लोकसंवाद संवाददाता | समाचार | साउन १९, २०८०
काठमाडौँ । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले साउन १८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभएको शस्त्र प्रहरी बलले जनाएको छ ।
शस्त्र प्रहरी बलका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षा हेतु विद्यमान समयमा राष्ट्रिय सुरक्षाका सम्बन्धमा समयमै सम्बोधन गर्दै लगिनुपर्ने विभिन्न विषयहरु रहेको हुँदा सम्पूर्ण सुरक्षा निकाय लगायत सरोकारवाला निकायहरु बीच एकीकृत आपसी समन्वयका साथ सहकार्य गर्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने र राष्ट्रिय सूचना प्रणालीको सुरक्षातर्फ पनि सचेत हुन जरुरी रहेको बताउनु भयो ।
सशस्त्र प्रहरी बल नेपालले देशको सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आईरहेको बताउनुहुँदै सीमा सुरक्षा तथा व्यवस्थापनमा अझ बढी प्रविधि तथा डिजिटल बोर्डरको अवधारणालाई समेट्दै अघि बढ्नुपर्ने समेत बताउनुभयो ।
निरीक्षण भ्रमणका क्रममा राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले प्रधान कार्यालयबाट सम्पादन भइरहेका विविध गतिविधि तथा काम कारवाहीहरुको जानकारी लिनुका साथै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्थित संग्रहालय र केन्द्रीय समन्वय कक्षको अवलोकन समेत गर्नुभएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायण दत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा बाहिनी मुख्यालयका सभापतिहरुसँग प्रत्यक्ष भिडियो मार्फत राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा छलफल तथा अन्तरक्रिया गर्नुभएको
थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्र र नागरिकको सेवा र सुरक्षामा परिचालित सशस्त्र प्रहरी बल नेपालले नेपाली जनताले अपेक्षा गरे बमोजिमको सुरक्षा प्रदान गर्दै नेपालको भौगोलिक सीमाभित्र मात्र नभई अन्तर्राष्ट्रिय सुरक्षामा समेत आफ्नो उपस्थिती जनाउँदै आइरहेको बताउनुभयो ।
बैरागीले संगठनले नेपाल सरकार तथा मजकुर गृहमन्त्रालयका नीति, कार्यक्रम, आदेश, निर्देशनहरूलाई अक्षरस पालना गरी अन्य सुरक्षा निकायसँग सहकार्य र समन्वय गर्दै संवेदनशिल र चुनौतीपूर्ण राष्ट्रिय सुरक्षाको जिम्मेवारीमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो ।
महानिरीक्षक अर्यालले राष्ट्रहितको संरक्षण र नागरिकको सुरक्षामा आफुलाई समर्पित गर्न संगठनले हरेक पक्षबाट आफूलाई बलियो रुपमा प्रस्तुत गरिरहेको उल्लेख गर्नुहुँदै जिम्मेवारी अनुरुपको भूमिका निर्वाह गर्न थप जनशक्ति र श्रोत साधन उपलब्ध गराउने कार्यमा रचनात्मक, पहलकदमी र भूमिका रहने विश्वास समेत व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदीले सशस्त्र प्रहरी बल नेपालको परिचय, परिचालन र राष्ट्रिय सुरक्षा नीति लगायत विद्यमान सुरक्षा चुनौतीहरु, सीमा सुरक्षा, विपद् व्यवस्थापन, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, औद्योगिक सुरक्षा, हुल तथा दंगा व्यवस्थापन, रेलवे सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको भूमिका सम्बन्धमा प्रस्तुतीकरण
प्रस्तुत गर्नुभएको थियो ।