सुरेश राई | साहित्य | असार ३१, २०८०
भनिएको छ मलाई
संसारलाई चियाउनु छ भने
तैंले इन्टरनेटको सेवा लिनु
थमाइएको छु विद्युतीय यन्त्र
र साथमा एक थान पासवर्ड
बताउनु छ दुनियाँलाई यदि भने
तँ पनि अस्तित्वमा छस् है भनेर
खोल्नु इमेलको खाता
भर्नु अदृश्य प्रशासनको ढड्डामा
आफ्ना सारा जानकारीहरु
र भरेपछि आफ्ना सारा अमूल्य विवरण
पाएको छु अर्को थान पासवर्ड
देखिनु सामाजिक सन्जालमा
लेख्नु नाच्नु गाउनु पोस्ट गर्नू
बताउनु सबैलाई
म आफू आधुनिक छु भनेर
खोल्नु सञ्जालका खाता
बनाउनु बलियो गरी
गोप्य एक थान पासवर्ड
प्रिय !
त्यसयता मेरो जीवनमा
पासवर्डहरूको लस्कर लागेको छ
बैंकको पासवर्ड
जागिरको पासवर्ड
यता पासवर्ड उता पासवर्ड
म पासवर्डहरूले बनेको आधुनिक मान्छे !
प्रिय !
आजभोलि यी नाथे पासवर्डहरूले
घरीघरी आफैलाई बाँधे झैं लाग्छ
मेरा मगजहरू भरिए झैँ लाग्छ
मेरा स्वतन्त्रताहरु हरे झैँ लाग्छ
खै कसरी कसरी
यी पासवर्डहरूको फन्दामा परेँ झैँ लाग्छ
र ठीक यस्तो बेलामा
खुसी दिन्छ केबल एक पासवर्डले
जो तिम्रो दिलभित्र पस्न
तिमीले नै मलाई सुम्पि दिएकी थियौ
तिमी विश्वास गर प्रिय !
यो जीवनको अन्त्यसम्म
म त्यो पासवर्डको हिफाजत गर्नेछु
र म पनि विश्वास गर्नेछु कि
तिमीले त्यो पासवर्ड
म बाहेक अरु कसैलाई
बाँचुन्जेल दिने छैनौ
प्राण रहुन्जेल बाँड्ने छैनौं
खोटाङ (हाल द .कोरिया )
+821084562981