साहित्यकार जगदीश्वर पोखरेलका १५ वटा काव्यकृति एकैसाथ बजारमा ल्याइँदै

साहित्यकार जगदीश्वर पोखरेलका १५ वटा काव्यकृति एकैसाथ बजारमा ल्याइँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०९, २०८०

काठमाडौँ ।साहित्यकार जगदीश्वर पोखरेलका १५ वटा नवीनतम् कृति एकैसाथ बजारमा ल्याउने तयारी भइरहेको जनाइएको छ । 

यसरी बजारमा ल्याउन लागिएका १५ वटा नवीनतम् कृति ‘पद्यमञ्जरी’, ‘पद्यमालती’, ‘मद्यमाला’, ‘पद्यहार’, ‘पद्यपल्लव’, ‘पद्यकुञ्ज’, ‘भावमञ्जरी’, ‘अक्षराङ्कुुर’, ‘शब्दांश’, ‘शब्दस्पर्श’, ‘शब्दतरङ्ग’, ‘शार्दूललालित्य’, ‘सुन्दर देश नेपाल’, ‘सारङ्गीको धुन’ र ‘पाउँदीका गीत’  रहेका छन् । 

लामो समयदेखि छन्द साधनामा तल्लीन साहित्यकार पोखरेलले एक अक्षरको छन्ददेखि ३० अक्षरको छन्दसम्म विभिन्न प्रयोग गर्दै मौलिक कविता सिर्जना गर्नुभएको छ ।

उहाँका यिनै काव्य–साधनाको प्रतिफल स्वरूप १५ वटा कृति एकसाथ प्रकाशनमा आउन लागेका हुन् । यी कृति शास्त्रीय छन्द, मात्रिक छन्द र लोकलयमा लयबद्ध छन् ।
स्थानीय जनजागृति माध्यमिक विद्यालय र वीरभक्ति विद्यालयबाट आधारभूत शिक्षा दीक्षा प्राप्त गर्नुभएका साहित्यकार पोखरेलले २०३४ सालमा प्राइभेट विद्यार्थीका रूपमा प्रवेशिका परीक्षा उत्तीर्ण हुनुभयो । उहाँले सरकारी जागिर भने २०२८ सालमै लोकसेवा आयोगको परीक्षा पास गरेर हुलाकको कर्मचारीका रूपमा सरकारी जागिरमा सरिक हुनुभयो । 

साहित्यकार जगदीश्वर पोखरेलले २०३७ सालमा महालेखा नियन्त्रक कार्यालयको सह लेखापालमा नियुक्त भयो । त्यो जागिरको डोरीले उहाँलाई काठमाडौँतिर तान्यो । जागिर र पारिवारिक जिम्मेवारीलाई गाह्रो साह्रो किसिमले बहन गर्दै स्नातक तहसम्मको औपचारिक अध्ययन पनि पूरा गर्नुभयो ।

‘उमेरले साठीको नेटो काटेपछि बल्ल मलाई छन्दमा कविता लेख्ने धुन सवार भयो’, साहित्यकार पोखरेल काव्य–साधनासम्बन्धी अनुभवको पेटारो फुकाउनु हुन्छ - ‘आफू लेखन र साधनामै व्यस्त रहन थालेँ, साहित्यिक गोष्ठी र कार्यक्रमतिर सहभागी हुन थालेँ ।’ उहाँ ‘अनुपम सिर्जना प्रतिष्ठान, नेपाल’, ‘कर्मदा साहित्य समाज लमजुङ’ लगायत साहित्यिक संस्थाहरूको स्थापन कालदेखि सक्रिय रहँदै आउनुभएको छ ।

६० को दशकदेखि निरन्तर काव्य–साधनामा सरिक पोखरेलका यसअघि नै ‘शार्दूलका पाइला’, ‘सुसाउँदो मस्र्याङ्दी’ र ‘फूलसरिको जीवन’ गरी ३ वटा कविता सङ्ग्रह पाठक समक्ष भइसकेका छन् । साहित्यकार जगदीश्वर पोखरेल आगामी दिनमा खण्डकाव्य र महाकाव्य प्रकाशनमा ल्याउने योजनामा हुनुहुन्छ । 

साहित्यकार पोखरेलका प्रकाशोन्मुख कृतिहरू पेज टर्नर प्रा.लि., अनुपम सिर्जना प्रतिष्ठान नेपाल र कर्मदा सिर्जना मञ्च नेपालले प्रकाशनमा ल्याउन लागेको हो । सबै कृतिको मुख्य वितरक भने पेज टर्नर रहेको छ भने सबै कृतिको डिजाइन तथा ले–आउट सम्पादन हाउस प्रा.लि.मार्फत भएको छ ।