लोकसंवाद संवाददाता | शिक्षा | असार २३, २०८०
कुरा फेरि शिक्षाकै बाट सुरु गरौँ । बारम्बार शिक्षाका विषयमा बहस चलेकै पाइन्छ तर कसरी शिक्षालाई प्रभावकारी र उत्पादनशील बनाउने भन्ने प्रश्न जहाँका त्यही रहेको पाइन्छ । कहिले उच्च शिक्षाका कारणले शिक्षा अनुत्पादक भयो जस्तो देखिन्छ त कहिले आधारभूत शिक्षाले समाजको र राष्ट्रको आवश्यकता पूरा गर्न नसकेको जस्तो देखिन्छ । आधारभूत शिक्षाले असल नागरिक तयारीको आवश्यकता पूरा गर्नुपर्छ भने उच्च शिक्षाले मुलुकको सबै खालका जनशक्तिको तयारी गर्नुपर्छ ।
उत्पादनशील शिक्षा जनपक्षीय हुनुपर्छ । त्यो शिक्षा जुन शिक्षाले जनपक्षीय आवश्यकता पूरा गर्ने शिक्षाको सु परिणाम एकल प्रयासले मात्र हुने पनि होइन । शिक्षा बहुआयामिक पक्ष हो जसले व्यक्तिको, परिवारको, समाजको, समुदायको, जनताको, राष्ट्रको र अन्तर्राष्ट्रियस्तरको अपेक्षा सिकारु मार्फत् पूरा गराउँदै आवश्यकता पूरा गर्ने लक्ष्य राखेको हुन्छ । राज्यको विकासका धेरै आयामहरू छन् तर ती सबै आयामहरूको एउटै अपेक्षा हुन्छ, त्यसका लागि आवश्यक जनशक्ति कसरी तयारी गर्ने ?त्यसका लागि मुख्य पात्रहरु प्रत्यक्षतः सहजकर्ता र सिकारु अन्तरक्रियात्मक कार्यमा संलग्न हुन्छन् । सिकारु ज्ञान समाजसम्म लैजाने हाम्रो प्रभावकारी माध्यम हो भने सहजकर्ता त्यस्तो व्यक्ति हो जसले आवश्यकताका आधारमा जानकारी सिकारु ले दिन्छ र समाज रुपी सागरमा पौडी खेल्न पठाउँछ ।
हामीसँग आधारभूत शिक्षाका लागि जुन उद्देश्यहरु तय गरिएका छन् , तिनले साँच्चै असल नागरिक बन्न र माध्यमिक तथा उच्च शिक्षाको लागि जगको काम गरेको छ त ? थाहा छैन किनभने शिक्षार्थीहरू पनि विभिन्न स्वरूपका देखिन्छन् । जति उद्देश्य पूरा भएको होला, के कारणले पूरा भएको हो भन्ने बारेमा पनि धेरै प्रश्नहरु उब्जिएका छन् । उद्देश्य निर्माणमा नै हामी कति पोख्त भएका रहेछौँ भन्ने कुरा लक्ष्य प्राप्तिले देखाउने हो । लक्ष्य प्राप्ति भएको कुरा सार्वजनिक जीवनबाट बुझ्न पाइएको छैन किनभने मुलुकमा जेजति सेवाग्राही र सेवाप्रदायक व्यक्तिहरु छन्, ती सबै हाम्रै शिक्षाका उत्पादन हुन् ।
अनि किन भ्रष्टाचार मौलाएको भनिन्छ ? किन अपराधको मात्र झन झन बढेको पाइन्छ ? किन नियम नमान्ने अराजकता बढेको पाइन्छ ? किन प्राविधिक शिक्षा ग्रहण गराइएका हरुको उच्च नैतिकताका बारेमा बढी नै प्रश्न उठाइको छ ? किन समाजसेवी र राजनीतिक पात्रहरूमा व्यापक अन्तर पाइन्छ ? खासगरी प्राविधिक धारबाट दीक्षित हुनेहरु या विशिष्ट प्रविधिका बारेमा जानकारी राख्ने तथा पढ्नेहरूको सेवामा सुविधाले किन बढी भार बोकेको हुन्छ ? कि हामीले लक्ष्य निर्धारणमा नै गल्ती गरेका छौँ या त परिणामका बारेमा आवश्यकताभन्दा बढी नै अपेक्षा गरेका छौँ ।
शिक्षामा लगानी गर्ने भनेको एकीकृत लगानी हो । शिक्षकमा, विद्यालयको भौतिक संरचनामा भन्दा लक्ष्य निर्धारणका लागि लक्ष्य तयार गर्ने बेलामा गरिने अनुसन्धानमा प्रशस्त जानकारी राख्नु आवश्यक छ । पक्कै नै त्यसमा पनि लगानी अवश्यंभावी छ । त्यसैले हो भावी पुस्ताको तयारीको आधार भूति तयार गर्ने ।
एकातिर उच्च शिक्षा खुला छ, विश्वविद्यालयहरुले तयार गरेका जनशक्तिहरूको कहाँ कसरी खपत गर्ने भन्ने राष्ट्रिय नीति छैन, विश्वविद्यालयहरुको धारणा स्पष्ट छैन, अनि कसका लागि जनशक्ति तयारी गरेको ? कसको हितमा विश्वविद्यालयहरुले बालुवामा पानी हाले जस्तै लगानी गरेको ? शिक्षकको तयारीमा लगानी छैन, पुस्तकालय, शैक्षिक सामग्रीमा लगानी छैन र शिक्षकहरुको दरबन्दी समेतको स्पष्ट खाका छैन ।
हाम्रो देशमा आधारभूत शिक्षाको भन्दा बढी बहस हुन्छ माध्यमिक शिक्षाको र उच्च शिक्षाको । माध्यमिक शिक्षामा हामीले दिएका ज्ञानहरू साँच्चै भावी दिनमा समाजका लागि आवश्यक परेका कुराहरुको जानकारी र अभ्यास गराउँछौँ कि तीन घण्टाको परीक्षाका लागि तयारी गछौं ?
