कांग्रेसमा संसदीय दलको नेता परिवर्तन बाध्यता कि रहर ? गगनले सक्लान् त देउवालाई रोक्न !?

लोकसंवाद टिप्पणी

कांग्रेसमा संसदीय दलको नेता परिवर्तन बाध्यता कि रहर ? गगनले सक्लान् त देउवालाई रोक्न !?

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०१, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै आफूले संसदीय दलको नेता परिवर्तनका लागि मौका कुरिरहेको बताए । पार्टी संसदीय दलको नेता बदलि राख्नु पर्छ भन्ने कुरा आफूले पार्टी सभापति शेरबहादुर देउवाबाटै सिकेको र संसदीय दलको नेतामा एक पटक प्रतिस्पर्धा गरेपछि अर्को पटक प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था संसदीय दलको विधानमा नरहेको प्रतिक्रिया दिए । संसदीय दलको नेताका लागि प्रयास गरिराख्नु अनौठो र अस्वाभाविक कुरा नभएको जिकिर गरे ।

थापाले संसदीय दलको नेता परिवर्तनबारे अभिव्यक्ति दिएको यो पहिलो घटना होइन । बरु उनले निरन्तर संसदीय दलको नेता परिवर्तनको आवाज उठाउन थालेका छन् । यसअघि शनिबार विराटनगर पुगेर महामन्त्री थापाले दलको नेता हटाउने प्रयास निरन्तर बताएका थिए । थापाले संसदीय दलको नेताका लागि कोशिस गर्ने बताए पनि संसदीय दलभित्रको अंकगणित उनको अनुकूल छैन । 

गत असारको अन्तिम साता बुढानिलकण्ठमा आयोजित कार्यक्रममा पनि थापाले संसदीय दलको नेता परिवर्तनका लागि आफू लागिरहेको प्रतिक्रिया दिएका थिए । नेपाली काँग्रेसमा संसदीय दलको नेताका लागि हुने निर्वाचनमा अधिकांश समय संस्थापन पक्ष हाबी हुनेगर्छ । २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन संस्थापन पक्षबाट रामचन्द्र पौडेल संसदीय दलको नेता भए । २०७० को निर्वाचनपछि सुशील कोइराला र उनको निधनपछि शेरबहादुर देउवा संसदीय दलको नेता चुनिँदै आएका छन् । ५ पुस, २०७९ मा सम्पन्न संसदीय दलको चुनावमा पनि सभापति देउवा महामन्त्री गगन थापालाई हराउँदै संसदीय दलको नेता छानिए । त्यसबेला थापाले २५ मत र देउवाले ६४ मत पाएका थिए । 

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्न लागेका बेला निरन्तर थापाले संसदीय दलको नेता परिवर्तनका लागि आवाज उठाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टी सभापतिका रुपमा देउवाको यो अन्तिम कार्यकाल हो । यसपछि देउवाको समर्थन पाउने नेता पार्टीमा हाबी हुने सम्भावना छ । पार्टी सभापतिमा देउवासँग प्रतिस्पर्धा गरेका शेखर कोइराला यतिबेला मौन छन् । उनकै प्यानलबाट महामन्त्री बनेका थापा भने कोइराला समूहको प्रतिनिधिका रुपमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको समेत साथ लिएर संसदीय दलको नेता परिवर्तनको नारामा पार्टीमा तेस्रो धार सञ्चालन गरिरहेका छन् । यो समूहले लामो समयदेखि काँग्रेसभित्र अभियान चलाइरहेको छ । 

यदि देउवाको विकल्पमा बहुमत पुगेका गगन थापा वा अन्य कुनै पनि संस्थापन इतर समूहका नेतालाई संसदीय दलको नेता बनाउन पनि तयार छन् । त्यो भनेको अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि हुनसक्छन् । यदि देउवालाई हटाएर अरु कुनै नेता संसदीय दलको नेता बनेमा काँग्रेसको इतिहासमा पहिलो पटक बिचैमा संसदीय दलको नेता परिवर्तन गरिनेछ ।

वर्तमान सत्ता गठबन्धनका प्रमुख नेताहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल र प्रचण्ड आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताइन्छ । सोही अनुसार अहिले प्रचण्ड प्रधानमन्त्री छन् । अबको सत्ता परिवर्तनको खेलमा काँग्रेसको संसदीय दलको नेता परिवर्तन भएमा त्यसले अर्थ राख्न सक्छ । त्यसैले देउवा निरन्तर दलको नेता फेर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । आइतबार संसदको बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरेपछि कहिल्यै प्रतिस्पर्धा गर्न पाउँदैनस् भनेको छैन । प्रतिस्पर्धा गर्न योग्य ठाने रै प्रतिस्पर्धा गरेको हुँ । यो बीचमा मेरो योग्यता घटेजस्तो मलाई लाग्दैन ।’ 

