लोकसंवाद संवाददाता | दृष्टिकोण | साउन २७, २०८०
मानिसहरुको कसरी मन परिवर्तन हुन्छ ? अनि मन के हो ? शरीर र मनका बिचमा के सम्बन्ध छ ? मन र मुटु एउटै हो कि फरक हो ? मन परिवर्तन मनोवैज्ञानिक कारणले हुन्छ कि शारीरिक कारणले हुन्छ ? शरीर नै नभए कसरी प्राण बस्छ र प्राणसँग अटुट सम्बन्ध रहेको मन र मुटुको फरक र समानताको कुरा आउँछ ।
उज्जैनका महाराज विक्रमादित्यका दाजु थिए राजा भर्तृहरि । मानिन्छ, तिनै महाराजा विक्रमादित्यको नामबाट विक्रम सम्बत् सुरु भएको हो । भोग विलास र वैराग्यको पछिल्लो उदाहरणमा राजा भर्तृहरिको उदाहरण आउँछ । तिनै राजा भर्तृहरिले त्रि शतक अर्थात् नीति शतक, शृङ्गार शतक र वैराग्य शतक रचना गरे । राजा भर्तृहरिका बारेमा भनिन्छ, पहिले पिङ्गला नामक अत्यन्त सुन्दरी महिलासँग अत्यन्त विलासी रहे तर पछि पिङ्गलाको चरित्र थाहा पाएपछि उनमा यस्तो वैराग्य उब्जियो कि उनले सम्पूर्ण राजपाठ भाइ विक्रमादित्यलाई छोडेर वन जंगलमा गई तपस्यारत भए र गुरु गोरखनाथसँग दीक्षा लिई आफूलाई वैरागी बनाई पहिले नीति शतक र शृङ्गार शतक रचना गर्ने भर्तृहरिले पछि वैराग्य शतक रचना गरे भन्ने कुरामा विश्वास लाग्दैन तर सत्य हो ।
शृङ्गार शतकमा जुन भोग विलासलाई उनले स्वर्गीय आनन्दको रुपमा व्याख्या गरेका छन्, त्यसैलाई पछि गएर नर्कभन्दा पनि अझ गए गुज्रेको ठानेका छन् । भर्तृहरि रचित त्रिशतक पठनीय, मननीय र विचारणीय छन् । आज मेरो जिज्ञासा के मात्र हो भने मानिसमा कसरी आत्मालोचनाको अवस्था आउँछ ? कसरी मानिसमा अन्तर्यमा के त्यस्तो रासायनिक परिवर्तन आउँछ जसले उसका पुराना सबै अनुभवहरुलाई परिमार्जित गरेर नयाँ जीवनको खोजी सुरु हुनसक्छ ?
वास्तवमा शरीर त मानिसका लागि एउटा आत्माले बास बस्ने ठाउँ हो , आत्माले विवेक प्रयोग गर्नका लागि साधन मात्र हो जहाँ चेतनाले बास बस्न पाउँछ । चेतनाले आफूलाई परिमार्जित गर्न पाउँछ र जीवनको रहस्यलाई आफैँमा आत्मसात् गर्न पाउँछ । उपनिषद्हरूले यस्ता दार्शनिक प्रश्नहरूमा मार्मिक उदाहरणहरु सहित शरीर, मन, बुद्धि, आत्मा, परमात्मा , ब्रम्ह , परब्रह्मको लाक्षणिक समस्या र समाधान दिएका पाइन्छन् ।
पौरस्त्य साहित्यहरुमा जीवन, जगत, शरीर, आत्मा, ब्रह्म, विद्याका सम्बन्धमा अनेक समस्या र समाधानका उदाहरण सहित जानकारी दिएको पाइन्छ । महाभारतभित्र समेटिएको श्रीकृष्ण र अर्जुनका बिचमा युद्ध स्थलमा भएको वार्तालापले जीवनको दर्शनलाई लाक्षणिक रुपमा व्यक्तिमा नै निहित रहेका अपरिमित गुणहरूको वयान गरिएको छ ।
