लोकसंवाद संवाददाता | समाचार | असार २८, २०८०
जब प्रचण्ड कुनै महत्वपूर्ण राजनीतिक निर्णय गर्न वा पार्टीका गम्भीर दस्तावेज लेख्नु पर्यो भने परिवारलाई लिएर रिसोर्ट वा एकान्तमा जाने गर्थे । पछिल्ला केही वर्षदेखि प्रचण्डले पारिवारिक रुपमा त्यो वातावरण पाएका थिएनन् । परिवारभित्र अनेकौं वियोगले नछोड्नु नै मुख्य कुरा थियो ।
२०७० सालमा जेठी छोरी ज्ञानुलाई क्यान्सरका कारण गुमाएका प्रचण्डलाई २०७४ सालमा एकमात्रै छोरा प्रकाश दाहालको पनि हृदयघातबाट मृत्यु भएपछि परिवारमा बज्रपात नै बज्रपात नै परिरहेको छ ।
बहुविवाहसहित केही कमजोरीका बाबजुद प्रचण्डको कुशल व्यवस्थापकको प्रकाशको जिम्मेवारी थियाे । प्रचण्डलाई अहिलेको राजनीतिक उचाईमा ल्याइ पुर्याउन प्रकाशले धेरै मेहनत गरे । सचिवालयलाई सधैं प्रभावकारी बनाए । प्रकाशको निधनपछि प्रचण्डले देश, जनता र पार्टीका नेता कार्यकर्ताको सहयोगबाट आफूहरु सम्हालिएको बताउने गर्थे । तर छोराको निधनपछि सीता दाहाल भने झनै कमजोर र विक्षिप्त बनिन् ।
जेठी छोरी ज्ञानुको निधन पछि नै सीता धेरै तनावमा हुने गर्थिन् भने छोरा प्रकाशको निधनपछि त उनले सार्वजनिक जीवन करिब करिब बाँच्नै सकेन । त्यसमाथि लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित उनलाई बिरामले पनि च्याप्दै लग्यो । पछिल्ला वर्षमा त ओछ्यानमा थला नै परेकी सीता दाहालको ६९ वर्षको उमेरमा २०८० साल बुधबार बिहान ८:३३ बजे निधन भएको नर्भिक अस्पतालले सार्वजनिक गरेको थियो । । उनको निधनसँगै प्रचण्डको परिवारमा अर्को शोक थपिएको छ भने प्रचण्डले एक असल सल्लाहकार सधैंका लागि गुमाएका छन् ।
वि.सं. २०११ साल असार २१ गते कास्की जिल्लाको हेम्जामा जन्मिएकी सीता पौडेल दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । सामान्य परिवारमा जन्मिएर पनि लेखपढमा अघि बढिरहेका पुष्पकमल दाहालसँगको विवाहको केही वर्षपछि उनी पनि राजनीतिमा नजिक भइन् ।
१० वर्षको युद्धका क्रममा र त्यसअघि पनि उनले प्रचण्डलाई सही बाटोमा हिँडाउन प्रयत्न गरिन् । माओवादी पार्टीका नेताहरु नै पार्टीभित्रका समस्या समाधानमा प्रचण्डलाई हरेक कोणबाट सीताले सहयोग गरेको प्रचण्डलाई अहिलेको राजनीतिक उचाईमा ल्याउन पर्दा पछाडिबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरिरहेका छन् ।
माओवादी पार्टीमा २०४५/४६ पछि एकछत्र नेतृत्व गरिरहेका प्रचण्डलाई हरेक मोडमा सीताले साथ दिइन् । तर सन्तान वियोगको दर्दले उनलाई छाडेन । पार्टीका दस्तावेजमा घोत्लिन र राजनीतिक योजना निर्माणमा पत्नीलाई लिएर जाने प्रचण्ड छोराको निधनपछि पत्नीको उपचारमा बढी केन्द्रित हुनु परेको सहज अनुमान गर्न सकिन्छ ।
उनले प्रचण्डको जीवनमा एउटा श्रीमतीको मात्रै नभएर कहिले आमाको त कहिले साथी र सल्लाहकारको भूमिका पनि खेलिन् । प्रचण्ड पूर्णकालीन राजनीतिमा लागेपछि उनी र उनको परिवार पञ्चायती सरकारको आँखाको तारो बन्यो । परिवारले अनेक दुःख पाएपछि त्यसबाट बच्न झनै सीतालाई छुट्याइदिए । त्यसपछि चार छोराछोरीको एक्लै जिम्मा लिएकी उनले कष्टपूर्ण जीवन भोगिन् । उनी आफैंले एक अन्तर्वार्तामा आफूले परम्परागत परिवारमा एक बुहारीले भोग्नुपर्ने जति सबै भोगेको बताएकी छन् । यसैबाट उनको दुःख स्मरण गर्न सकिन्छ । माओवादी युद्ध सुरु गर्नुअघि उनलाई प्रचण्डले छोराछोरीको राम्रो रेखदेख र पालनपोषण गर्न अह्राएका थिए । तर उनी पनि भूमिगत भएर प्रचण्डको साथमै रहिन् । पार्टीभित्र विवाद हुँदा त्यसलाई मिलाउन प्रचण्डलाई सहयोग मात्रै गरिनन्, बेलाबेला दबाब नै दिइन् ।
