लोकसंवाद संवाददाता | समाचार | जेठ २१, २०७६
काठमाडौं। एजेन्सी । गुगलले अन्ततः आफ्नो युट्युब गेमिङ एप पूर्ण रुपमा बन्द गरेको छ । गुगलका अनुसार अब गेमिङ सँग सम्बन्धित सामाग्रीहरु केवल युट्युबको मूख्य एपभित्रै रहनेछन् । अर्थात् गेमिंग एप अब युट्युब प्लेटर्फममा मात्रै चल्नेछ ।
गुगलले गत महिना नै युट्युब गेमिङ एपलाई युट्युबको मुख्य एपमै विलय गराउने घोषणा गरेको थियो ।
युट्युब गेमिङ एप सन् २०१५ मा एन्ड्रोइड र आइओएस दुबै प्लेटर्फममा सुरु भएको थियो । एप मात्र नभै वेबसाइट भर्सनमा पनि युट्युब गेमिङ एप लञ्च गरिएको थियो ।
गत वर्षको सेप्टेम्बरमा गुगलले एक घोषणा मार्फत सन् २०१९ को मार्चमा युट्युब गेमिङ एप बन्द गर्ने संकेत गरेको थियो । तर गत मार्चमा उक्त एप बन्द गरिएन । अन्ततः मे ३० मा युट्युब गेमिङ एपलाई एप्पलले युट्युबको मुख्य एपमा बिलय गराएको छ ।
गुगलले पछिल्लो समयमा आफ्ना असफल तथा कम लोकप्रिय भएका प्रडक्टहरुलाई बन्द गर्ने क्रम अघि बढाएको छ । त्यसक्रममा गुगलले एल्लो च्याट एप तथा इनबक्स बाइ जिमेल एपलाई पनि बन्द गरिसकेको छ ।
यतिमात्र होइन करीब ५ करोड प्रयोगकर्ताको डाटा सुरक्षामाथि आक्रमण भएको खुलासा भएलगत्तै गुगलले आफ्नो सोसल मिडिया प्लेटर्फम गुगल प्लसलाई समेत सदाको लागि बन्द गरिसकेको छ ।