माफियासँगको उठबस,अपारदर्शी जीवनशैली र सांगठनिक अराजकता बीच‘यथास्थिति’मा रुपान्तरण !?

लोकसंवाद टिप्पणी

माफियासँगको उठबस,अपारदर्शी जीवनशैली र सांगठनिक अराजकता बीच‘यथास्थिति’मा रुपान्तरण !?

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २२, २०८०

नेपाली समाजमा ‘मरिच किन चाउरियो, आफ्नै रागले’ भन्ने एउटा उखान चर्चित छ । यो उखान नेपालका कुनै पार्टीमा लागू हुन्छ भने त्यो माओवादी पार्टीमा लागु हुन्छ । पार्टी संसदवादमा फसेको, क्रान्तिका एजेण्डा छाडेको र दक्षिणपन्थी भएको भन्दै पार्टी आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने भन्दै अलग भएका मोहन वैद्यको पार्टी अब दिउँसै लाइट बालेर खोज्नुपर्ने अवस्थामा पुगेका छन् । 

अर्कोतिर शान्ति र संविधान निर्माणसँगै पार्टीका धेरै लक्ष्यहरु पूरा भएको र अब साम्यवादको आधार तयार पार्ने भन्दै संसदीय राजनीतिमा लागेका प्रचण्डको पार्टी पार्टी पनि अब संसदमा सानो हैसियतमा तेस्रो छ । यही गति र अवस्था कायम रहने हो भने अब एक–दुई चुनावपछि माओवादी संसदभित्र पनि लाइट बाले रै खोज्नुपर्ने अवस्थामा पुग्ने निश्चित छ । माओवादी पार्टीभित्र देखिएको यथास्थिति वादी चरित्र, सांगठनिक अराजकता, व्यक्तिगत मनोकांक्षाका कारण माओवादी पार्टी केबल अब भजाएर खाने साधनका रुपमा मात्रै अब जीवित छ । विचार, लाइन, कार्यदिशा, रणनीति र कार्यनीतिका हिसाबले माओवादी आन्दोलन यतिबेला मृत प्राय बनेको छ । यही क्रममा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गरेको छ । गत बुधबारबाट सुरु भएको माओवादी बैठक पाँच दिन चलेर आइतबार सकिएको छ । 

बैठकले नेताहरुको कार्यविभाजन समेत गर्दै ‘जनतासँग विशेष रुपान्तरण अभियान’ को घोषणा गरेको हो । अभियानमा अध्यक्ष प्रचण्डदेखि सबै केन्द्रीय नेताहरु वडावडामा पुगेर जनतासँग जोडिने कुरा बताएका छन् । 

पार्टी अध्यक्ष प्रचण्डको चर्को आलोचना तथा पार्टी अध्यक्ष प्रचण्डले पनि पार्टी कमजोर भएको तथा पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामको समेत प्रचार नगरेको भन्दै नेताहरुको चर्को आलोचना गर्दै सुरु गरेको बैठक अन्ततः प्रचण्ड जिन्दावाद ! को नारा घन्काउँदै सकिएको छ । 

प्रचण्डले पाँच दिनसम्म चलेको बैठक सोचेको भन्दा सजीव र जीवन्त भएको भन्दै पार्टी एक ढिक्का भएको बताए । झण्डै डेढ वर्षपछि बसेको बैठकमा नेताहरुले पार्टी नेतृत्व, संगठनमा उत्पन्न भएको भद्रगोल, नेताहरुको जीवनशैली, भ्रष्टाचार तथा सुनकाण्डमा नेताहरुको नाम जोडिएको लगायतका विषयमा नेताहरुको चर्को आलोचना गरेका थिए । 

‘यो बैठकमा भएका बहस र छलफलबाट हामी नयाँ सम्भावना र निष्कर्षमा सफलताका साथ आइपुगेका छौँ’, प्रचण्डले भने, ‘हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले सुशासन, सामाजिक न्याय र सम्बृद्धितर्फ लैजाने काम गरेर जनतामा नयाँ भावना जगाएको छ ।’

बैठकको समापनका क्रममा उनले बैठकले पार्टीभित्रका विभिन्न प्रश्न, अन्योल, आशंका र नेतृत्व बीचका अन्तरमा खुलेर छलफल भएको भन्दै जनवादको उच्चतम थलोका रुपमा बैठकमा बहस र छलफल भएको बताए । 

अध्यक्ष प्रचण्डले नयाँ अभियानसहित जनतामा जाने निष्कर्षमा पुगेको भन्दै जनतासँग माओवादी विशेष अभियान भनेर जनतासँग जोडिने र ६ हजार ७ सय वडामा पुगेर तीन महिने अभियान चलाउने निष्कर्षमा पुगेको उल्लेख गरे । उनले आफू पनि सातवटै प्रदेशमा एकएक वडामा पुग्ने घोषणा समेत गरे । 

