लोकसंवाद संवाददाता | साहित्य | साउन ०८, २०८०
काठमाडौँ । एक अद्भुत बालप्रतिभा विभूति अधिकारीको दोस्रो कृति ‘अर्जुनदृष्टि’ कविता सङ्ग्रह विमोचन भएको छ । कविको १७ औँ जन्मोत्सवका अवसरमा शुक्रवार छन्द–तरङ्ग काठमाडौँले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ भाषाविद् प्रा.डा. चूडामणि बन्धुले कृतिको लोकार्पण गर्दै भर्खरै सत्र वर्षमा प्रवेश गर्दै गरेको एउटा बालकले लेखेका यी कविताहरू पढ्दा निकै परिपक्व कविहरू पनि झस्किने हुनाले नेपाली छन्द कविताका क्षेत्रमा यसले एउटा नयाँ तरङ्ग सिर्जना गर्ने बताउनुभयो ।
प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको जोडीबाट २०७५ मा छन्द कविताको स्तरीकरण तथा मानकी करण अभियानको घोषणासहित सुरु गरिएको छन्द–तरङ्गले यस्ता उल्लेखनीय प्रतिभाहरूलाई खोजी गरेर बाहिर ल्याउने काम गरेको छ । अत्यन्त निर्दोष, परिष्कृत, सूक्ति पूर्ण र युगीन स्वरले भरिएका ४९ ओटा कविताहरूको सङ्ग्रह ‘अर्जुनदृष्टि’ मा शास्त्रीय छन्दको मानक प्रयोग भएको पाइन्छ । प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्नुहुने नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, पूर्व काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेल, वरिष्ठ भारतीय नेपाली स्रष्टा एवम् भाषा सङ्ग्रामी प्रा. तेजमान बराइली, कवि तथा समालोचक प्रभा भट्टराई, नवसर्जकहरूका उत्प्रेरक दीपक गौतम, एम्बिसन एकेडेमीका प्रिन्सिपल विष्णुकुमार घिमिरे, निर्देशक देवी घिमिरे, ऐरावती प्रकाशनका अध्यक्ष तथा स्रष्टा रामदेव पाण्डेलगायतका वक्ताहरू सबैले विभूतिको कविता लेखन उमेरभन्दा निकै परिपक्व रहेको र ‘अर्जुनदृष्टि’भित्रका कविताहरू भाव, विचार र शिल्प तीन वटै कुराले अत्यन्त उत्कृष्ट रहेको कुरामा जोड दिनुभएको थियो ।
छन्द–तरङ्गका संयोजक मध्येका एक तथा विभूतिका छन्दगुरु प्रा.डा. देवी नेपालले त विभूतिको कविता लेखनले आफूलाई पराजित गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले कोभिडको महामारीका बेलामा विभूतिले आफू र दीपक गौतमबाट अनलाइनमार्फत छन्द सिकेको तीन महिना भित्रैमा १४ वर्षको उमेरमा ‘अद्भुत इन्द्रेनी’जस्तो उत्कृष्ट खण्डकाव्य लेख्नु र प्रकाशनसमेत गर्नु आफैँमा आश्चर्यजनक थियो, त्यसमा पनि अहिले १७ वर्षमा प्रवेश गर्दैगर्दा निकै परिपक्व छन्दसाधकहरूलाई समेत चुनौती दिने खालका परिष्कृत छन्द कविताहरूको एउटा सिङ्गो कृति नै लिएर आउनु अर्को अद्भुत कार्य भएको विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कवि विभूतिले गुरुजन र अग्रजहरूको योगदानप्रति आफू सदैव नतमस्तक रहने प्रणसहित अनुष्टुप् छन्दको ‘अर्जुनदृष्टि’ र पञ्चचामर छन्दको ‘म बालक’ शीर्षकका दुईवटा कविता वाचन गरेका थिए ।
१. महाभारत चल्दै छ आफ्नालाई उठाउन ।
२. जन्मिने छन् सयौँ गीता भए अर्जुनझैँ मन
भीमझैँ प्रण चाहिन्छ जित्न जस्तोसुकै रण
३. जीवन्त कविताजस्तो मैले बन्नु छ सुन्दर ।
४. सिनो म खान्नँ लोभले म बाघको हुँ वंशज ।
५. सारा विश्व कहन्छ एक सुरमा सङ्गीत हो जीवनी ।
६. गाई झन् नअघाइने गहकिलो नेपाल सङ्गीत हो ।
७. बाबाबाटै सिकेको हो खप्न संसारले पिर ।
‘अर्जुनदृष्टि’ कविता सङ्ग्रह यस प्रकारका दर्जनौँ सूक्तिहरूले भरिएको छ । कार्यक्रममा प्रखर युवा कवि सुदेश सत्याल र अनुज्ञा नेपालले विमोचित कृतिबाट एक एकओटा कविता वाचन गर्नुभएको थियो भने कविका पिता रामप्रसाद उपाध्यायले आशीर्वाद मन्तव्य राख्नुभएको थियो । नव सर्जक साहित्य चौतारी नेपालका महासचिव तथा १४ वर्षकै उमेरमा ‘अभियुक्त समय’जस्तो उत्कृष्ट कविता सङ्ग्रह प्रकाशन गर्ने अर्का अद्भुत बाल प्रतिभा समर्पण न्यौपानेको व्यवस्थित सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा एम्बिसन एकेडेमी, बानेश्वरका बाल प्रतिभाहरू प्रविज्ञा नेपाल, चक्षु भट्टराई, आश्रुती दाहाल, प्रनुज्ञा नेपाल र आर्णवी घिमिरेले कविता गायनबाट अतिथिहरूलाई स्वागत गरेका थिए ।
कार्यक्रममा उपस्थित सयौँ प्रबुद्ध व्यक्तिहरूले उक्त कृतिको लोकार्पणसँगै यसले नेपाली कविताका क्षेत्रमा निकै ठुलो तरङ्ग उत्पन्न गरेको प्रतिक्रिया दिनुभएको थियो । कवि विभूति अधिकारी अहिले एम्बिसन एकेडेमी, बानेश्वरमा कक्षा १२ मा अध्ययनरत छन् । ‘अर्जुनदृष्टि’को प्रकाशन ऐरावती प्रकाशनले गरेको हो ।