसलाई उकासेर ।
अझ बजारमा त मेरो बारेमा अर्कै हल्ला सिर्जना गरिसकिएको रहेछ । ममाथि पुरै जाति वादी र साम्प्रदायिक रङ लगाइ सकिएको रहेछ ।
एक दिन समाचार सङ्कलनकै शिलशिलामा लेखक नरेन्द्रराज प्रसाईं कहाँ पुग्दा यसबारेमा थप स्पष्ट हुने अवसर प्राप्त भयो । उनले कहिलेकाहिँ म सम्बद्ध अन्य सञ्चारकर्मीलाई मेरो बारेमा सोध्दा रहेछन् । र जवाफमा उनीहरु प्रसाईलाई भन्दा रहेछन्,'त्यसको बारेमा तपाईं किन सोधीखोजी गर्नु हुन्छ, त्यसले त राई लिम्बूबाहेक अर्को मानिसको बारेमा लेख्न जान्दैन त !'
प्रसाईलाई मैले पनि सहज भएर जवाफ दिएँ,'म सकेसम्म सबैलाई उत्तिकै प्राथमिकतामा राखेर लेख्न चाहन्छु । फरक यति मात्र हो कि म राई लिम्बू प्रतिभाका बारेमा पनि लेख्ने गर्छु, किनकि उनीहरुका बारेमा अरुले सकभर कलम चलाउन चाहँदैनन् ।'
यस्तै रङहरूले मलाई रङ्गीन बनाइएपछि म सप्तरंगी इन्द्रधनुषी नेपाली अनुहारको खोजीमा प्रतिवद्ध हुन थालेँ।अनि खोज्न थालेँ, आदिवासीलगायत नेपालका सिमान्तकृत हरुमाथि भएको अन्याय र अत्याचार तथा उनीहरुले गरेको विद्रोहको इतिहास । परिणामस्वरुप २०७६ सालमा 'आदिवासी विद्रोहको इतिहास' प्रकाशित गरेँ । तीन वर्षपछि यसको दोस्रो संस्करण पनि बजारमा आइसकेको छ । म अरु पनि सोधखोजमा निरन्तर लाग्न चाहन्छु ।
काले काले मिलेर खाऊँ भाले
म कार्यरत त्यस दैनिक अखबारको परिशिष्टाङ्कमा एक दिन रेडियो नेपालमा कार्यरत एक जना बरिष्ठको गीतको रचना गर्भ छापियो । ती बरिष्ठ राम्रा प्रतिभा भएकोमा कुनै शङ्का छैन । उनी मेरो लामो समयदेखिका एक मित्र पनि हुन् । उमेरले म भन्दा दुई चार वटा धेरै भोटो फटाए पनि मैले उनलाई एक मित्रको रुपमा लिने गरेको छु ।
उनले लेखेको एउटा गीतको रचना गर्भ चाख माने रै पढेँ । सबैभन्दा तल त्यस सामग्री तयार गर्नेको बाइलाइन रहेछ । बाइलाइन हेरेपछि अब पक्का भयो, अबको दुई चार दिनपछि रेडियो नेपालका ती बरिष्ठले उनको अन्तरवार्ता पनि रेडियो नेपालमा घन्काउनेछन् ।
हुन पनि त्यसै भयो, रेडियो नेपालका बरिष्ठले पनि गुन तिरिहाले, अन्तरवार्ता लिएको फोटो फेसबुकको भित्तामा टाँसेपछि मेरो पूर्वानुमान खेर गएन । अन्तरवार्तामा ती पात्रलाई जल्दा बल्दा साहित्यकारको रुपमा प्रस्तुत गरिएको रहेछ ।
म जसको बारेमा चर्चा गर्दैछु, ती ब्यक्ति फिचर सेक्सनका पनि थिएनन्, तर त्यतातिर शब्दहरुको थुप्रो सुम्पेर खेलो फड्को गर्न भने माहिर । यता विभागीय प्रमुखलाई भने आनन्द, शब्दको थुप्रो बुझ्यो, पृष्ठ भर्यो, जागिर पकायो । शब्द सङ्ख्याको गणित हरेर मख्ख, गुणको गणितप्रति पूर्ण बेवास्ता ।
