नयाँ बुटबल–बर्दघाट प्रसारण लाइन पुसभित्र सम्पन्न गरिने

नयाँ बुटबल–बर्दघाट प्रसारण लाइन पुसभित्र सम्पन्न गरिने

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०७, २०८०

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाट सम्मको २२० केभी प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिको निर्णय प्रक्रियामा भएको ढिलाइका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । अहिले आयोजनाले रुख कटानका लागि अनुमति पाइसकेको छ ।

प्रसारण लाइनका टावर र मार्गधिकार (राइट अफ वे) लागि ५०।३१ हेक्टर वन क्षेत्रको जग्गा र त्यहाँ रहेका ५ हजार ८ सय रुख हटाउनु पर्ने छ । आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाए वापत २७ करोड ९९ लाख ४९ हजार रुपैयाँ वन विकास कोषमा जम्मा गर्नु पर्ने छ । यसमध्ये आयोजनाले पहिलो किस्तावापत ३ करोड ५१ लाख रुपैयाँ कोषमा गरेपछि जग्गा प्रयोग र रुख कटानको स्वीकृति प्रक्रिया अगाडि बढेको थियो ।

२१ किलोमिटर प्रसारण लाइनका लागि ५६ वटा टावर निर्माण गर्नु पर्ने छ । यसमध्ये २१ वटाको जग हालिएको छ । ५ वटा टावर खडा गरिएको छ । प्रसारण लाइनका अधिकांश उपकरणहरु आयोजना स्थलमा आपूर्ति भइसकेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा रहेको समस्या समाधान भइसकेकाले जनशक्ति थप गरी आगामी पुसभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

उहाँले नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सब स्टेसनसम्म २२० केभीको चार सर्किट ९मल्टी सर्किट० लाइनमध्ये आयोजनाले तान्नु पर्ने डबल सर्किट तार तान्न सुरु गर्न निर्देशन दिनुभयो । आयोजनाअन्तर्गत भुमहीमा २२०/१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।