मन्त्री प्रकाश ज्वाला प्राविधिकको टोलीसहित बाढी प्रभावित क्षेत्रमा दुई दिन बस्दै

मन्त्री प्रकाश ज्वाला प्राविधिकको टोलीसहित बाढी प्रभावित क्षेत्रमा दुई दिन बस्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०८०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किनुभएको छ । ३ असारको अविरल बर्षा पछि आएको बाढी र पहिरोले ठुलो भौतिक क्षति बनाएको थियो । 

मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झोलुङ्गे पुल पनि बगाएको थियो । केही स्थानको सडकपनि अबरुद्ध बनेको थियो । 

हेवा खोला पुल बगाएको २ दिनभित्र बेलिब्रिज निर्माणको काम थालिएको थियो । हेवा खोलामा डाइभर्सन बनाएर मेची राजमार्ग सुचारु पनि भएको थियो । तर फेरी बाढी आउँदा डाइभर्सन बगाएको छ । 

हेवा खोलामा बेलिब्रिजको काम तीव्ररुपमा भइरहेको छ । निर्माणधिन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको दुई दिने स्थलगत भ्रमणका लागि पूर्वी नेपाल प्रस्थान गर्नुभएको छ । मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेल लगायत प्राविधिकको टोली पनि भ्रमणमा रहेको छ ।