केही साथीहरुले ती ब्यक्तिको अनुहारको नाक नक्सा हेरेर बहुव्रीहि समासको प्रयोग गर्दै 'सुगानाके' नाम राखिदिएका थिए । कुरा काट्नका लागि न्वारान पनि कति मज्जाले गरिदिएका भने उनको नाम पनि सुगाले रट्ने गरेको केही प्रचलित शब्दसँग सम्बन्धित छ ।
'सुगानाके' बडो चल्ता पूर्जा, 'एक हातसे देना दुसरा हातसे लेना' सिद्धान्तमा । अखबारको पृष्ठ उसैको खेल मैदानजस्तो ।
एक दिन विद्वत् ब्यक्तित्व वैरागी काइँला कहाँ पुगेछन् । त्यहाँ पुगेर मोती पुरस्कारका लागि बिन्ती बिसाएछन् । ४० वर्ष काट्ने वर्ष रहेछ, उनको त्यो वर्ष । त्यसैले हतारिएर मोती पुरस्कारको लागि हात पसारेछन् । कता कताबाट सुईको पाएका रहेछन्, वैरागी काइँला पुरस्कार सिफारिस समितिमा रहेको कुरा ।
उनलाई मोती पुरस्कार त दिने, तर के योगदान गरेवापत ? दुई चार वटा रुन्चे गजल छापे वापत ? न त्यस्तो गतिलो कुनै कृति नै छापिएको छ । फेरि अखबारको पृष्ठलाई खेल मैदान बनाएर चाकरी गरेको भरमा मोती पुरस्कार दिलाउने मानिस हुन् र वैरागी काइँला ? त्यस साल रत्नमणि नेपाल र शशि थापा पण्डितलाई युवा वर्ष मोती पुरस्कार प्रदान गरिएको थियो ।
अनुहार हेर्न लायकको थियो उनको । किनकि अर्को वर्ष उनी ४१ वर्ष लाग्ने वाला थिए, मोती पुरस्कार जीवनभरको लागि चिप्लिएको थियो ।
यस्तै चाकरी गर्नका लागि प्रज्ञा प्रतिष्ठान धाइरहने त उनको नियमितता नै थियो । यता उता शब्दहरु थुपार्ने र गन्थनको धागोले ती शब्दहरूलाई उनेर चढाउने । त्यहीँ माला पहिराएको भरमा फेरि झोली थाप्ने गजबको काइदा थियो उनको । मैले त्यो अखबार छाडेको पनि धेरै वर्ष भइसक्यो, अहिले उनको शैली कस्तो छ, यसबारे भने म बेखबर छु । तर म उनीप्रतिको धारणामा किन ढुक्क छु भने उनले नानीदेखि लागेको मागि हिड्ने बानी छुटाउन सकेका छैनन् ।
एक दिन प्रज्ञा प्रतिष्ठान पुगेछन्, र तत्कालिन पद्य विभाग प्रमुख प्राज्ञ अमर गिरीसँग चिल्ला शब्दहरु चिल्लाउँदै गफिएछन् । र, छुट्ने बेलामा केही सम्झिए जस्तै गरी गिरीसँग भनेछन्,' ए साच्चै, मैले पनि आफ्नो कविता छाडेको छु है ।'
त्यो उनको राष्ट्रिय कविता महोत्सवमा आफूलाई पुरस्कृत गरियोस् भन्ने मौखिक दरखास्त भएको गिरीले स्पष्टै बुझिहाले । महोत्सवमा विजयी हुनका लागि त गतिलो कविता पो चाहियो त । तिनको चाकरीले त्यो सालको कविता महोत्सवमा हावा खायो ।
