लोकसंवाद संवाददाता | समाचार | जेठ २१, २०७६
काठमाडौं । नेपालका वाणिज्य बैंकका सिइओको तलबलाई लिएर राष्ट्र बैंकले परिपत्र जारी गर्नुपर्ने अवस्थाको पनि स्रृजना भयो । राष्ट्र बैंकले सिलिंग पनि तोक्यो । तर त्यो कार्यान्वयन भएन् ।
तलबका कारण हुने सिइओको स्थानान्तरणलाई रोक्न राष्ट्र बैंकले कम्तीमा ६ महिना काम गर्नैपर्ने नियम बनायो । पछिल्लो समय मेगा बैंकबाट नबिल बैंक पुगेका अनिल केशरी शाहको स्थानान्तरणलाई मध्यनजर गरी राष्ट्र बैंकले यो नियम लेराएको हो ।
आखिर कति हुन्छ त बैंकका सिइओको तलबका ?
नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाँडेले गत वर्ष तलब र भत्ताका रुपमा २ करोड ६५ लाख १० हजार रुपैयाँ कमाएका छन । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरणमा सीइओ पाँडेले सो रकम बुझेको देखिन्छ ।
सीइओ पाण्डेले १ करोड ४ लाख ७८ हजार रुपैयाँ तलब, १ करोड ३० लाख २५ हजार रुपैयाँ भत्ता, १९ लाख ५९ हजार रुपैयाँ दशैं भत्ता र १० लाख ४८ हजार रुपैयाँ सञ्चय कोष गरी बैंकबाट कूल २ करोड ६५ लाख १० हजार रुपैयाँ लिएका हुन् ।
मासिक रुपमा हेर्दा पाँडेले बैंकबाट २२ लाख ९१ हजार ६६ रुपैयाँ लिएको देखिन्छ
यस हिसाबले इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाँडे नै सर्वाधिक कमाउने व्यक्ति हुन् ।
तर बैंकको नाफा १० प्रतिशतले घटेको र खराब कर्जा ३०० प्रतिशतले बढेको अवस्थामा सञ्चालक समितिमा यी महंगा सीइओको बारेमा प्रश्न उठ्न थालेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक सीइओलाई धेरै तलबभत्ता दिने दोस्रो बैंकमा पर्छ । गत वर्ष सीइओ रहेका जोसेफ सिल्भानुसले बैंकबाट २ करोड ५१ लाख ५५ हजार रुपैयाँ तलब भत्ताका रुपमा बुझेका थिए ।
हिसाब गर्दा मासिक रुपमा यो २० लाख ९६ हजार २ सय ५० रुपैयाँ हुनआउँछ ।
नविल बैंक सीइओलाई धेरै तलबभत्ता दिने तेस्रो बैंक हो । सर्वाधिक नाफा कमाउने नविल बैंकले गत वर्ष सीइओको तलब र भत्तामा २ करोड ७ लाख रुपैयाँ खर्च गर्यो ।
मासिकरुपमा यो १७ लाख २५ हजार रुपैयाँ हुनआउँछ ।
चौथो नम्बरमा ग्लोबल आइएमइ बैंक आउँछ । गत वर्ष सीइओ रहेका जनक शर्मा पौडेलले बैंकबाट तलब र भत्ता गरी १ करोड ९६ लाख ९३ हजार रुपैयाँ बुझेको बैंकले प्रकाशित गरेको वार्षिक वित्तीय विवरणमा उल्लेख छ ।
यो मासिकरुपमा १६ लाख ४१ हजार ८३ रुपैयाँ हुनआउँछ ।
बैंकर्स संघका अध्यक्ष समेत रहेका नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना पाँचौ धेरै तलबभत्ता खानेमा पर्छन् । ढुंगानाले गत वर्ष बैंकबाट १ करोड ८३ लाख ५८ हजार रुपैयाँ बुझेको देखिन्छ ।
मासिक रुपमा हिसाब गर्दा यो १५ लाख २९ हजार ८ सय ३३ रुपैयाँ हुनआउँछ । ।
सानिमा बैंकका भुवन दाहाल छैठौं बढी तलबभत्ता खाने सीइओमा पर्छन् । गत वर्ष दाहालले सानिमा बैंकबाट १ करोड ७४ लाख रुपैयाँ लिएका छन् ।
मासिकरुपमा यो १४ लाख ५० हजार रुपैयाँ हो ।
सातौं महंगो सीइओमा प्रभु बैंकका सीइओ अशोक शेरचन पर्छन् । शेरचनले गत वर्ष बैंकबाट १ करोड ६७ लाख ६१ हजार रुपैयाँ लिएका छन् । मासिकरुपमा यो १३ लाख ९६ हजार ७ सय ५० रुपैयाँ हो ।
सीइओलाई धेरै तलबभत्ता दिने बैंकहरुको सूचिमा सिभिल बैंक आठौं स्थानमा छ । बैंकले सीइओ गोविन्द गुरुङलाई गत आर्थिक वर्षमा १ करोड ६६ लाख रुपैयाँ दिएको छ ।
मासिकरुपमा हेर्दा यो १३ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ हो ।
धेरै तलबभत्ता खाने सीइओहरुको सूचिमा सुनिल केसी नवौं स्थानमा छन् । एनएमबि बैंकबाट गत वर्ष केसीले १ करोड ६३ लाख २२ हजार रुपैयाँ लिएका छन् ।
मासिकरुपमा हेर्दा यो १३ लाख ६० हजार १ सय ६६ रुपैयाँ हो ।
सीइओलाई धेरै तलबभत्ता दिने बैंकको सूचिमा हिमालयन बैंक १०औं स्थानमा छ । यो बैंकले सीइओ अशोक राणालाई गत वर्ष १ करोड ५५ लाख ७७ हजार रुपैयाँ दिएको छ ।
मासिकरुपमा हेर्दा यो १२ लाख ९८ हजार ८३ रुपैयाँ हो ।
नेपालमा २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । सरकारी स्वामित्वका ३ वटा बैंकलाई छाड्ने हो भने अधिकांश बैंकका सीइओले वर्षमा १ करोड रुपैयाँभन्दा बढी तलबभत्ताबापत बैंकबाट लिन्छन् ।
यी उपलब्ध तथ्यको विश्लेषण गर्ने हो भने माथि उल्लेखित उच्च दश सिइओको तलब करीव १३ लाख रुपैंया मासिक रहेको देखिन्छ ।