लोकसंवाद संवाददाता | समाचार | साउन ०५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार समेत पार गराएर सिनामंगल पुर्याइएको एक क्विन्टलभन्दा बढी सुन बरामद भएपछि यसले चौतर्फी प्रश्न खडा गरेको छ ।
नेपाली श्रमिकले विदेशमा पसिना बगाएर ल्याएको एउटा मोबाइल समेत देख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार कर्मचारीले यति ठूलो मात्राको सुन नदुख्नेले यहाँ ठूलै कनेक्सन, सेटिङ र माथिल्लो स्तरका तस्करको गिरोह सामेल भएको हुनसक्ने आशंका पैदा भएको छ ।
माथिल्लो स्तरको सेटिङ बिना यति ठूलो मात्रामा अवैध सुन आउन सम्भव हुँदैन । यसले विमानस्थलको संयन्त्र माथि समेत गम्भीर नैतिक प्रश्न उठेको छ । विगतमा साना साना कमजोरीमा पनि विमानस्थलको भन्सारदेखि प्रहरी अधिकृत सम्मलाई कारबाही गरिन्थ्यो । तर यति ठूलो सुन बाहिरिएको विषयमा अनुसन्धान सुरु भए पनि कसैलाई तत्कालै ठूलो कारबाही नगरिनु अर्को रहस्यको विषय बनेको छ । यद्यपि यति गम्भीर विषयलाई हल्का रुपमा लिनुभन्दा पनि सिंगो संयन्त्र माथि छानबिनको आवश्यकता खड्किएको छ ।
यो तस्करीमा पक्राउ परेका व्यक्तिहरुलाई आधार मान्ने हो भने यसमा चीनदेखि भारतसम्मको गिरोह संलग्न भएको देखिन्छ । किनकि सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिक र एक जना भारतीय नागरिक पनि पक्राउ परेका छन् । सुन प्रकरणमा हालसम्म ८ नेपाली र दुई विदेशी नागरिक पक्राउ परिसकेका छन् । यसअघि ३३ किलो सुन काण्डमा जति तहल्का मच्चिएको थियो, त्यसरी नै क्विन्टल सुन काण्डमा अनेकौं प्रश्न, शंका र उपशंकाहरु खडा भएका छन् ।
अनुसन्धानका लागि अर्थ मन्त्रालयले विमानस्थल भन्सारका जाँचपास अधिकृत रमेश चन्द र जाँचकी खरिदार कुमार ढकाललाई निलम्बन गरेको छ । यसअघि पनि तस्करसँग साँठगाँठ गरी यस्ता वस्तु छिराएको आरोप भन्सारमाथि लाग्दै आएको छ । भन्सार कर्मचारी भने एक्सरे मेसिनलाई दोष दिँदै उम्किन खोज्छन् । यसपटक भने एक्सरेले सामान देखाए पनि आफूहरुले चिन्दै नचिलेको कर्मचारीले दाबी बाहिर आएको छ ।
कुनै बेला कुख्यात अपराधी चार्ल्स शोभराजले नेपालको विमानस्थलबाट हात्ती पनि छिराइदिन सक्छु भन्दै दिएको अभिव्यक्ति यहाँ उल्लेखनीय छ । केही वर्षअघि ३३ किलो सुन काण्डमा तत्कालीन सभामुख कृष्णबहादुर महराले सुन काण्डमा आफूहरु भारेभुरे भएको र ठूला माछाहरू अरु नै रहेको बताएका थिए । यो सुन काण्डमा पनि साना माछाहरू पक्राउ पर्ने र ठूला माछा उम्किने जोखिम उत्तिकै छ । किनकि अहिलेसम्म पक्राउ परेका व्यक्तिमध्ये को मुख्य नाइके हो भनेर खुल्न सकेको छैन ।
सुन प्रकरणमा भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक जेक्युयाङ लिन पक्राउ परेका छन् । लिन बिहीबार चीनको छेन्दु जाने क्रममा त्रिभुवन विमानस्थल टर्मिनलबाट पक्राउ परेका हुन् । ७ महिनाअघि काठमाडौं आएका जेक्युयाङ तीन महिनादेखि बालुवाटारस्थित एक अपार्टमेन्टमा बस्दै आएका थिए । पक्राउ परेलगत्तै उनको निवासमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको छ ।