प्राज्ञ गिरीसँग मैले पनि केही पटक अखबारका लागि कुराकानी गरेको छु । एक दिन उनले मलाई मेरो रुचीको विषयमा सोधे । मैले आफ्नो रुची पत्रकारिताभन्दा पनि शोध मूलक कामतिर रहेको बताएँ । उनले त्यसबेला मलाई एउटा प्रस्ताव गरे,'त्यसो भए कविता र सञ्चारमाध्यमको सम्बन्ध विषयमा एउटा शोध गर्नुस् न प्रज्ञा प्रतिष्ठानबाट ।' मैले तत्काल सोचौँला मात्र भने, फेरि यसबारे दोहोर्याएर सोधीखोजी गरिनँ । झोली थाप्ने कुरै भएन ।
मैले माथि चर्चा गरिरहेको 'सुगानाके' को अर्को चर्चा पनि गरौँ ।
पशुपतिनाथप्रति त्यति ठूलो आस्था हो कि विकास कोषसितको घनिभूत सम्बन्ध ? पशुपतिनाथ भनेपछि त्यहाँको पात पतिङ्गर, ढुङ्गा माटो जेसुकै को फिचर बनाउन पनि तयार । तिनको फिचरमा गहिरो अध्ययन पाइनु त मृगतृष्णा नै हुने । कहिलेकाहिँ त मृगस्थलीको बनको बारेमा लेख्दा पनि 'ऋषिमुनिजस्ता यहाँका रुख पातहरु मासिन लागे' भनेर लेखिदिने । यदि मिल्ने भए उनले आर्यघाटमा जलिरहेको लाशसँग पनि अन्तरवार्ता लिने थिए होलान् र प्रश्न सोध्न मिल्ने भए सोध्ने थिए होलान्,'भगवान पशुपतिनाथको काखमा आएर समाधी लिन पाउँदा तपाईंलाई कस्तो लागिरहेको छ ?'
पशुपतिनाथसँग सम्बद्ध कुनै निकायमा उनले नियमित जागिर पो भ्याइरहेका छन् भन्ने पनि यता उताबाट सुनेँ । तर यो अपुष्ट खबर हो । यसबारेमा मलाई थप कुनै जानकारी त छैन । तर पशुपतिनाथबारे मरिहत्ते गरेको देख्दा यति चाहिँ भन्न सक्छु, 'दालमा कुछ काला है !'
एक दिन 'स्तनलाई नितम्ब लेख्ने' मेरा हाकिमले उनको लेखेको सामग्रीमा अलिक निगरानी राख्न पर्यो भन्ने आदेश दिदै भने,'त्यसले लेखेको फिचरमा अलि निगरानी राख है, त्यो 'भेस्टेड इन्ट्रेस्ट' भएको मान्छे हो ।'
मेरा हाकिमले अर्कालाई त त्यसो भने उनलाई चाहिँ कसले के भन्नुपर्ने । मैले जसको नाममा चर्चा गरिरहेको छु, त्यो त एउटा खुद्रे न हो, बजारमा चर्चा चले अनुसार त मेरा तत्कालिन ती हाकिम त होलसेलै भ्याइदिने खालका हुन् ।
एक दिन फेरि म लेखक नरेन्द्रराज प्रसाईं कहाँ समाचार लिन पुगेको थिए । प्रसाईंले उनै 'सुगानाके'को प्रसङ्ग झिकिहाले । उनी भन्दै थिए, 'त्यो त कति सम्मको छ भने नि मानि लिऊँ मेरो औंला काट्यो, तिम्रो पिसाबले यसलाई ठीक हुन्छ, अलिकति तुर्क्याइ देऊ न भन्यो भने पनि त्यो वापत म के पाउँछु भन्ने खालको छ ।'
'सुगानाके' का बारेमा यो भन्दा अरु बढि म के भनूँ खोई ?