लोकसंवाद संवाददाता | समाचार | जेठ २१, २०७६
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्युरो गठन पहिल्यै केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउने गृहकार्य गरेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साढे तीन घन्टा भएको छलफलमा दुई अध्यक्षबीच पोलिटब्युरो गठन हुनु पहिल्यै सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजन गर्ने समझदारी भएको हो । यसअघि पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने गरी नेताहरूले सूची टुंग्याएका थिए ।
छलफलमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल पनि सहभागी थिए । महासचिव पौडेलले तयार पारेको कार्यविभाजनको प्रारम्भिक सूचीमा केन्द्रित रहेर ओली र प्रचण्डले छलफल गरेका थिए ।
‘दुई अध्यक्षबीच मंगलबार केन्द्रीय सचिवालय बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउने गरी छलफल भएको छ’। अध्यक्ष प्रचण्डनिकट स्रोतले भन्यो, ‘वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर सचिवालय बैठकमा कार्यविभाजन प्रस्ताव लैजाने दुई अध्यक्षको समझदारी छ ।’ मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय सचिवालय बैठक बस्दै गरेको समाचार आजको नयाँपत्रिका दैनिकले समाचार प्रकाशित छ । ।