लोकसंवाद संवाददाता | समाचार | असार १४, २०८०
गोरखा ।गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई मासु उत्पादनका आधारमा २५ लाख अनुदान वितरण गरिएको हो ।
चालु आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिका भित्र मासु उत्पादन गर्ने पशु पालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । पशुपालक किसानलाई गाउँपालिकाले राँगाको प्रतिकिलो रु १५ तथा खसी, बोका र थुमाको प्रतिकिलो ३० अनुदान उपलब्ध गराएको छ । चालु आवमा दुई हजार तीन सय ७९ बोका, खसी र थुमाको तौल लिएर अनुदान रकम वितरण गरिएको अध्यक्ष भट्टले बताउनुभयो । यसबाहेक एक सय २१ राँगाको पनि तौल लिएर किसानलाई अनुदान उपलब्ध गराइएको छ ।
गाउँपालिकाले सम्बन्धित वडाका पशुसेवा प्राविधिकको निगरानीमा किसानको घरघरमा पुगेर राँगा तथा खसी, बोका र थुमाको तौल लिइएको थियो । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउन र कृषकलाई मासु उत्पादनमा जोड दिने उद्देश्यले गाउँपालिकाले उत्पादन गरेको आधारमा अनुदान वितरण गरेको अध्यक्ष भट्ट बताउनुहुन्छ ।
'किसानले पालेर बिक्रीका लागि योग्य भएका राँगा, खसी, बोका र थुमाको तौल मापन गरी अनुदान उपलब्ध गराइएको हो' , उहाँले भन्नुभयो, 'पशु पालक किसानलाई उत्पादनतर्फ आकर्षित गर्न तथा पालिका भित्र मासु र मासुजन्य उत्पादन बढाउने योजनाअन्तर्गत कार्यक्रम अघि बढाइएको हो ।' कार्यक्रमबाट गाउँपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउन मद्दत पुग्ने उहाँको विश्वास छ ।