नेपाल बोटल वाटर उद्योग सङ्घ: पानी जार४७ र बोतलकाे १६ भन्दा बढी मूल्य नलिन आग्रह

नेपाल बोटल वाटर उद्योग सङ्घ: पानी जार४७ र बोतलकाे १६ भन्दा बढी मूल्य नलिन आग्रह

लोकसंवाद संवाददाता  |  कारोबार  |  साउन ३२, २०८०

काठमाडौँ । नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह  गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी  पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो ।

सङ्घका अध्यक्ष ध्रुर्व गौतमले विचौलीयाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै सङ्घले बजार अनुगमनलाई तीव्रता पार्न खोजेको बताउनुभयो । 'उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रूपैँयासम्म र बोतलको पानीमा प्रति बोतल  १६ रूपैँयासम्म र उपत्यका बाहिर जारको पानीमा ६० रूपैँयासम्म र बोतलको पानीमा प्रति बोतल २० रूपैँयासम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुन्छ,' उहाँले भन्नुभयो ।

सङ्घले पानीको बजार अनुगमन गर्नका लागि सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको छ ।

उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे नराखेको, ट्रेडमार्क मिस्युज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्नेछ । यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गर्नुभएको छ ।

सङ्घका सल्लाहकार गोकर्ण सिलवालले सङ्घीय  संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न आम उपभोक्तालाई आग्रह गर्नुभएको छ । 'उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारबाही गछौं,'  उहाँले भन्नुभयो ।

हाल काठमाडौँ उपत्यकाभित्रमा मात्र दैनिक  दुई लाख ५० हजार जार खपत हुँदै आएको छ । नेपालबाट आर्थिक वर्ष २०७९/८० मा मात्र रु ६० करोड मूल्य बराबरको पानी विदेश निर्यात भएको सङ्घले जनाएको छ । हाल काठमाडौँ उपत्यकाभित्र झण्डै २०० र  देशभर ५०० भन्दा बढी पानी उद्योग रहेका छन् ।