लोकसंवाद संवाददाता | समाचार | साउन ०७, २०८०
काठमाडौँ । ३८ क्विन्टल सुन प्रकरणमा चुडामणि उप्रेती ‘गोरे’ सहित ७७ जनाविरुद्ध मुद्दा चले पछिकै सबैभन्दा ठुलो र चर्चित सुनकाण्ड यतिबेला चर्चाको शिखरमा छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गरी लगिँदै गरेको १ क्विन्टलभन्दा बढी सुन प्रकरणमा एक चिनियाँ र एक भारतीयसहित केही नेपालीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
यो बिचमा निकै ठूलो मात्रामा सुन तस्करी भएको चर्चादेखि आशंका गरिए पनि कुनै प्रमाण नभेटिएका कारण चर्चा केवल चर्चामा मात्र समिति हुने गरेका छन् ।
यद्यपि अर्थतन्त्रका विज्ञहरु नेपालमा केही समययता सुन तस्करी ह्वात्तै बढेको अनुमान गर्छन् । अर्थतन्त्रमा देखिएका केही समस्या र संकेत ले नै नेपालमा सुन तस्करीको अनुमान गर्न सकिने उनीहरुको दाबी गरि रहेका छन् ।
अर्थतन्त्र एउटा प्रणाली हो । यो प्रणालीमा थोरै गडबडी आए पनि त्यसले ठूलो अन्तर देखा पर्छ । नेपाली अर्थतन्त्र केही वर्षयता समस्या ग्रस्त बन्दै गएको छ । अर्थतन्त्र समस्यामा आउनुमा एक नभएर अनेकौं कारण छन् । अर्थशास्त्रीहरूका अनुसार पछिल्ला केही महिनायता भारतसँगको सीमा क्षेत्रमा अनौपचारिक रूपमा १५० नेपाली रुपैयाँको १०० भारुमा सटही भइरहेको समाचार आए ।
जब कि भारतीय रुपैयाँको विनिमय दर १६० रुपैयाँ कायम नै छ । तर त्योभन्दा कम रुपैयाँमा नै भारतीय रुपैयाँ नेपाली रूपैयाँसँग साटिनु भनेको अवैध आर्जन गरेको भारतीय रुपैयाँ छ भन्ने संकेत गरेका रुपमा अर्थशास्त्रीहरू अर्थ्याइने गरेका छन्। यसको एउटा मुख्य स्रोत सुन तस्करी हुनसक्ने अनुमान लगाउन थालिएको छ ।
सुन तस्करीले देशको अर्थतन्त्रलाई समस्यामा पार्नुका साथै द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छविमा आँच आउँछ । गत वर्षमात्रै वैध आयातको हिसाब गर्ने हो भने ११ महिनामै ४३ अर्ब ५२ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । रकमको आधारमा सुन पाँचौँ सबैभन्दा ठूलो आयात सामग्रीका रुपमा देखिएको छ । अवैध भित्रिएका सुनको अधिकांश हिस्सा भारत पुग्ने र यसरी आएको पैसा राष्ट्रिय अर्थतन्त्र र बजेटरी प्रणालीमा नपुग्दा पनि अर्थतन्त्रमा समस्या देखिन्छ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो ९ वर्षमा ६६० किलो अवैध सुन बरामद भएको छ । जसमा ७०३ जना पक्राउ परेका छन् । अवैध सुनबाट मात्रै ४ अर्ब ३४ करोड राजस्व असुली भएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बडी २०० केजी अवैध सुन बरामद भएको थियो । पछिल्ला केही वर्षदेखि सुन तस्करी भएर पक्राउ परेका निकै कम घटना छन् । पक्राउ परेपनि निकै सानो मात्रामा मात्रै पक्राउ परेका छन् । यसबाट नेपालमा सुन तस्करीका सन्दर्भमा केही न केही गडबडी भएको अनुमान गर्न सकिन्छ ।
नेपालमा सुनको वैध आयात केवल बैंकहरुले मात्रै गर्न पाउने व्यवस्था छ । त्यसका लागि पनि दैनिक कोटा १० किलोग्रामको सीमा तोकिएको छ । देशभित्र नै सुनको खपत अहिले उच्च मूल्यका कारण शिथिल भइरहेको अवस्था छ ।
बिहीबार नेपालमा सुनको मूल्यले कीर्तिमान कायम गर्दै सबैभन्दा महंगो प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ पुग्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले भारतको बजारसँग यहाँको सुनको भाउ मिलान गर्न भन्दै भन्सार दर बढाइएको छ । सुनको भाउ नेपाल र भारतमा उस्तै छ भने बाँकी देशहरुमा सस्तो छ ।
हाल दुबईमा भन्दा नेपालमा सुन १७ हजार रुपैयाँ महंगो छ । एक तोलामै यति धेरै नाफा हुने भएपछि तस्करहरुले पनि विभिन्न सेटिङ मिलाएर नाफा बाँड्ने गरी सुन भित्र्याउने गरेका छन् । कर नतिरेको, भ्रष्टाचारबाट आर्जन गरेको, आतंककारी क्रियाकलापसँग जोडिएको सुन हुनसक्ने व्यवसायीहरुको भनाई छ । अर्कोतिर नेपालमा आउने राजस्वमा पनि अवैध सुन तस्करीले नोक्सानी पुर्याउने गरेको छ । अहिले एक किलोग्राम सुनमा १२ लाख रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ । सोझो हिसाब गर्ने हो भने एक सय किलो सुन अवैध भित्र्याउँदा १२ करोड रुपैया कर नोक्सानी हुन्छ ।
वैध बजारमा अवैध सुनले कागजात देखाउन सक्दैनन् । यस्तो सुन अवैध रूपले किनबेच हुन्छ र कालो धनको बिगबिगी बढ्छ । जसमा कुनै आयकर समेत हुँदैन । सुनको अवैध तस्करीका खुला सिमाना पनि कारकका रुपमा रहेको छ । नेपाल भारत खुला सीमा भएका कारण पनि नेपालबाट उम्काउने वित्तिकै सहजै भारतीय बजारमा खपत हुने गरेको छ ।
सुन तस्करीले देशको अर्थतन्त्रलाई समस्यामा पार्नुका साथै द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छविमा आँच आउँछ । गत वर्षमात्रै वैध आयातको हिसाब गर्ने हो भने ११ महिनामै ४३ अर्ब ५२ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । रकमको आधारमा सुन पाँचौँ सबैभन्दा ठूलो आयात सामग्रीका रुपमा देखिएको छ । अवैध भित्रिएका सुनको अधिकांश हिस्सा भारत पुग्ने र यसरी आएको पैसा राष्ट्रिय अर्थतन्त्र र बजेटरी प्रणालीमा नपुग्दा पनि अर्थतन्त्रमा समस्या देखिन्छ ।