लोकसंवाद संवाददाता | समाचार | जेठ २१, २०७६
काठमाडौं, एजेन्सी । वार्षिक बैठकका क्रममा आफ्नै नेतृत्वको पक्षमा विश्वासको मत आर्जन गर्न सफल भएपछि फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुक कम्पनीको अध्यक्ष तथा सीईओको आफ्नो पद जोगाउन सफल भएका छन् ।
केही समय देखि जुकरबर्गले कम्पनीको अध्यक्षको पद छाड्नुपर्ने भनी आवाज उठिरहेको थियो ।
जुकरबर्गले कम्पनीको अध्यक्षको पद छाड्नुपर्ने भनी आवाज उठिरहेको समयमा जुकरबर्गका लागि यो सफलताले राहत मिलेको छ ।
एउटै व्यक्तिमा अत्यधिक धेरै शक्ति केन्द्रित गर्दा जोखिम बढेको भन्दै फेसबुक कम्पनीका कतिपय ठूला शेयरहोल्डरहरुले जुकरबर्गलाई अध्यक्ष पदबाट हटाउनुपर्ने आवाज उठाएका थिए ।
फेसबुकको एउटा मुख्य लगानीकर्ता ट्रिलियम एसेट म्यानेजमेन्ट नामक कम्पनीका अधिकारीले पनि कुनै एक व्यक्तिमा कम्पनीको अत्यधिक शक्ति केन्द्रित हुन नहुने सबै शेयरहोल्डरहरुको चासाको विषय रहेको बताएका छन् ।
जुकरबर्गलाई अध्यक्ष पदबाट हटाउने बिहीबारको बैठकमा भएको प्रयास सफल नहुनुलाई असामान्य रुपमा हेरिएको छैन । किनकि फेसबुक कम्पनीमा रहेको शेयर हिस्साको हिसाबले जुकरबर्गसँग ५८ प्रतिशत भोटिङ अधिकार रहेको छ ।
क्यालिफोर्नियाको मेन्लो पार्कस्थित एक होटलमा भएको उक्त बैठक सुरु हुनुअघि विभिन्न अधिकारवादी समूहहरुले प्रयोगकर्ताका गोपनियता तथा डाटाहरुमाथि खेलवाड गरिएको भन्दै जुकरबर्गलाई फेसबुकको नेतृत्वबाट हटाउन माग गरी प्रदर्शन गरेका थिए ।