७४ औँ हलो क्रान्ति दिवस: पण्डित तोयनाथ अधिकारी र खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

७४ औँ हलो क्रान्ति दिवस: पण्डित तोयनाथ अधिकारी र खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन १३, २०८०

काठमाडौँ ।   ७४ औँ हलो क्रान्ति दिवसका अवसरमा पण्डित तोयनाथ अधिकारी र खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरिएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र विभाग,  हलो क्रान्ति नेपाल र तोयनाथ स्मृति प्रतिष्ठानको आपसी सहकार्यमा  ७४ औँ हलो क्रान्ति दिवसका अवसरमा  'बहुआयामिक हलो क्रान्ति (२००६)'  विषयक एकदिवसीय विचार गोष्ठीको उक्त माग गरिएको हो । 

गोष्ठीको समुद्घाटन  प्रमुखअतिथि  तथा  माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले  गर्नुभएको थियो ।  गोष्ठीको पहिलो सत्रमा  बोल्दै उहाँले भन्नुभयो, '२००६ साल, साउन ११ गते  लमजुङको दुराडाँडामा भएको हलो क्रान्तिले सांस्कृतिक ,राजनीतिक र सामाजिक क्रान्ति  चेतनाको उद्घोष गरेको थियो ,तत्कालीन समयमा  ब्राम्हणले हलो जोत्नु भनेको  असामान्य कुरा नै मानिन्थ्यो ।

हलो क्रान्ति  जातीय  छुवाछुत अन्धविश्वास  ,उत्पीडन ,शोषण र दमन विरुद्धको  एउटा प्रतीकात्मक विद्रोह थियोे  । उहाँले ऐतिहासिक हलो क्रान्तिको इतिहासलाई जीवित बनाउन दुराडाँडामा हलो स्तम्भ र हलो पार्क निर्माण लगायतका काममा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   यस हलो क्रान्तिमा २७ जना ब्राम्हणले हलो जोतेर ऐक्यबद्धता प्रकट गरेका थिए ।  यसको प्रभाव देशका विभिन्न स्थानमा परेको थियोे । तत्कालीन  राणा शासकमा ठुलै खैलाबैला मच्चिएको थियोे ।

यसैक्रममा  प्रमुख अतिथि महतले हलो क्रान्तिका  नेतृत्वकर्ता  पण्डित तोयनाथ अधिकारी, शेषकान्त अधिकारी , हरिभक्त  र श्रीकान्त अधिकारीलाई मरणोपरान्त सम्मान गर्नुभएको थियोे । सो सम्मान पण्डित तोयनाथ अधिकारीका  बुहारी सुशीला अधिकारी, लेफ्टिनेन्ट शेषकान्त अधिकारीका छोरा डा. पूर्ण कान्त अधिकारी, मुखिया  हरिभक्तकी बुहारी लक्ष्मी पौडेल र श्रीकान्त अधिकारीकी श्रीमती गायत्री अधिकारीलाई हस्तान्तरण  गरिएको थियो । 

यसैगरी विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले  ७४ वर्षअघि दुराडाँडामा भएको हलो क्रान्ति शान्तिपूर्ण सांस्कृति क्रान्ति थियोे भन्नुभयो ।  उहाँले मानव सभ्यतामा  श्रम र शिल्पको  आधारमा  वर्णाश्रम व्यवस्थाभित्र  जातीय छुवाछूत ,विभेद र  अन्यायको उदय भएकाले त्यसको  प्रतिरोधका लागि  हलोक्रान्ति  भएको उल्लेख गर्नुभयो ।

यसैक्रममा माननीय  पूर्व सहायक मन्त्री डा. रामचन्द्र अधिकारीले त्यतिबेला समावेशी र समतामूलक समाज निर्माण गर्न  हलो क्रान्तिको  ऐतिहासिक  भूमिका  थियोे भन्नुभयो ।

यसैगरी सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले हलो क्रान्ति तत्कालीन समयको विभेद विरुद्धको  सांस्कृतिक क्रान्ति थियोे । यो राणा शासनविरुद्ध साङ्केतिक  उद्घोष पनि थियोे । यसले मुलुक भरि आफ्नो प्रभाव पारेको थियोे ।यसैक्रममा  पण्डित तोयनाथ अधिकारी र खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग नगरप्रमुख कोइरालाले अघि सार्नुभयो ।

 हलो क्रान्तिका  एक नेतृत्वकर्ता श्रीकान्त अधिकारीको मरणोपरान्त सम्मान  ग्रहण गर्दै उहाँकी श्रीमती  गायत्री अधिकारीले ' हलो क्रान्तिको इतिहासलाई  नबङ्ग्याइ निष्पक्ष ढङ्गबाट लेख्नुपर्ने कुरामा जोड दिनुभयो ।