आजसम्मका सबै गुण युक्त पदार्थ र प्राणीहरूको सर्वश्रेष्ठता प्रत्येक व्यक्तिमा निहित भएको कुरालाई विश्वरुप देखाउने निहुँमा भगवानका रुपमा पूजित श्रीकृष्णले अर्जुनलाई स्पष्ट पारेपछि युद्ध नगर्ने भनेर ढिपी गरेर बसेका , हतियार छोडेर बसेका अर्जुन फेरि जुरुक्क उठेर युद्ध गरे । सायद त्यसैलाई कृष्णले निःस्वार्थ कर्मको रुपमा अर्थ्याइएका होलान् । गीतामा कृष्णले अर्जुनलाई संसारको नित्य प्रकृति र अनित्य अवस्थाको बीचबाट भनेका रहेछन्—हे अर्जुन, तिमीले युद्ध लडे पनि नलडे पनि ती युद्धमा लड्न भनेर आएका लडाकुलाई आफैँ स्वेच्छाले मरिसकेका छन् , तिमीले मार्नै पर्दैन, मैले नै आफूमा अन्तर्निहित गरिसकेको छु ।
हाललाई तिमीहरूबाहेक सबै नै कालकलवित हुनेछन् किनभने म काल हुँ, म महाकाल हुँ , म नै सृष्टि सर्जक, म नै पालक तथा म नै संहारक हुँ । अर्थात् प्रकृतिको वयान योभन्दा, समयको वयान योभन्दा अर्को कुन हुन सक्छ र ? कोही पनि समयभन्दा न त एकछिन रहन सक्छ, न समयभन्दा पहिले कसैले कसैको जीवन हरण नै गर्नसक्छ भनेर समयको बारेमा अनुपम व्याख्या गरेका छन् ।
मरेपछिका जीवनका बारेमा अनेकन शंका उप शंका छन् तर कसैले देखेको छैन र पनि त्यो विश्वास संसारभर पाइन्छ, प्रत्येक धर्ममा परोपकारलाई स्वर्गको बाटो जाने आधार मानिन्छ भने अर्काको कुभलो गर्ने कामलाई नर्कको बाटो जाने सुमार्गको रुपमा मानिन्छ । एउटा भय हो मृत्यु , अर्को भय हो मृत्युपछिको जीवन । अर्को भय हो मृत्युपछि जीवन हुन्छ कि हुँदैन ? तर यही जीवन नै प्यारो हुने रहेछ ।
मैले अघि सुरुमा भनेको जस्तो मन कसरी परिवर्तन हुन्छ ? त्यसैगरी उदाहरणहरूले परिवर्तन गराउँछ । शरीरको महत्व कहिलेसम्म रहन्छ भन्दा जबसम्म त्यो काँचुली फेर्ने बेला हुँदैन । शरीर त लुगा जस्तै हो, जत्ति बेला पनि त्यो फुकाल्न सकिन्छ, जसरी पुरानो लुगा फुकालेर नयाँ लगाइन्छ , त्यसैगरी आत्माको स्थान परिवर्तन हुनका लागि शरीर रुपी लुगा फेरिँदै जान्छ, फेरिँदै जान्छ । भर्तृहरिको त्रिशतकले जीवनको विभिन्न समयमा आउने परिवर्तनलाई उदाहरणीय रुपमा प्रस्तुत गरेको छ । आखिर मृत्यु शाश्वत हो तर त्यसको स्वीकारोक्ति अत्यन्त जटिल देखिन्छ ।
महाराज भरत, जसको नामबाट आर्यावर्त एउटा विशाल साम्राज्य स्थापना भयो, तिनमा वैराग्य उत्पन्न भयो र वानप्रस्थ आश्रम हुँदै सन्यासाश्रममा रहेकै बेलामा एउटी गर्भिणी मृगिणीले वनबाट उसलाई देखेर मार्न भनेर दौडँदै आएको बाघको डरले गर्भको बच्चाको मायाले, त्यो गर्भलाई बचाउन भनेर नदी उफ्रेर तर्न खोज्दा बच्चा चाहिँ त्यही उफ्रेकै बेलामा नदीमा खस्यो तर निरीह नवप्रसूता मृगिणी नदीका बगेर मरी । नुहाउन आएका योगीभेषका महाराज भरतमा त्यो बच्चाको माया जाग्यो र नदीमा पौडेर त्यसलाई बचाए र आश्रममा पाले, पोसे र कतै जाँदा पनि त्यो सावकको चिन्ताले सताएको हुन्थ्यो ।
