लोकसंवाद संवाददाता | साहित्य | भदौ ०९, २०८०
हाम्रो संसार अर्थात् हाम्रो पृथ्वी कत्रो छ ? सानो छ । ठुलो छ । यो ब्रह्माण्डमा हाम्रो पृथ्वी कत्रो छ ? विन्दु जत्रै ? या कतै नदेखिने सानो ? त्यसको अनुमानमात्र लगाउन सकिन्छ तर त्यसको सही उत्तर दिन गाह्रो छ किनभने त्यसको खोजी जारी छ, अनुशीलन निरन्तर रुपमा भइरहेको छ ।
हाम्रो पृथ्वीको क्षेत्रफल र भार पनि अनुमानका भरमा भन्नु परेको छ । त्यसो त भूमि र पानीको भाग भनेर वैज्ञानिकहरुले कुनै अंक दिएका छन् र भारको पनि अनुमान गरेका छन्, ती समयअनुसार फरक फरक पत्ता लगाइएको छ, कारण हो त्यसरी अनुमान गर्ने आधार त्यति विश्वसनीय छैन ।
तर हामीले थाहा पाए अनुसार हाम्रो पृथ्वीमा करिब ७१ प्रतिशत पानी छ र २९ प्रतिशत भूमि छ । त्यो भूमिमा पनि कति भाग हिमाच्छादित छ, कति भाग उर्वर छ र कति भागमा मानिसहरुको बस्ती छ ? त्यसको समेत अनुसन्धान भइरहेको छ ।
यो पृथ्वीको सबैको साझा हो र पनि हामीले ती ठाउँहरूलाई आ-आफ्ना भागमा विभाजन गरेका छौँ र आधुनिककालमा ती विभाजित ठाउँहरूलाई विभिन्न देशका रुपमा पहिचान दिएका छौँ । आफ्नै देशमा, आफ्नै क्षेत्रमा समेत हाम्रो पहुँच हुन सकेको छैन भने संसारमा प्राकृतिकरुपमा र राजनीतिकरुपमा विभाजित ठाउँहरुमा पुग्नु कति सम्भव हुन्छ र कसरी गइन्छ भन्ने बारेमा कतिलाई थाहा हुँदैन ।
अन्तरिक्षमा जाने होड चलेको बेलामा पनि मानिसहरुलाई एउटा देशबाट अर्को देशमा जानका लागि अनुमति लिनुपर्ने हुन्छ र त्यस्तो अनुमति पाउन भाडा बुझाउनु पर्ने हुन्छ, रकम दिनुपर्ने हुन्छ । हामी मानव जातिको यो उन्नति हो कि अवनति भन्ने बारेमा बहस हुँदै गर्ला तर अहिले हामी बसेको पृथ्वीको भागलाई एसिया भन्ने गरेका छौँ । भूमिको भाग र पानीको भागलाई विभिन्न नाम दिइएको छ । हामीभन्दा पूर्व पनि अर्को महादेश छ । पश्चिममा पनि अरु महादेशहरू छन् । हिमाच्छादित भाग पनि छन् उत्तरी गोलार्द्ध र दक्षिणी गोलार्द्धको काल्पनिक भागमा जहाँ ६ महिना उज्यालो हुन्छ र ६ महिना अँध्यारो हुन्छ ।
पृथ्वी गोलो छ । त्यही गोलो पृथ्वीका कारणले पूर्व पूर्व गयो , पश्चिम भनेको ठाउँमा पुगिन्छ र पश्चिम पश्चिम गएको भनेको छ पूर्व भनेको ठाउँमा पुगिन्छ । ब्रह्मण्ड अर्थात् ब्रह्म , यो देखिएको नदेखिएको सबै भागलाई अण्डाकार को रुपमा कल्पना गरिएको रहेछ । सायद त्यसैको अनुमानमा ग्रहणको अवस्था, समय र ग्रह ताराहरूको गतिलाई गणना गरिएको रहेछ ।