यसैगरी श्रीप्रसाद अधिकारीले हलो क्रान्तिको  यथार्थ इतिहासलाई  जोगाइराख्न  प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो ।

यसै  सिलसिलामा 'राष्ट्रिय दिवस हलो क्रान्ति'  शीर्षकको कविता मुक्तिनाथ घिमिरे र ' तोयनाथ स्मृति' शीर्षकको कविता शिवराज पौडेलले वाचन गर्नुभयो । 

यस गोष्ठीको पहिलो सत्रलाई समापन गर्दै  तोयनाथ स्मृति प्रतिष्ठानका अध्यक्ष डा. लक्ष्मी कान्त पौडेलले हलो क्रान्ति नेपालको सम्पदा भएकाले यसको  जीवन्तताका लागि दुराडाँडामा हलो पार्क र हलो स्तम्भ निर्माण गर्न प्रतिष्ठान लागि परेको बताउनुभएको थियोे ।

यस गोष्ठीमा  दोस्रो सत्रको अध्यक्षता प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले गर्नु भएको थियोे ।

यस अवसरमा दीपक अधिकारीले  'बहुआयामिक हलो क्रान्ति (२००६) विषयक  कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।  कार्यपत्रमा लमजुङ दुराडाँडामा २००६ सालमा भएको हलो क्रान्तिको प्रारम्भ इतिहास ,यसको पक्ष र विपक्षका मत,आन्तरिक र बाह्य प्रभाव तथा  परिणामबारे उल्लेख गरिएको छ ।
 

यसैक्रममा कार्यपत्र माथि टिप्पणी गर्दै नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले लमजुङको दुराडाँडामा भएको  हलो क्रान्ति गण्डकी प्रदेशमा मात्रै सीमित नभएर यसको प्रभाव देशको कुनाकाप्चासम्म राजनीतिक र सामाजिक ढङ्गले  परेको  बताउनुभयो । 

यसैगरी  राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। जगदीशचन्द्र पोखरेलले कार्यपत्र माथि चर्चा गर्दै  रुढीवादी र  छुवाछूत विरुद्ध हलो क्रान्ति चेतनशील र क्रान्तिकारी भावनाको उपज थियोे । साथै,राजनीतिक र सांस्कृतिक क्षेत्रमा यसको व्यापक प्रभाव परेको थियोे भन्नुभयो ।

यसैक्रममा  राससका पूर्वअध्यक्ष  कुलचन्द्र वाग्लेले हलो क्रान्तिको सामाजिक र  सांस्कृतिक पक्ष  नेपाली समाजमा व्यापक परेको बताउनुभएको थियोे ।

 यसैक्रममा डा. उमाकान्त अधिकारीले हलो क्रान्तिले  सांस्कृतिक क्षेत्रमा ठुलै हलचल ल्याएको र यस  चेतनाले रूढी ग्रस्त समाजलाई झट्का दिएको थियोे भन्नुभयो । यस्तै रामबाबु अधिकारीले  हलो क्रान्ति कसैले बिर्सन नमिल्ने एउटा महत्त्वपूर्ण उपलब्धि हो भन्नु भएको थियोे ।

गोष्ठीको दोस्रो सत्रको समापनका क्रममा प्रज्ञा(प्रतिष्ठानका परिषद् सदस्य डा.कौशिला रिसालले लमजुङको दुराडाँडामा ७४ वर्षअघि  भएको  हलो क्रान्ति श्रम र समाजसँग  अन्तर सम्बन्धित रहेको र यसबारे  प्रज्ञा-प्रतिष्ठानमा पहिलोपटक विमर्श हुनु इतिहासको सम्मान हो भन्नुभयो । उहाँले  कृषि क्रान्तिको सन्दर्भ उठिरहेको आजको समयमा हलो क्रान्तिले  विशेष अर्थ राख्ने, हलो क्रान्तिको सुरुवात गर्ने पण्डित तोयनाथ अधिकारीलगायत चारजना नेतृत्व कर्ताहरू साँच्चिकै कृषि क्रान्तिका अगुवा  हुन् भन्नुभयो । श्रम र सीपलाई समाजका हरेक जातजाति र समुदायसँग जोडेर लैजादा सार्थक हुने र यसले  सामाजिक विकासमा सहयोग पुग्ने कुरा उल्लेख गर्नुभयो  

   अन्त्यमा, हलो क्रान्ति दिवसका सन्दर्भमा 'आयोजित  बहुआयामिक हलो क्रान्ति (२००६)'  विषयक गोष्ठीले यसको इतिहास र उपलब्धिलाई स्थापित गर्न सरकारले सम्पदाको रूपमा अघि बढाउनु पर्ने  गोष्ठीले निष्कर्ष  निकालेको थियो ।