लोकसंवाद संवाददाता | समाचार | साउन १८, २०८०
अमेरिका। नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले हरेक दुई बर्ष प्रदान गर्दै आएको 'नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार' यस बर्ष दुईजनालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
यस बर्षको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार दिलमाया शाही सन्धान अनलाइन जुम्लालाई र कमला तामाङ ‘पाख्रिन’ कान्तिपुर टेलिभिजन सिन्धुपाल्चोकलाई प्रदान गर्ने निर्णय भएको नेपाल अमेरिका पत्रकार संघ (नेजा) का महासचिव बाबुराम दाहालले जानकारी दिनु भयो ।
नेपाल पत्रकार महासंघसँगको समन्वयमा गठन गरिएको पुरस्कार सिफारिस समितिद्वारा गरिएको सिफारिसको आधारमा दुई जनालाई पुरस्कारको लागि छनौट गरिएको नेजाले जनाएको छ ।
पुरस्कार सिफारिस समितिले २०७८ साल भदौदेखि २०८० साल वैशाख ५ गतेसम्म प्रकाशन र प्रसारण भएका तीनवटा सामग्रीसहित आवेदन दिन सार्बजनिक सूचना आह्वान गरेको थियो । तोकिएको समयमा समितिलाई प्राप्त २२७ वटा आवेदन मध्येबाट ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकारहरु मध्येबाट उत्कृष्ट दुई जनालाई पुरस्कारको लागि छनौट गरिएको महासचिव दाहालले बताउनु भयो । नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारको रकम २ लाख २२ हजार २ सय २२ रुपैयाँ २२ पैसा रहेको छ ।
सन २०११ मा स्थापित नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारको राशी शुरुमा १ लाख ११ हजार १ सय ११ पैसा ११ भएकोमा सन २०१८ देखि बृद्धि गरेर २ लाख २२ हजार २ सय २२ रुपैयाँ २२ पैसा बनाइएको थियो ।
'नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार – २०२२' नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेपालमा एक कार्यक्रम आयोजना गरि बितरण गरिने नेपाल अमेरिका पत्रकार संघ ले जनाएको छ ।