अनुकूल हुँदा मात्र केन्द्रीय समिति डक्ने देउवा कसरी पुगे बैठकको प्रत्यक्ष प्रसारण गर्न निष्कर्षमा ?

अनुकूल हुँदा मात्र केन्द्रीय समिति डक्ने देउवा कसरी पुगे बैठकको प्रत्यक्ष प्रसारण गर्न निष्कर्षमा ?

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०४, २०८०

देशकै पुरानो पार्टी हो, नेपाली काँग्रेस । जसको नेतृत्व यतिबेला दोस्रो पुस्ताका नेता शेरबहादुर देउवाले गरिरहेका छन् । वि.सं. २००६ सालमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकीकरणबाट बनेको नेपाली काँग्रेस भूमिगत बैठकदेखि उच्चतम प्रविधिबाट केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण सम्म आइपुगेको छ । यसअघि केही नगरपालिकाहरुले नगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रशारण गर्न सुरु गरेका थिए ।

नेपालका राजनीतिक पार्टीले पार्टीको आन्तरिक बैठकको प्रत्यक्ष प्रशारण गरेको यो पहिलो घटना हो । कतिपय सन्दर्भमा बैठकका तस्बिर र भिडियो लिने, शीर्ष नेताहरुले बैठकमा गरेको संश्लेषण बाहिर ल्याउने गरे पनि पुरै बैठक प्रत्यक्ष प्रशारण भने गरेका थिएनन् । दोस्रो पुस्ताका नेता भए पनि उमेरले पाका भइसकेका देउवालाई पार्टीमा विस्तारै नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाब र बाध्यता दुवै छ । उनले छैटौं पटक प्रधानमन्त्री बन्न गरिरहेको कोसिसको त काँग्रेसभित्रै विरोध भइरहेको छ ।

त्यसको विपरीत युवा पुस्तालाई जिम्मेवारी दिनुपर्ने दबाब देउवा माथि छ । प्रदेश र प्रतिनिधिसभाको बैठकदेखि निरन्तरका राजनीतिक घटनाक्रमका कारण ११ महिनापछि काँग्रेस केन्द्रीय समितिको बैठक बसेको हो । गत वर्ष स्थानीय चुनावको समीक्षा गर्न असार २७ देखि २ साउनसम्म केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । केन्द्रीय समिति बैठकअघि सभापति शेरबहादुर देउवाले सोमबार पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक राखे ।

जसमा केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल भयो । यही बैठकमा देउवाले पार्टी बैठकको छलफल सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्ने निर्णय सुनाए । देउवाको यो निर्णयले आम मानिस मात्रै होइन स्वयम् काँग्रेस नेताहरु पनि चकित भए । सबैभन्दा रोचक कुरा त के छ भने विगतमा सभापति देउवा पार्टीको आन्तरिक बैठकका विषयहरु बाहिरिने गरेको भन्दै नेताहरुमाथि खनिने गरेका थिए ।

यसमा दुइवटा कारण देउवा  प्रत्यक्ष प्रसारणको निश्कर्षमा  पुगेको  बताइन्छ  । पहिलो हो आफ्नो दुई  तिहाई भन्दा बढी केन्द्रीय सदस्यले सभापतिको पक्षमा रहेको र तीनलाई  प्रत्यक्ष प्रसारणमा बोल्न लगाएर  संसदीय दलको चुनावमा केही पनि गर्न सन्देश दिन चाहान्छन् भने  दोस्रो सभापति देउवा समक्ष  अर्थात् केन्द्रीय समितिमा केही पनि बोल्न नसक्ने तर सञ्चार माध्यम र सामाजिक संजालमा ठुल्ठुला भ्रमको खेती गर्नेलाई नाङ्गे झार बनाउन  प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा पुगेको बताइन्छ ।  

देउवाको निर्णयअनुसार नै मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण भयो । काँग्रेस केन्द्रीय समिति बैठकलाई नेता कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणले फेसबुकमार्फत प्रत्यक्ष रुपमा हेर्न पाए । बैठकको प्रत्यक्ष प्रशारणलाई लिएर काँग्रेसभित्र भने दुई धार देखिन्छ । कतिपयले बैठकका विषयहरु सबैले थाहा पाउनु राम्रो भए पनि आन्तरिक छलफलका विषय सार्वजनिक हुँदा यसले क्षति पुग्ने हो कि भन्ने चिन्ता पनि जनाएका छन् ।