अचम्म छ, पृथ्वी घुम्दैन, सूर्य घुम्छ भन्ने मान्यतामा तयार गरिएको ज्योति शास्त्रका गणनाहरू उस्तै अकाट्य छन् जबकि अहिले सूर्य घुम्दैन तर हाम्रो पृथ्वी सूर्यलाई घुम्छ भन्ने प्रमाणित तथ्य हो । अहिलेसम्म हाम्रालागि आफ्नो पृथ्वी भने साझा हुन सकेको छैन तर अन्तरिक्ष साझा छ , जसले सक्छ उसले कब्जा गरोस् भन्ने छ काल्पनिक रुपमा । त्यसो त भोलि आजका देशहरु जस्तै हुन पनि बेर लगाउँदैन ।
मान्यतः टिकट नकाट्ने कोही हुँदैनन्, कार्डलाई मेसिनमा सुँघाएर वा मोबाइलमा टिकट काटेको प्रमाण देखाएर सबै चढ्छन् । सूचनामा भनिएको हुँदो रहेछ, यदि कतै टिकट जाँच हुँदा वैध टिकट पाइएन भने दण्ड तिर्नुपर्ने छ । चालकबाहेक कोही पनि सहयोगी देखिएन । यन्त्र नै सहयोगी हुने रहेछ । विधिको पालना सबैले गरेको पाइयो । सबैजना चेकिङ या कन्ट्रोल आउँछ र विना टिकट किन हिँडेको भनेर सोध्नेछ भनेर डराएका पाइन्छन् तर सबैलाई लाग्दो हो चेकिङ आओस् वा नआओस्, सेवा लिने भएपछि किन पैसा नतिर्ने र ?
त्यसो त यो पृथ्वी हामी सबैको साझा हो र यहाँ कतैबाट कतै जानका लागि कुनै प्रकारको अवरोध हुनु नहुनु पर्ने हो तर अवरोध छ । कुनै पनि देशमा जानका लागि अनुमति चाहिन्छ । जानका लागि अनुमति लिने वैध कागजातको जरुरत पर्दछ जसलाई पासपोर्ट भन्छौँ र अनुमतिलाई भिसा भन्छौँ । आफ्ना आफ्ना देशका आफ्नै नियम छन्,केही नियमहरु विश्वव्यापी मिल्छन् त केही नियम आफ्नो देशको सुरक्षा र संवेदनशीलताका आधारमा कुनै कठोर देखिन्छन् र कुनै नरम देखिन्छन् । कुनै नियमहरु कुनै बेलामा कठोर मानिन्छन् र कुनै बेलामा त्यही नियम नरम रुपमा प्रस्तुत गरिन्छन् ।
तर युरोपमा युरोपीय संघ रहेछ, त्यसका केही देशहरुमा एकपटक कुनै देशमा प्रवेशका लागि अनुमति भिसा प्राप्त गरेपछि त्यो संघभित्रका करिब ३० ओटा देशहरुमा आफ्नो वैध भिसाका आधारमा निश्चित देशको अर्को अनुमति नभएर पनि ती देशहरुमा आवागमन गर्न छुट रहेछ । जस्तो कि हामी दुई जना पति पत्नी ( म र पत्नी देवकी) २०१९को जुनमा गएका थियौँ नर्वेको राजधानी ओस्लोमा । छोरी अर्चना अधिकारी र ज्वाइँ नवराज सापकोटा हुनुहुन्थ्यो ओस्लोमा विद्यार्थीका रुपमा ।
राती १२ बजे घाम लाग्ने देशमा । मैले त्यसो किन भनेको भने हामीले त्यो देशका बारेमा पढ्दा भनिन्थ्यो राती १२ बजेपनि नर्वेमा घाम लाग्छ । वास्तवमा त्यसो त होइन रहेछ तर हो रहेछ पनि । वर्षमा ६ महिना अन्धकारमा बस्नुपर्ने अवस्था रहेछ अनि समरको महिनामा भने उत्तरी गोलार्द्धको पनि उत्तरी ध्रुवको पल्ला छेउमा हुनाले मे,जुन, जुलाई र अगस्तको समयमा घाम नडुब्ने जस्तो हुँदो रहेछ ।
