लोकसंवाद संवाददाता | समाचार | साउन १०, २०८०
झापा । नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने १४ प्रकारका जडीबुटी भारतमा निकासी हुने गरेको तथ्य खुलेको छ ।
जडीबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने भारतसँगको व्यापार घाटा पूर्तिमा योगदान पुगेको दावी समेत गर्न थािलएको छ ।
प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वी नाकाबाट बैधानिक बाटो भएर पछिल्लो एक वर्षमा चार करोड ३० लाख छ हजार मूल्य बराबरको दुई सय ९० मेट्रिक टन जडीबुटी भारततर्फ निकासी भएको देखिएको हाे ।
पूर्वी नाकाबाट भारततर्फ निकासी हुने मालसामानमा जडीबुटी मुख्य वस्तु हो । यसबाहेक भेनियर काठ, मसाला बाली, औद्योगिक बालीलगायतका वस्तु समेत निर्यात हुँदै आएको छ ।
कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/०८० मा काँकडभिट्टा नाका भएर निर्यात भएको सबैभन्दा बढी मूल्यको जडीबुटी चिराइतो हो । त्यसपछि क्रमशः मजिटो र पदम चाल अधिक मात्रामा निर्यात हुने गरेको छ ।
उहाँका अनुसार विगत एक वर्षमा २ करोड ५४ लाख ४० हजार मूल्य बराबरको १ सय २७ मेट्रिक टन चिराइतो, १ करोड १३ लाख २३ हजार दुई सय मूल्य बराबरको ६७ मेट्रिक टन मजिठो र १३ लाख ६५ हजार तीन सय मूल्य बराबरको १२ मेट्रिक टन पदम चाल भारत निर्यात भएको छ ।
चिराइतो नेपालको एक हजार दुई सयदेखि तीन हजार मिटर उचाइको पहाडी भूभागमा पाइने बहु औषधीय गुण युक्त जडीबुटी हो । ‘स्वरसिया चिराता’ वैज्ञानिक नाम भएको चिराइतो महँगोमा बिक्री हुने जडीबुटी मानिन्छ । आयुर्वेदमा यसको औषधीय गुणको वर्णन गरिएको छ ।
औलोको ज्वरो, रगतमासी, महिनावारी गडबडी, कब्जियत, घाउ, खटिरा आदि रोगमा यसको सेवन औषधि हुने बताइएको छ । तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरलगायतका जिल्लामा यसको प्रचुर उत्पादन हुँदै आएको छ ।
मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरा आदि जिल्लामा पनि प्राकृतिक रूपमै चिराइतो उम्रने गरेको पाइन्छ ।
शक्तिबर्द्धक औषधिका रूपमा मानिएको पदम चाल नेपालको उच्च हिमाली भेगमा पाइने जडीबुटी हो । दोलखा, गोरखा, लमजुङ, म्याग्दी, रुकुम, पर्वत, कालीकोट, दैलेख, जाजरकोटलगायतका जिल्लामा पर्याप्त मात्रामा पाइने यसको व्यावसायिक खेतीसमेत हुन थालेको छ । मजिठो पनि नेपालको पहाडी भेगमा पाइने जडीबुटी जन्य वनस्पति हो । प्यारालाइसिस, अल्जाइमर्स, छाला सम्बन्धी लगायतको रोगमा यसको प्रयोग हुने गरेको छ ।
पूर्वी नाका काँकडभिट्टाबाट आव २०७९/०८० मा १५ लाख २१ हजार मूल्यको १३ मेट्रिक टन अमला, ११ लाख २२ हजार मूल्य बराबरको २८ मेट्रिक टन चुत्रोको बोक्रा, एक लाख ६६ हजार मूल्य बराबरको एक हजार एक सय मेट्रिक टन कुरिलो, आठ लाख ८५ हजार मूल्य बराबरको २५ मेट्रिक टन धुलो धुप, ४० हजार मूल्य बराबरको नागबेली, ११ हजार मूल्य बराबरको सिस्नोको जरा, नौ लाख २४ हजार मूल्य बराबरको १४ मेट्रिक टन रिठ्ठा र एक लाख ९५ हजार मूल्य बराबरको एक हजार पाँच सय मेट्रिक टन जटामसी लगायतका भारततर्फ निर्यात प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको तथ्यंकमा उल्लेख छ ।