लोकसंवाद संवाददाता | शिक्षा | जेठ २१, २०७६
बाँके । विद्यालय भन्नेबित्तिकै हामीले सोच्ने गर्छै जहाँ विद्यार्थी र शिक्षकहरु हुन्छन् । शिक्षकले विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाइरहेका हुन्छन् ।
डुडुवा गाउँपालिका–५ नानुपूर्वामा रहेको एउटा सरकारी विद्यालयमा तपाईंले सोचेजस्तो देख्नुहुन्न । जनता कल्याण राष्ट्रिय प्राथमिक सामुदायिक विद्यालयमा एकजना पनि विद्यार्थी छैनन् ।
पहिलेका विद्यार्थी पनि अन्यत्र निजी विद्यालयमा स्थानान्तरण भए भने यस वर्ष एक जना विद्यार्थी पनि भर्ना हुन आएनन् । यो वर्षको भर्ना अभियान पनि सकिसकेको छ । विद्यार्थी नै नभएको विद्यालयका एक्ला शिक्षक हुनुहुन्छ, जगदीशप्रसाद रोका ।
विद्यार्थी नै नभएपछि शिक्षक रोकाको दिनचर्या बिहान विद्यालय जाने र विद्यालय समयभर एक्लै कार्यालय कुरेर फर्कनुमा बित्ने गर्दछ । उहाँको यो अवस्था चालू शैक्षिक सत्र शुरु भएपछि मात्र आएको हो । गत वर्ष नै विद्यार्थीको संख्या अत्यन्तै न्यून थियो । अहिले एक जना पनि विद्यार्थी भर्ना नभएपछि उहाँलाई विद्यालय खोलेर समय बिताउन बाध्य हुनु परेको छ ।
गत वैशाख २ गतेदेखि विद्यालयको शैक्षिक सत्र शुरु भएको हो । विद्यार्थी आउँछन कि भन्दै कुरेर बस्नुपर्ने बाध्यता छ उहाँलाई । २०३४ सालमा स्थापना भएको यो विद्यालय कक्षा ५ सम्मको स्वीकृति छ । शिक्षक रोका भन्नुहुन्छ,–दिनभर विद्यालय कुरेर साँझ परेपछि घर फर्किने गरेको छु’।
गत शैक्षिक सत्रमा यस विद्यालयबाट १० जनाले मात्र परीक्षा दिएका हुन्, नियमितरुपमा विद्यालय पढ्न आउने विद्यार्थीको संख्या दुई/तीन जनाभन्दा बढी कहिल्यै थिएन । उहाँले भन्नुभयो,–त्यतिबेलादेखि नै हामीले जिल्ला तथा गाउँपालिका र स्थानीय अभिभावकलाई विद्यालयको अवस्थाबारे जानकारी गराएका थियौँ । कतैबाट पनि कुनै चासो देखाइएन’।
उहाँका अनुसार विद्यालयमा अंग्रेजी माध्यमबाट निःशुल्क पढाउँदा पनि स्थानीय अभिभावकले शुल्क तिरेर आफ्नो बच्चा निजी विद्यालयमा पढाउँछु भनेर लगेपछि विद्यालय विद्यार्थीविहीन भएको हो । –‘अभिभावकले नै साथ नदिएपछि हामी शिक्षकले मात्र के गर्न सक्छौँ र हामीले विद्यालय मिश्रणका लागिसमेत आग्रह गरेका थियौँ तर कतैबाट सुनुवाइ भएन ।’
उहाँले गाउँपालिका र जिल्ला शिक्षा समन्वय इकाइले चाँडै विद्यालय समाजयोजन वा मिश्रण गरेर आफ्नो व्यवस्था गरिदिन आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो,–‘विद्यार्थी भर्नाका लागि विद्यालयको कार्य क्षेत्रका सबै घरघरमा कार्यालय सहयोगीसहित पुगे तर अभिभावकको निजी विद्यालयको मोहले विद्यार्थी नै भर्ना नभएपछि विद्यालय खोलेर समय बिताउने काम मात्रै भएको छ’ ।