थापाको यो अभिव्यक्तिमा संसदीय दलको नेता परिवर्तन नभएर भावी प्रधानमन्त्रीको दौड निहित रहेको छ । यसको अर्थ थापा देउवालाई अब प्रधानमन्त्री बन्न नदिने दौडमा लागेका छन् । देउवा वर्तमान सत्ता गठबन्धनबाट आगामी निर्वाचनअघि चुनावी सरकारको नेतृत्व लिने तयारीमा छन् । 

नेपाली काँग्रेसको नियमित समयअनुसार ५ वर्षमा महाधिवेशन भए २०८४ अघि पार्टी नेतृत्व परिवर्तन हुने सम्भावना हुन्छ । २०८४ को निर्वाचनमा पनि देउवाले सरकारको नेतृत्व गरेको अवस्थामा काँग्रेसमा देउवा समूह नै हाबी हुनेछ । त्यसैले थापा कुनै हालतमा अब देउवालाई रोक्ने योजनामा देखिन्छन् । अर्कोतर्फ देउवाले प्रधानमन्त्रीका रुपमा प्रभावकारी काम गर्न नसकेको र अब पनि देउवा प्रधानमन्त्री भएमा त्यसको क्षति पनि पार्टीले भोग्नुपर्ने भएकाले नेतृत्व परिवर्तन आवश्यक रहेको थापा पक्षको जिकिर छ । 

अर्कोतर्फ अहिलेको सत्ता गठबन्धन आगामी चुनावसम्म लम्बिनेछ । त्यस्तो अवस्थामा देउवा नै प्रधानमन्त्री रहेमा फेरि पनि चुनावमा गठबन्धन गरेर जानसक्ने सम्भावना हुन्छ । थापा पक्ष आगामी निर्वाचनमा काँग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा छ । त्यसैले पनि देउवालाई प्रधानमन्त्रीमा पुग्नबाट यो समूह रोक्न चाहन्छ । काँग्रेसले अब सरकारको नेतृत्व गर्ने अवसर आउँदा फ्रेस अनुहार दिनुपर्ने र त्यसैको बलमा आगामी चुनावमा जानुपर्ने उनीहरुको तर्क देखिन्छ । 

तर काँग्रेसभित्र यतिबेला संसदीय दलको नयाँ निर्वाचनको अवस्था सिर्जना गर्नसक्ने मत थापा पक्षमा छ । तर चुनाव नै जितेर संसदीय दलको नेता परिवर्तन गर्ने मत देखिदैन । कांग्रेसको संसदीय दलको विधानमा २५ प्रतिशत प्रतिनिधिसभाका सदस्यले संसदीय दलको नेतामाथि अविश्वासको प्रस्ताव राख्न सक्ने व्यवस्था गरिएको छ । यसको अर्थ २२ जना सांसदले दलको नेतामाथि अविश्वासको प्रस्ताव ल्याउन सक्छन् ।

त्यसो भएमा संसदीय दलको नेताका लागि फेरि निर्वाचन हुन्छ । तर संसदीय दलको नेता बन्नका लागि अघिल्लो पटक थापाले ल्याएको मतमा थप २० सांसद थप्नुपर्छ । किनकि काँग्रेसमा संसदीय दलको नेता बन्न ५० प्रतिशत मत कटाउनुपर्छ । त्यो भनेको काँग्रेसका हाल कायम रहेका प्रतिनिधिसभा सदस्य ८८ को बहुमत अर्थात ४५ सांसद हो । थापाका लागि २५ सांसदलाई कायम राखेर २० जना थप्नु फलामको च्युरा चपाउनु सरह हो । 

अघिल्लो महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइराला नै संसदीय दलको नेता परिवर्तनबारे मौन छन् । थापालाई महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलको साथ छ । अघिल्लो पटकको संसदीय दलको निर्वाचनमा देउवा प्रधानमन्त्री हुने र यस्तो अवस्थामा मन्त्री बन्ने आशमा मत दिएका समेत अब आफ्नो पक्षमा आउनसक्ने थापा पक्षको विश्लेषण देखिन्छ ।

यदि देउवाको विकल्पमा बहुमत पुगेका गगन थापा वा अन्य कुनै पनि संस्थापन इतर समूहका नेतालाई संसदीय दलको नेता बनाउन पनि तयार छन् । त्यो भनेको अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि हुनसक्छन् । यदि देउवालाई हटाएर अरु कुनै नेता संसदीय दलको नेता बनेमा काँग्रेसको इतिहासमा पहिलो पटक बिचैमा संसदीय दलको नेता परिवर्तन गरिनेछ । तर देउवाइतर समूहलाई यो विकल्प सहज भने छैन ।