समाजवादी मोर्चा: संयोजक नेपाल र सदस्यसचिवमा हमालको कार्यकाल चार महिना

समाजवादी मोर्चा: संयोजक नेपाल र सदस्यसचिवमा हमालको कार्यकाल चार महिना

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०७, २०८०

 

काठमाडौं । समाजवादी मोर्चा, नेपालको केन्द्रीय संयोजन समितिको दोस्रो बैठक २०८० असार ३० गते केन्द्रीय संयोजक माधवकुमार नेपालको अध्यक्षतामा बसी विभिन्न निर्णय गरेको जनाएको छ ।

बैठकको निर्णयअनुसार मोर्चाको केन्द्रीय संयोजकका रुपमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी चार महिनासम्म उक्त जिम्मेवारी बहन गर्नुहुने र सोही अवधिसम्म सोही पार्टीका उपाध्यक्ष प्रमेश हमाल सदस्य सचिवको जिम्मेवारी रहने जनाइएको छ । 

दोस्रो बैठकले मोर्चामा आवद्ध दल नेकपा (माओवादी  की केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा सम्माननीय प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन संगिनी सीता दाहालले नेपाली क्रान्ति र नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्‍याउनुभएको योगदानलाई उच्च मूल्यांकन गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । उहाँको सम्मानमा एक मिनेट मौनधारण गरी बैठक अगाडि बढेको थियो ।

असार २३ गते बसेको मोर्चाको पहिलो बैठकले गठन गरेको कार्यदलले मोर्चाको कार्यविधि २०८० दोस्रो बैठकमा प्रस्तुत भयो । कार्यविधिको दफा ६ (२) बमोजिम मोर्चामा आवद्ध पार्टीहरुले केन्द्रीय संयोजन समितिमा सहभागी हुन पार्टी प्रतिनिधिको जिम्मेवारी दिएको छ । त्यसअनुसार नेकपा (माओवादी केन्द्र) बाट सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क।पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिव देव गुरुङ रहनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्षद्वय राजेन्द्र पाण्डे, प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहनुभएको छ ।

बैठकले प्रदेश र जिल्ला स्तरमा मोर्चा संयोजन समिति गठन गर्ने निर्णय गरेको छ । यस सम्बन्धमा सम्वद्ध दलहरुले सम्बन्धित पार्टी कमिटीहरुलाई निर्देशन दिन बैठकले आग्रह गरेको छ ।

बैठकले मोर्चा गठन भएको सन्दर्भमा प्रदेशस्तरमा ‘सन्देश सभा’ को आयोजना गर्ने र त्यससम्बन्धी विस्तृत कार्ययोजना सचिवालयले तयार गर्ने निर्णय गरेको छ ।