अरु सबै साम्राज्य, धन सम्पत्ति, सन्तति सबैको माया मारेर संन्यासी भएका राजा भरतमा मृगको चिन्ताले सताउँथ्यो , यति सताएको थियो कि उनमा अरु कसैको चिन्ता थिएन तर त्यो अत्यन्त सानो तर राजासँग रत्तिएको मृग सावकको मायाले उनलाई अँचेट्यो । त्यही समयमा वृद्ध सन्यासकी राजाको मृत्यु भयो तर सानो मृगको मायाको तृष्णाले उनी मृग योनिमा नै जन्मे । तर उनमा रहेको ज्ञानको अथाह क्षमताले , पूर्व जन्मको तपस्याको बलले उनका स्मरण थियो । त्यस जुनीपछि उनी कुनै ब्राह्मणको घरमा जन्मिए तर उनमा चेतना र ज्ञानको त्यो पूर्व जन्मको सबै स्मरण रहेको थियो ।
पौरस्त्य साहित्यमा पूर्व जन्म, पुनर्जन्म र यही जन्मको बारेमा धेरै कुराहरु लेखिएका छन् । नैतिक बन्धनका राख्नका लागि यो संसारमा कति सुखको कल्पना गर्ने, अपेक्षा गर्ने भनेर भन्दै जाँदा मन परिवर्तनसँग योनि परिवर्तन हुने कुरामा विश्वास गरिएको छ । एउटा जुनीमा अतृप्त वासना रह्यो भने अर्को जुनीमा त्यो अतृप्त वासना पूरा गर्नका लागि बारम्बार वासनाको तृष्णा अनुसारको जन्म भई नै रहने मनोविज्ञानको उद्घाटन गरिएको छ । महाभारतमा, विभिन्न पुराणहरुमा यस्ता कुराहरुको उदाहरण दिएरै भनिएको छ । नहुष र युधिष्ठिरको संवादमा पनि र यक्ष र युधिष्ठिरको संवादमा पनि भनिएको छ कि सुखको अपरिमित वासना हुन्छ । यो जुनीमा सुख चाहनेका लागि सबै कुरा यहीँ छ तर ती क्षण भंगूर छन्, परमार्थको बारेमा सोच्दा मात्र तृष्णाको जालो हट्ने हुन्छ । तृष्णाको जन्म पनि मानिसको मनबाट उठ्ने हो किनभने त्यहाँ तत्कालका लागि तृप्ति छ तर त्यो तृप्ति क्षणिकमात्र हुन्छ । परमार्थका लागि जुन संग्रह गर्ने अमूर्त कुरा छ, तर त्यसले भने मनमा तृप्ति दिन्छ र अरुको हाँसो देख्दा हृदयमा नयाँ हाँसोको उद्भव हुन्छ ।
त्यसो भने स्वर्ग या नरक छ कि छैन ? यही पृथ्वीमा स्वर्ग पनि छ, नर्क पनि छ भनेर मानिन्छ । मरेपछिका जीवनका बारेमा अनेकन शंका उप शंका छन् तर कसैले देखेको छैन र पनि त्यो विश्वास संसारभर पाइन्छ, प्रत्येक धर्ममा परोपकारलाई स्वर्गको बाटो जाने आधार मानिन्छ भने अर्काको कुभलो गर्ने कामलाई नर्कको बाटो जाने सुमार्गको रुपमा मानिन्छ । एउटा भय हो मृत्यु , अर्को भय हो मृत्युपछिको जीवन । अर्को भय हो मृत्युपछि जीवन हुन्छ कि हुँदैन ? तर यही जीवन नै प्यारो हुने रहेछ ।
मन परिवर्तन केले गर्छ त ? मेरो विचारमा भयले परिवर्तन गर्छ मन तर त्यो क्षणिक हुन्छ । चित्त बुझे पछिको परिवर्तन स्थायी हुन्छ । निर्भयताले पनि परिवर्तन हुन्छ मन किनभने भयले जति बिगार्ने हो बिगारी सकेकोले अब बिगार्ने केही पनि बाँकी हुँदैन । हामीले त्यस्ता समय र अवस्था पनि गुजारेर आएका छौँ । मायाले पनि मन परिवर्तन हुन्छ भने निर्मोहले पनि मन परिवर्तन हुन्छ । विचार भनेको सोचाइको प्रवाह हो र मन भनेको त्यो प्रवाहको तरंग हो । तरंगित मनले विचार परिवर्तन पनि गर्न सक्छ एकातिर भने पीडित शरीरले पनि विचार र मनमा परिवर्तन ल्याउँछ । जसरी अर्जुनमा कृष्णका कुरा सुनेपछि मन परिवर्तन भयो,विचारमा परिवर्तन भयो ।
क्रमशः