लोकसंवाद संवाददाता | समाचार | साउन १६, २०८०
काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्। मंगलबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तपाईंलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छ’, खापुङद्वारा मंगलबार थापालाई दिइएको नियुक्ति सम्बन्धी पत्रमा भनिएको छ, ‘मुख्यमन्त्री पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाईसहित कार्यकालको सफलताको कामना गर्दछु।’
मुख्यमन्त्रीका लागि थापाले मंगलबार ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए। उनले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट समर्थनसहितको दाबी पेस गरेका थिए।
ती पार्टीका क्रमशः नेपाली कांग्रेस २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी १ जना सांसद छन्। थापा गत असार ३१ गते पनि मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षरमा उनले दाबी पेस गरेका थिए।
त्यसरी मुख्यमन्त्री भएका उनलाई सर्वोच्च अदालतले २२औं दिनमा पदमुक्त गरिदिएको थियो। सर्वोच्चले साउन ११ गते सुनाएको फैसलामा असार २१ को प्रक्रियालाई असंवैधानिक भनेको थियो। यसपटक भने सभामुख गौतमले पदबाट राजीनामा दिएका छन्। गौतमको राजीनामासँगै सो पक्षमा ४७ सांसद पुगेका हुन्।