लोकसंवाद संवाददाता | समाचार | साउन २४, २०८०
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ ।
जिल्ला अदालत काठमाडौंले आज निजहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई अनुमति दिएको हो ।
सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सिआइबीले सरकारी कागजात कीर्ते र सङ्गठित अपराधमा निजहरूमाथि अनुसन्धान गरिरहेको छ ।
सो प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सिआइबीको हिरासतमा रहेका छन् ।