नर्वे खुसी सूचकांकमा ७ नम्बरमा छ जब कि हाम्रो नेपाल ७८ नम्बरमा छ । म त्यहाँ गएको बेलामा नेपाल १०० नम्बरमा थियो भने नर्वे ३ नम्बरमा थियो । खुसीका लागि पक्कै नै आर्थिक समृद्धि आवश्यक पर्छ । नर्वे पनि हामी जस्तै त होइन, तर असीको दशकसम्म त्यस्तो धनी राष्ट्रको रुपमा रहेन छ । तर तेलको उत्खनन सुरु भएपछि आजको धनी र समृद्ध देशको रुपमा र खुसीको देशको रुपमा देखिएको रहेछ । अहिले खनिज तेल, माछा, आलु, जौ, ओट,घाँस, दूधका परिकार नै मुख्य उत्पादन रहेछन् । तिनको निकासी मुख्य आम्दानीको श्रोत देखिन्छ ।
यहाँ करिब २ हजार जति नेपालीहरु हुनु हुँदो रहेछ । गैर आवासीय नेपालीहरुको संघ छ र म त्यहाँ गएको बेलामा, चार वर्ष अघि त्यसको छैठौँ राष्ट्रिय अधिवेशन (२०७६साल असार १४ गते )ओस्लोमा भएको थियो । त्यो बेलाको नारा थियो - एक पटकको नेपाली, सधैँको नेपाली भन्ने कुरामा सबैको धारणा एउटै भएको पाइयो ।
हप्तामा शनिवार र आइतवार विदा हुने अरु युरोपीय मुलुक जस्तै नर्वेमा पनि विदा हुँदो रहेछ । सार्वजनिक यातायातको भने साह्रै व्यवस्था राम्रो रहेछ । सामान्यतः विना टिकट कोही पनि यात्रा गर्दा रहेनछन् । भाषाको कारणले कतिपय ठाउँमा कुरा बुझ्न मुस्किल पर्ने रहेछ किनभने अंग्रेजी भन्दा पनि नर्वेजीयन भाषाको बढी प्रयोग स्वतः हुने नै भयो । तर पनि अंग्रेजीमा सोध्यो भने विस्तारै भए पनि जानकारी दिने कोसिस गर्दा रहेछन् किनभने यहाँका मानिसहरुमा भलाद्मीपन भने छ । नरम छन् र आफ्नो काममा व्यस्त देखिन्छन् ।
एउटा कुराको भने कमी पाइयो - सार्वजनिक शौचालय । सार्वजनिक शौचालय भने सबैतिर उपलब्ध देखिएन । मानिसहरु चर्चमा, ठूला ठूला मलहरूमा र पार्कहरूमा शौचालय जानु परेमा त्यहाँ कोडमा रहेका ढोका खोल्न पनि सकिने कुरा भएन, र त्यहाँ लेखिएको फोन गर्नुस् , एउटा एस एम एस आउने छ जसमा २० क्रोनर स्वतः काटिने छ, तत्कालै ५ सेकेन्डमा खोल्नुस् भन्ने भद्र सूचना लेखिएको पाइन्छ । करिब ८ लाख जति जनसंख्या भएको ओस्लो सहरमा पर्यटकहरुको आवागमन पनि यही ग्रीष्म ऋतुमा हुने रहेछ किनभने वर्षको करिब ५- ७ महिना त हिउँ नै हिउँले ढाकिने ठाउँ हो नि त ।