निकै थोरै विद्यार्थी भर्ना हुँदा गत वर्ष नै विद्यालय गाभ्ने कुरा उठे पनि नगाभिएपछि यस वर्ष विद्यालयले वैशाखको पहिलो साता भर्नाका लागि घरदैलो अभियान पनि गरेको थियो । उहाँले भन्नुभयो,– ‘विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले समेत आफ्ना बच्चा निजी विद्यालयतिरै पठाएपछि अरूले त झनै पठाउने कुरै भएन ।’
उहाँले गत वर्षसम्म २५ जना विद्यार्थी र तीन शिक्षक एक कार्यालय सहयोगी भएकामा तत्कालीन प्रधानाध्यापक शङ्कर सिंहले वैशाख १ देखि अवकाश लिनुभएको छ भने अर्का शिक्षक मालतीप्रसाद यादवले शिक्षा सेवा आयोग अनुत्तीर्ण भएपछि अनिवार्य अवकाश लिएपछि आफू र एक जना कार्यालय सहयोगी मात्र रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर बुढाथोकीले आफ्नो विद्यालयमा भन्दा अभिभावकले निजी विद्यालयमा नै पढाउन रोजाइ बनाएका कारण विद्यालय विद्यार्थीविहीन बन्न पुगेको बताउनुभयो । उहाँले भन्नुभयो,‘मैले आफ्नै नातिनीलाई निजी विद्यालयमा भर्ना गर्न बाध्य भएँ । छोराबुहारीलाई जति सम्झाए पनि मानेनन’।
वि.सं २०३४ मा खुलेको यो विद्यालय साबिक कम्दी गाविसमा अब्बल मानिन्थ्यो । तर अहिले अभिभावकको निजी विद्यालयप्रतिको मोहले विद्यार्थी शून्य भएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नरबहादुर बोहोराले बताउनुभयो । उहाँले पञ्चायतकालमै निमावि तह माग गर्दा अनुमति नपाएपछि विस्तारै प्रावि तहमै खुम्चिनुपरेको बताउनुभयो ।
बोहोराले आफ्ना नातिहरुलाई यसै विद्यालयमा भर्ना गर्न सरकारी जागिरमा रहेका छोराहरुलाई भन्दा नमानेर नजीकको निजी विद्यालयमा पठाएको दुःखेसो गर्नुभयो । ‘हामी हाम्रा छोराछोरीलाई दाउरा बेचेर भए पनि निजी विद्यालयमा पढाउँछौँ तपाईं नबोल्नुस भनेर वचन लगाएपछि चुप लागे’ उहाँको दुःखेसो छ ।
विद्यालय व्यवस्थापन समितिकै पूर्वअध्यक्ष पदमसिंह बोहोराले राज्यको शिक्षा नीतिको कारण सामुदायिक विद्यालयको अवस्था नै धराशायी भएको आरोप लगाउनुभयो । उहाँले स्थलगत सर्वेक्षण नै नगरी धमाधम निजी विद्यालयलाई स्वीकृति दिएकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो रहेको दाबी गर्नुभयो । सो गाउँमा अहिले पाँच वटा निजी विद्यालय र दुई वटा सामुदायिक मावि छन् । डुडुवा गाउँपालिकाले विद्यार्थी भर्ना नभएपछि गाभिने जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्र चोधरीले भन्नुभयो, –‘गत वर्ष ऐन नबन्दा मिश्रण गर्न कठीनाइ भएको थियो, यसपटक मिलान हुन्छ ।’ उहाँले गाउँपालिकाभित्र विद्यार्थी संख्या न्यून रहेका विद्यालयलाई मिश्रण गर्ने तयारी भइरहेको बताउनुभयो । पक्की सात कक्षाकोठा रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जाँदा गाउँपालिका–५ कार्यालयले दुई कोठा प्रयोग गरेको छ भने एक कोठा विद्यालयको कार्यालय सञ्चालन गरी बाँकी कोठामा ताला लगाइएको कुरा राससको समाचारमा काशीराम शर्माले उल्लेख गर्नु भएको छ ।