लोकसंवाद संवाददाता | साहित्य | साउन ०७, २०८०
काठमाडौँ । पूर्वसचिव तथा वाटर एसिया इन्टरनेशनलका अध्यक्ष डा. त्रिलोचन उप्रेतीको आठौँ कृति ‘मैले देखेको नेपाल’ शनिबार सार्वजनिक गरिएको छ । कृतिमा २०३५ सालदेखि २०८० सम्मका प्रमुख राजनीतिक, सामाजिक, आर्थिक घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।
एसिया वाटर इन्टरनेशनलद्वारा प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंह, पूर्व मुख्यसचिव डा. विमलप्रसाद कोइराला, पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेल, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती र महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।
प्रमुख अतिथि पूर्व न्यायाधीश टोपबहादुर सिंहले २००७ सालको परिवर्तनपछि नेपालमा भारतले माइव्रmोम्यानेजमेन्ट गरिरहेको र पछिल्लो समय चीनले समेत त्यसको सिको गर्दैआएको बताउनुभयो । उहाँले पछिल्लो समय पश्चिमा शक्तिको समेत नेपालमा प्रभाव बढाउँदै लगेको चर्चा गर्दै मुलुकको विकासमा सचेत नेपालीले चिन्तन मनन गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वसचिव डा.विमल कोइरालाले पुस्तकको समीक्षा गर्दै मैले देखेको नेपालभित्र आफूले नदेखेको नेपालको चित्र पाएको बताउनुभयो । उहाँले पुस्तकमा इतिहास, समाजशास्त्र, राजनीति सबै मिसमास भएर आएको चर्चा गर्दै यसलाई छुट्याउन कठिन भएको बताउनुभयो ।
यस्तै पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेलले पुस्तकको चर्चा गर्दै आर्थिक, राजनीतिक, सामाजिक, वैदेशिक स्थितिको चित्रण कृतिमा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, 'यो मुलुक कसरी बिग्रिएको छ ? कतातिर जाँदैछ ? भन्ने सचित्र वर्णन कृतिमा गरिएको छ ।'
यस्तै, महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीले मानवअधिकार र महिला दृष्टिकोणबाट पुस्तकको चर्चा गर्दै शब्दकै हिसाबले भए पनि लैङ्गिक संवेदनशीलतामा पुस्तक सचेत रहेको टिप्पणी गर्नुभयो ।
पुस्तकका लेखक डा.त्रिलोचन उप्रेतीले आफूले भोगेका, देखेका घटनालाई मिहिन ढङ्गले पुस्तकमा उतार्ने जमर्को गरेको बताउनुभयो । उहाँले कुनै पनि विषयलाई ठीक र बेठीक भनेर छुट्याउन नेपाली समाज असफल हुँदै गएको चर्चा गर्दै तर आफूले पुस्तक लेख्दा कुनै पनि प्रभावमा नपरी लेखेको जिकिर गर्नुभयो ।
कार्यक्रमको अध्यक्ष पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले प्रस्तुत पुस्तकले नेपाली समाजका विविध पक्षलाई बहसमा ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, 'कृतिमा करिव पाँच दशकको नेपालको अभिलेख छ । यसमा धेरै महत्वपूर्ण सूचना छन् । विश्लेषण र आक्रोश पनि छन् ।'
कार्यक्रमको उद्देश्यमाथि वाटर एसिया इन्टरनेसनलका सञ्चालक सदस्य पदम तामाङले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण बुद्धि तिमिल्सिनाले गर्नुभएको थियो ।