लोकसंवाद संवाददाता | समाचार | जेठ २२, २०७६
कैलाली । समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए संघर्षमा जाने बताउनुभएको छ ।
समाजवादी पार्टीले आज यहाँ आयोजना गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रमा स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनुभएका यादवले संविधान संशोधनकै लागि सघाउन आफूहरु सरकारमा सामेल भएको समेत स्पष्ट पार्नु भएको थियो ।
उहाँले आफ्नो पार्टीले राखेका माग पूरा गर्नेतर्फ पहल नगरे सरकारबाट बाहिरिएर सदन र सडक संघर्षमा जानुको विकल्प नरहेको समेत जानकारी गराउनुु भएको थियो ।
पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले संघीयताको सही ढङ्गबाट प्रयोग गर्न नसकेको दावी गर्नुभयो । डा. भट्टराईले वर्तमान संघीय प्रणाली अवैज्ञानिक रहेको जिकिर समेत गर्न पुग्नु भएको थियो ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको एकीकरणपछि बनेको समाजवादी पार्टीले आज यहाँ पहिलो पटक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । अभिमुखीकरणमा सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको जनाईएको थियो ।