एकपटक भगवान बुद्धसँग एकजना आमा गुहार माग्न आइन्, उनको छोरो उखुको रसबाट बनेको सखर गुड मात्र खान मन गर्छ र उसलाई सक्खरबाट हुने रोगहरूले सताएको छ । दाँतमा किरा परेको छ, पाचन प्रणालीमा गडबड छ आदि । आमाले बारम्बार सखर नखानका लागि अनुनय विनय गरेकी हुन् तर बच्चा मान्दै मान्दैन । अनि मात्र बुद्ध समक्ष उनी आएकी थिइन् । बुद्धबाट शिक्षा पाएपछि पक्कै उसमा ज्ञान आउने छ र गुलियो पदार्थको अत्यधिक सेवन गर्नेछैन । भगवान बुद्धले निरीह आमाका कुरा सबै सुन्नुभयो र भन्नुभयो - ठिक छ माता, म उसलाई सम्झाउने छु र सकेसम्म सक्खरको अत्यधिक सेवनबाट उसलाई टाढा राख्ने कोसिस गर्नेछु । एक हप्तापछि फेरी उसलाई लिएर आउनु होला । नभन्दै एक हप्तापछि माताजी आफ्नो छोरालाई लिएर आइन् । भगवान बुद्धले राम्रोसँग अत्यधिक गुलियोबाट हुने खराबीको वयान गर्नुभयो र अबदेखि सक्खर नखानका लागि अनुरोध गर्नुभयो ।
माताजीको छोराले अबदेखि सक्खरको सेवन नगर्ने बाचा गर्यो र लिएर जानका लागि उसकी आमालाई अनुरोध गर्नुभयो र भन्नुभयो- मैले राम्रोसँग सम्झाएको छु, पक्कै पनि अब सक्खरको सेवन गर्नेछैन । अनि ती आमाले भगवान बुद्धसँग विन्ती गरिन् - यही कुरा एकहप्ता पहिले भनिदिनु भएको भए यो हप्ता त सखर खाने थिएन नि । अनि बुद्धले भन्नु भयो - जुनबेला तपाईँले यो तपाइँको छोरो यहाँ ल्याएर सखर नखाने ज्ञान दिने कुरा गर्दै हुनुहुन्थ्यो, त्योे बेलामा म स्वयं सखर अत्यधिक सेवन गर्ने लतमा थिएँ । जब तपाईँको समस्या थाहा पाएँ र मैले यो समस्याको समाधान गर्नुपर्छ भन्ने लाग्यो, अनि मैले सर्वप्रथम सखर छोड्नु पथ्र्यो र मात्रै मैले साधिकार भन्न सक्थेँ, हे बालक अब सखर नखाऊँ, खाएमा यो यो रोगले तिमीलाई सताउने छ ......। त्यसैले मैले सुरुमा आफूलाई उपदेश दिने लायक बनाउनु पथ्र्यो र सखर छोडेर उपदेश दिनसक्ने नैतिकता सञ्चित गरेँ अनि मात्र पात्रलाई ज्ञान दिन योग्य भएँ ।
अनि हामी सहजकर्ता कति जना त्यस लायक छौँ , जुन कुरा हामी सिकाउँछौँ ,त्यसको हामी स्वयंले अभ्यास गरिरहेका छौँ र हामी नै त्यो अभ्यासका परिणाम हौँ । हामीले जे सहजीकरण गछौं, आफ्नो अन्तस्करणबाट प्रस्फुटित भएका ज्ञानहरूमात्र सम्प्रेषित गरिरहेका छौँ । अनि शिक्षा ग्रहणका लागि पनि त्यसप्रकारको तन्मय ता चाहिन्छ जसले गर्दा प्राप्त ज्ञानले प्रभावकारी काम गरोस् ।
मलाई एकजना क्याम्पसमा अध्यापन गर्ने शिक्षक साथीले (सायद उहाँ रिडर हुनुपर्छ सहप्राध्यापक शिक्षा विषयको ) एकछिन समय पाइएला भनेर फोन गर्नुभयो र मैले यदि तपाईँ नजिकै हुनुहुन्छ भने अहिले नै आउनु होला, मलाई केही आपत्ति छैन भनेँ । उहाँ नभन्दै आधा घण्टाभित्रै मेरो निवासमा आउनु भयो र सेमेस्टर प्रणाली र अहिलेका उच्च शिक्षाका बारेमा केही जिज्ञासा राख्नुभयो । सायद उहाँ आफ्नो शोधपत्रको प्राथमिक तथ्याङ्क जम्मा गर्ने प्रक्रियामा हुनु हुँदो रहेछ ।