सुन त्रिभुवन विमानस्थलको भन्सारबाट कटाएर सिनामंगल पुर्याइए पनि यसको गन्तव्य कहाँ थियो र त्यहाँसम्म पुर्याउन कसले जिम्मा लिएको थियो भन्ने कुराको खोजी भइरहेको छ । किनकि सुन विमानस्थलमा आइपुगेको चार दिनसम्म गोदाममा राखेर सबै सेटिङ मिलाएर बाहिर निकालिएको खुलासा भएको छ । १३ जुलाईमा हङकङस्थित क्याथे प्यासिफिकको कार्गो विभागमा यी सामान काठमाडौं पुर्याउने गरी बुक भएको र १४ जुलाईको राति १० बजे काठमाडौं ल्याएर गोदाममा राखेको पाइएको छ । सबै सेटिङ मिलाएर मंगलबार विमानस्थलबाट बाहिर निकालिएको केही समयमा नै सिनामंगलबाट सुन समातिएको हो ।
हङकङबाट इलेक्ट्रोनिक सामानका रुपमा नेपाल पठाउन बुक गरिएको र नेपालको भन्सारमा स्कुटरको ब्रेक सु भनेर जाँचपास गरेको पाइएको छ । यसबाट पनि यो सुन तस्करीमा भन्सारको मिलेमतो हुनसक्ने आशंका बढेको छ । भन्सारबाट छाडिएको सुन राजस्व अनुसन्धान विभागले समातेको हो । यो सामान सामान्य रुपमा अन्य सामानजस्तै हातमै समातेर बाहिर निकालेर ट्याक्सीमा हालिएको थियो ।
तर यो सामानबारे निगरानी राखेको राजस्व अनुसन्धान विभागले तत्कालै ट्याक्सीलाई नियन्त्रणमा लियो । यो सामान रेडी ट्रेडर्स प्रालिले स्कुटरको ‘ब्रेक सु’ का नाममा भन्सारबाट निकालेको पाइएको छ । जुन सामान नियन्त्रणमा लिएर अनुसन्धान गर्दा एक क्विन्टल बढी सुन भेटिएको हो । पक्राउ परेकामध्ये २ जना रेडी ट्रेडर्सका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल पनि छन् । यो घटनाको अनुसन्धानका क्रममा १० जना पक्राउ परिसकेका छन् ।
अनुसन्धानका लागि अर्थ मन्त्रालयले विमानस्थल भन्सारका जाँचपास अधिकृत रमेश चन्द र जाँचकी खरिदार कुमार ढकाललाई निलम्बन गरेको छ । यसअघि पनि तस्करसँग साँठगाँठ गरी यस्ता वस्तु छिराएको आरोप भन्सारमाथि लाग्दै आएको छ । भन्सार कर्मचारी भने एक्सरे मेसिनलाई दोष दिँदै उम्किन खोज्छन् । यसपटक भने एक्सरेले सामान देखाए पनि आफूहरुले चिन्दै नचिलेको कर्मचारीले दाबी बाहिर आएको छ । स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ मा जडान गरेर ल्याइएको सुन नाङ्गो आँखा र उपलब्ध प्रविधिले पत्ता लाग्न नसकेको भन्सार कर्मचारीको भनाइ छ ।
भन्सार विभागले सुन प्रकरणमा कर्मचारीको संलग्नता र घटनाका विषयमा छानबिन गर्न विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । प्रहरीले पनि घटनाको छानबिन गरिरहेको छ । बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार विभागमा जोखेर परीक्षण गरी ढुकुटीमा पठाइएको छ । यसरी आएको सुन नेपालको बाटो हुँदै भारतसम्म जाने गरेको पाइन्छ ।
थाइल्यान्ड, दुबई, हङकङ, चीनजस्ता देशबाट अवैध रुपमा नेपालमा सुन भित्रिने र त्यसको ठूलो हिस्सा फेरि तेस्रो देशमा जाने गरेको पाइन्छ । नेपालमा पटक पटक ठूलो परिमाणमा सुन पक्राउ परे पनि यसका मुख्य कारोबारी, योजना कारहरु भने हालसम्म कारबाहीमा परेका छैनन् । बरु सुनका सामान्य भरिया र खेताला कारबाहीमा परी अन्य ठूला माछा उम्किने गरेका छन् ।