बैठक नबोलाएको भन्दै देउवा माथि असक्षम र परम्परागत कार्यशैली अपनाएको आरोप समेत लागेको छ । तर आफूमाथि बैठकमै अनेकौं आरोप लाग्ने अवस्थामा पनि बैठककै प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेर देउवाले बहसलाई अन्यत्र मोडिदिएका छन् । तर अब देउवाले पार्टी सञ्चालनमा भने पुरानै कार्यशैली अघि बढाउँछन् वा साँच्चै नयाँ तरिका अपनाउँछन् भन्ने चै स्पष्ट छैन

अर्कोतिर यसअघि नेताहरुबीच बैठकका विषयलाई लिएर दोहोरी चल्ने गरेको थियो । सर्वसाधारण र कार्यकर्तामा आउँदा एउटा कुरा गर्ने र बैठकमा ती विषयमा कुराकानी नै नराख्ने गरेको भन्दै नेताहरुको आलोचना हुने गरेको थियो । अब प्रत्यक्ष प्रशारणले कोठे बैठकमा के–के भयो भनेर हुने हल्ला र प्रचारबाजी भने बन्द हुने भएको छ । किनकि कुन नेताले बैठकमा के कुरा राखे भन्ने कुरा कार्यकता र जनताले प्रत्यक्ष रुपमा सुन्न पाउनेछन् । आखिर जे भए पनि देउवाले निकै जोखिम मोलेर बैठकलाई नयाँ युगमा प्रवेश भने गराएका छन् । 

काँग्रेसको विधान अनुुसार हरेक दुई महिनामा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्छ । तर आफू अनुकूल नहुँदा सभापति देउवाले एक वर्षसम्म केन्द्रीय कार्यसमितिको बैठक बोलाएनन् । बैठक नबोलाएको भन्दै देउवा माथि असक्षम र परम्परागत कार्यशैली अपनाएको आरोप समेत लागेको छ । तर आफूमाथि बैठकमै अनेकौं आरोप लाग्ने अवस्थामा पनि बैठककै प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेर देउवाले बहसलाई अन्यत्र मोडिदिएका छन् । तर अब देउवाले पार्टी सञ्चालनमा भने पुरानै कार्यशैली अघि बढाउँछन् वा साँच्चै नयाँ तरिका अपनाउँछन् भन्ने चै स्पष्ट छैन ।

किनकि महाधिवेशनको डेढ वर्षसम्म सभापति देउवाले विधान बमोजिम गर्नुपर्ने काम समेत पूरा गरेका छैनन् । पार्टीका विभाग प्रमुख र सदस्यहरूको मनोनयन सभापतिले महाधिवेशन भएको ६ महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था छ । काँग्रेस विधानमा पार्टीमा ४८ वटा विभाग हुने व्यवस्था छ । तीमध्ये ४७ विभाग रिक्त छन् । मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले २२ वटा विभाग थप गर्न प्रस्ताव गरेका छन् । थापाको यो प्रस्ताव पारित भएमा काँग्रेसमा ७० वटा विभाग हुनेछन् । तर विभाग हुने जिम्मेवारी नहुने रोग काँग्रेसमा पुरानै रोग हो ।

त्यसैले रिक्त राख्न विभाग बनाउने कुरा आफैंमा विरोधाभास पूर्ण कुरा हो । त्यसमाथि नक्कली भुटानी शरणार्थी प्रकरणदेखि भ्रष्टाचारका काण्डमा देउवा मौन छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएका नेता बालकृष्ण खाँणलाई कारबाही गर्न अझै तयार भइसकेका छैनन् । खाँणलाई कारबाही गर्दा भ्रष्टाचारको मुद्दा खेपिरहेका विजयकुमार गच्छदारसहितका नेताहरुमाथि पनि स्वतः प्रश्न उठ्नेछ । यसले पार्टीलाई सहज बनाउनेछैन । मंगलबारको बैठकमा पेश भएका प्रस्तावहरूमाथि बुधबारदेखि  निरन्तर छलफल हुनेछन्