अध्ययन अध्यापन कमजोर भए पनि उनी तीक्ष्ण क्षमताकी भएको र आफूलाई पटक पटक बचाएको प्रचण्डले नै एक अन्तर्वार्ताका क्रममा भनेका थिए । उनले भारतमा रेल यात्रादेखि नेपालको रोल्पामा समेत कठिन अवस्थामा बच्न सहयोग गरिन् । सीताकै सल्लाहमा बसिरहेको रोल्पाको घर छाडेका कारण प्रचण्ड भीषण बम बारीबाट जोगिएका थिए । पार्टीभित्र संकट आएका बेला पनि उनले सही सल्लाह दिएर सङ्कट मोचकको को भूमिका खेलेकी थिइन् ।
युद्धकै क्रममा बाबुराम भट्टराईसँग तीव्र मतभेद भएर विभाजन नै हुने अवस्थामा सीताले प्रचण्ड र बाबुरामलाई जोड्न सुले सनको काम गरिन् । पार्टीमा भएको विवादबारे जानकारी पाएलगत्तै भारतमा उपचाररत उनी नेपाल फर्किइन् र दुवै जनालाई सम्झाइन् । उनले माओवादीले गर्दा संसार पनि हल्लिए पनि नेताहरु झिनामसिना कुरामा अड्किएको भन्दै प्रचण्ड–बाबुराम दुवैलाई सम्झाइन् । युद्धमा जनताको धेरै रगत बगेका कारण आन्तरिक झगडामा अल्झिएमा जनताले मात्रै नभएर मित्रहरुले समेत नछाड्ने भन्दै सतर्क गराइन् ।
सामान्य गृहिणी हुँदै सक्रिय राजनीतिमा लागेकी उनी पार्टी सदस्य हुँदै केन्द्रीय सदस्य र सल्लाहकार बनिन् । उनले पार्टीभित्र महिलाको सशक्त सहभागिता र योगदानका लागि दबाब दिइनै रहिन । प्रचण्डसँगै पनि महिला समानताका लागि पटक पटक आवाज उठाइन् । कम्युनिस्ट पार्टीमा महिला सहभागिता बढाउन उनले धेरै योगदान गरिन् । अहिले माओवादीमा रहेका र सीतासँग संगत गरेका नेताहरु उनको सरल जीवनबाट प्रभावित छन् ।
माओवादी पार्टीमा २०४५/४६ पछि एकछत्र नेतृत्व गरिरहेका प्रचण्डलाई हरेक मोडमा सीताले साथ दिइन् । तर सन्तान वियोगको दर्दले उनलाई छाडेन । पार्टीका दस्तावेजमा घोत्लिन र राजनीतिक योजना निर्माणमा पत्नीलाई लिएर जाने प्रचण्ड छोराको निधनपछि पत्नीको उपचारमा बढी केन्द्रित हुनु परेको सहज अनुमान गर्न सकिन्छ । उनले स्वदेशदेखि विदेशका सुविधासम्पन्न अस्पताल पुर्याए । धार्मिक स्थानदेखि प्राकृतिक उपचारसम्म गराए ।
सीताको स्वास्थ्यमा केही सुधार आउँछ कि भने विवाहको ५०औं वर्षगाँठ धुमधामले मनाए । नेकपा विभाजनपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सीतालाई भेट्न निवासमै पुगे । त्यसबेला प्रचण्डले सबै आएर भेटिदिँदा सीतामा आत्मबल बढ्ने भन्दै एकपटक नजिक गइदिन आग्रह गर्नुले पत्नीको स्वास्थ्यप्रति प्रचण्डको विवशता बुझ्न सकिन्छ । छोरा प्रकाशको निधन हुँदा प्रचण्ड झापामा केपी ओलीको चुनावी प्रचारमा थिए । पार्टी विभाजनपछि ओलीले प्रकाशको निधनबारे निकै छुद्र बचनले प्रस्तुत गरेर पिडा थप्ने काम गरेका थिए ।
प्रचण्डले एकपटक सार्वजनिक अन्तर्वार्तामै आफ्नो परिवारको अवस्थाबारे बोलेका छन् । राजनीतिका अनेकौं मोडहरु पार गर्न सघाएको प्रचण्ड परिवार पछिल्ला दिनमा छिन्नभिन्न हुँदै गयो । उनले प्रकाश दाहालको पहिलो वार्षिक स्मृतिमा भनेका छन्– यदि तपाईं (जनता, पार्टी र कार्यकर्ता) को साथ नभएको भए मेरो परिवार बिघटन भइसक्ने थियो ।’ जेठी छोरी ज्ञानुको मृत्यु, छोरा प्रकाशका प्रेम, विवाह र मृत्युसम्मका परिघटनाले सीता शिथिल बनिन् । प्रचण्डको असल सल्लाहकार र राजनीतिक ऊर्जा बनेकी उनी केही वर्षदेखि आफैं ऊर्जा बिहीन बनेर ओछ्यानमा ढलेकी थिइन् । अब भने कहिल्यै नफर्किने गरी बिदा भएकी छिन् ।
मध्यम वर्गीय परिवारकी छोरी, माइतीमा भन्दा कमजोर आर्थिक अवस्थाको परिवारमा बुहारी हुँदै दुःख कष्टपूर्ण जीवन भोग्दै देशकै कार्यकारी प्रधानमन्त्री पत्नीका रुपमा पनि उनी देखा परिन् । तर कुनै पनि अवस्थामा उनले आफूलाई विवादमा ल्याइनन् र शान्त भूमिकामा बसिन् । कुनै व्यक्तिको राजनीतिक जीवन सफल बनाउन पत्नीको कति ठूलो हात हुन्छ र शक्तिकेन्द्रमा हुँदा पनि कसरी आफूलाई विवादरहित राख्ने भन्ने कुरा सीता दाहालबाट सिक्न लायक विषय हुन् कि !