माओवादीको नाममा लुटि खाने, अवसरवादी हरुको माओवादीमा हाबी छन् । जसले पद प्रतिष्ठा र चाकडीभन्दा केही रोज्दैन उ नै सबैभन्दा ठूलो माओवादी आन्दोलनको पक्षपातीका रुपमा देखिन थालेका छन् । नेताको चाकडीबाट नेता बनेकाहरूले जनतासँग जोडिन आवश्यक ठानेनन्। विगतमा पनि माओवादीले जनतातिर फर्किने अभियान नचलाएका होइनन् । तर त्यस्ता अभियान प्रभावकारी बन्न सकेनन् मात्रै होइन, असफल नै भए ।

उनले भने, ‘म पनि सात वटा प्रदेशका सात वटा वडामा पुगेर जनताको भावना बुझ्ने र सबै केन्द्रीय सदस्य वडामा पुग्ने निष्कर्ष यो बैठकको छ । एउटा पनि जनताको घर नछोड्ने, सहिद बेपत्ता, सबै घर परिवारसँग तीन महिने अभियान चलाएर विधान सम्मेलनमा फर्कनेछौँ । 

‘अब यो बैठकबाट निक्लिँदै गर्दा हामी एक ढिक्का भएका छौं, विधि पद्धतिभन्दा बाहिर जाने छैनौं भन्न सक्छौं । सरकारका काम जनतासँग स्थापित गरेर परिवर्तनको स्वामित्व लिने गरी जनतामा जानेछौँ, विचार र राजनीतिमा मात्र होइन, हामी सबैका लागि यो खुसी र भावनामा पनि एक भएका छौ’, उनले भने, ‘माओवादी अब फेरि जाग्नेछ । जनताको भावना र चाहाना सम्बोधन गर्न बैठकले नयाँ उज्यालो दिएको छ ।’

माओवादीमा विगतदेखि नै बैठकहरुमा नेतृत्वको तीव्र आलोचना हुँदै आएको छ । बैठकपछि अध्यक्ष प्रचण्डले केही न केही समाधान खोज्दै गतिशील रुपमा पार्टी बनाउने घोषणा गर्छन् । तर विगतदेखि अहिलेसम्म माओवादीमा राजनीतिक समस्या र संकटको अवस्था देखिँदै आएको छ । जसले गर्दा रुपान्तरण केबल नारा बन्ने गरेको छ भने यथास्थितिमा रमाउने, सिंहदरबार, राजधानी, प्रदेशका राजधानी र सहरमा केन्द्रित हुने र जनतासँग एकाकार नहुने पद्धति विकास भएको छ । तस्कर, माफियासँगको उठबस, नेताहरुको अपारदर्शी जीवनशैली र सांगठनिक अराजकताले माओवादी उभिन सक्ने अवस्थामा नै छैन ।

त्यसका लागि माओवादीले सांगठनिक पुनर्संरचना गर्न सक्छ कि सक्दैन भन्ने मूल प्रश्न हो । अहिले सकिएको केन्द्रिय समिति बैठकलाई हेर्ने हो भने माओवादी फेरि पनि रुपान्तरण हुन सम्भव छैन भन्ने देखाएको छ । छाता आकारको भद्दा सांगठनिक संरचना, जनता र तल्ला कमिटीसँग जवाफदेही बन्न नपर्ने हैकम वादी सांगठनिक व्यवस्थाका कारण माओवादीका ठूलो संख्यामा नेता कार्यकर्ता, युद्धदेखि पार्टीलाई स्थापित गरेको पंक्ति निराश र पलायन भएको छ ।

माओवादीको नाममा लुटि खाने, अवसरवादी हरुको माओवादीमा हाबी छन् । जसले पद प्रतिष्ठा र चाकडीभन्दा केही रोज्दैन उ नै सबैभन्दा ठूलो माओवादी आन्दोलनको पक्षपातीका रुपमा देखिन थालेका छन् । नेताको चाकडीबाट नेता बनेकाहरूले जनतासँग जोडिन आवश्यक ठानेनन्। विगतमा पनि माओवादीले जनतातिर फर्किने अभियान नचलाएका होइनन् । तर त्यस्ता अभियान प्रभावकारी बन्न सकेनन् मात्रै होइन, असफल नै भए । अहिले माओवादीले घोषणा गरेको अभियान पनि केबल प्रचारबाजीका लागि र केही दिन रमाइलोका लागि मात्रै हुने त होइन भनेर प्रश्न केही केन्द्रीय सदस्यले उठाएका छन् ।