मैले स्नातक तहका साधारण तथा व्यावसायिक विषयहरूका विषयमा वार्षिक प्रणालीका बारेमा पनि आफ्नो असन्तुष्टि जनाए किनभने वार्षिक प्रणालीको जुन उद्देश्य थियो, त्यो कतै प्रतिविम्ब हुन सकेको छैन । त्यसको कारणहरु अहिले समाजमा, सञ्चार माध्यमहरुमा छताछुल्ल भएको छ र कुलपतिले भन्नु परेको छ कि विश्वविद्यालयमा विषय छनोट गर्दा विद्यार्थीहरुको र समाजको आवश्यकता पूरा गर्ने खालको होस् ।
अनि भर्ना, कक्षाको नियमितता, परीक्षाको अनिवार्यताको कसी र परिणामले देखाएको परिणाम नै । कतै किन सकारात्मकता देखिँदैन ? झन स्नातकोत्तर तहमा गरिएको सेमेस्टर प्रणाली त विना तयारीको बोझको रुपमा पाइएको छ, विद्यार्थीहरुलाई, शिक्षकहरुलाई र शैक्षिक प्रशासकहरूलाई जसको सामाजिक परीक्षणले राम्रो संकेत दिन सकेको छैन । सेमेस्टर प्रणालीले समयबद्धताको आधारमा भर्ना, पठन पाठनको अन्तरक्रियात्मक अनि आन्तरिक तथा वाह्य मूल्याङ्कनमा वस्तुगत आधार । अनि प्रत्येक सेमेस्टरको भर्नामा नै कति दिन कसरी पढाइ हुन्छ, कहिले परीक्षा हुन्छ र कहिले परिणाम निस्कन्छ अनि यो जनशक्तिको उपादेयता मुलुकको कुन विकासमा कसरी लगाइन्छ भन्ने योजना खोइ ?
मेरो कुरा सुनेर ती साथीले भन्नुभयो - तर चलिरहेको छ नि त सर प्रणाली निर्वाधरुपमा ? अनि मैले भनेँ, एउटा किरो बालुवामा हिँड्छ टेढो मेढो बाटो र त्यहाँ क ख जस्तै गरी अक्षर तयार हुन्छ, नेपालको जस्तै नक्सा बन्छ र त्रि-कोण वा चार-कोण बन्छ भने के त्यो किराले जानेर लेख्यो होला कि ? त्यस्तै हो, भर्ना भएको कति समयमा आन्तरिक तथा वाह्य परीक्षा हुने र परिणाम निस्कने हो ? खोइ तयारी ? खोइ सामग्री ? खोइ जनशक्तिको आवश्यकता ? खोइ जनशक्तिको खपत ?
एकातिर उच्च शिक्षा खुला छ, विश्वविद्यालयहरुले तयार गरेका जनशक्तिहरूको कहाँ कसरी खपत गर्ने भन्ने राष्ट्रिय नीति छैन, विश्वविद्यालयहरुको धारणा स्पष्ट छैन, अनि कसका लागि जनशक्ति तयारी गरेको ? कसको हितमा विश्वविद्यालयहरुले बालुवामा पानी हाले जस्तै लगानी गरेको ? शिक्षकको तयारीमा लगानी छैन, पुस्तकालय, शैक्षिक सामग्रीमा लगानी छैन र शिक्षकहरुको दरबन्दी समेतको स्पष्ट खाका छैन । त्यतिमात्र होइन , विश्वविद्यालयमा शिक्षण गर्नेहरुको तत् तत् विषयमा शिक्षण अनुमति पत्र छैन , न त शिक्षण कलाको ज्ञान छ, न त परीक्षाको ज्ञान छ, तर पनि शिक्षक भर्नामा मारामार छ, अझ आवश्यकता अनुसार शिक्षक कतै छैनन् त कतै विद्यार्थीभन्दा शिक्षकहरुका संख्या बढी छ ।
मैले यसो भने पछि मेरा मित्रले चित्त बुझाए कि बुझाएनन् भन्दा पनि मेरा यी कुराहरुलाई आफ्नो शोधमा राख्नु भयो कि राख्नु भएन, थाहा छैन । तर अहिलेको समस्या हो । समस्याको समाधान गर्नका लागि एकल प्रयासले मात्र हुँदैन । सबैमा चेतनाले काम गर्नुपर्छ र विवेकशील भएर भावी पुस्ताको तयारीमा लाग्नु पर्छ भन्ने मेरो मान्यता छ ।
क्रमशः