ग्रीष्म, वर्षा र शरद ऋतु भनेको नै समर हो , त्यो बेला नै यहाँको हरियालीको समय पनि हो, फूल फुलेर समग्र ओस्लोलाई रङ्गीचङ्गी फूलमय बनाउने समय पनि हो र यहाँका मानिसहरुले प्रकृतिबाट भिटामिन डी पाउने खास समय पनि हो । घाम लागेको बेलामा सबै चौरहरुमा मानिसहरु सूर्यस्नान गरिरहेका पाइन्छन् । समुद्रको किनारामा मात्र होइन, हरियाली पार्कहरूमा उम्रिएका घाँसहरूमा पनि सूर्यस्नान गरेका दृश्यहरु स्वाभाविक र सामान्य लाग्छन् ।
सार्वजनिक यातायातमा बस, ट्राम, मेट्रो या भूमिगत रेल, रेल, ट्रिक (जसलाई नेपालमा पहिले ट्रलीको रुपमा सूर्य विनायकदेखि त्रिपुरेश्वरसम्म चलाइन्थ्यो)र फेरी (सानो जहाज) करिब २१ घण्टा नै व्यस्त देखिन्छन् । एउटै टिकटले निश्चित समयावधिसम्म काम दिन्छ । यातायातको समयको सूचना प्रत्येक स्टेसनमा दिइएको हुन्छ , यति बेरमा आइपुग्छ भनेर । त्यो बेलामा आइपुग्छ नै । भनिएको छ- यदि हाम्रो साधन समयमै नआएर तपाईँलाई कतै जान मुस्किल परेको हो भने ट्याक्सी भाडा ५०० क्रोनर दिइने छ । त्यसका अग्रीम टिकट काटेको र मुस्किल परेको प्रमाणसहित कारण भने खुलाउनु जरुरी छ । यातायात संस्थाले आवेदकलाई तत्कालै ट्याक्सी खर्च उपलब्ध गराउँछ ।
सामान्यतः टिकट नकाट्ने कोही हुँदैनन्, कार्डलाई मेसिनमा सुँघाएर वा मोबाइलमा टिकट काटेको प्रमाण देखाएर सबै चढ्छन् । सूचनामा भनिएको हुँदो रहेछ, यदि कतै टिकट जाँच हुँदा वैध टिकट पाइएन भने दण्ड तिर्नुपर्ने छ । चालकबाहेक कोही पनि सहयोगी देखिएन । यन्त्र नै सहयोगी हुने रहेछ । विधिको पालना सबैले गरेको पाइयो । सबैजना चेकिङ या कन्ट्रोल आउँछ र विना टिकट किन हिँडेको भनेर सोध्नेछ भनेर डराएका पाइन्छन् तर सबैलाई लाग्दो हो चेकिङ आओस् वा नआओस्, सेवा लिने भएपछि किन पैसा नतिर्ने र ?
भिजेल्यान्ड वा भिगेल्यान्ड पार्कको कुरा
गुस्ताफ भिगेल्यान्डका २०० वटाभन्दा बढी नाङ्गा मानिसहरुका मूर्ति ओस्लोको फ्रोग्नर पार्कमा राखिएका छन् जसलाई अहिले भिगेल्यान्ड वा भिजेल्यान्ड पार्क पनि भनिन थालिएको रहेछ ।
वास्तवमा गुस्ताफको पारिवारिक नाम अर्कै भए पनि उनी आफैँले आफ्नो पारिवारिक नाममा भिगेल्यान्डलाई थपेका रहेछन् । १८६९ मा जन्मिएका गुस्ताफको मृत्यु १९४३मा भएको रहेछ र यो पार्कको संरचना पनि उनले नै कल्पना गरेका रहेछन् । ती विश्व प्रसिद्ध मूर्ति कारको १५०औँ वर्ष मनाउन पनि अहिले व्यवस्था भइरहेको रहेछ । नर्वेका जनता गुस्ताफ भिगेल्यान्डको असाधारण सृजनशीलता र सम सामयिक संसारमा उनको बेजोड को मूर्ति कला प्रति गर्व गर्ने रहेछन् । क्रमशः