डिल्ली बि.सी. | दृष्टिकोण | भदौ १५, २०८०
नेकपा (एमाले) को १०औँ महाधिवेशन २०७८ मङ्सिर १०–१२ गतेसम्म चितवनमा सम्पन्न भएको थियो । तत्कालिन पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको मुलमन्त्र ‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा कार्तिक २६ पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नु भएको थियो ।
एमालेले ११ औं महाधिवेशनसम्मका लागि पार्टीभित्र अवसरवाद, अराजकताको अन्त्य गर्ने मुल कर्तव्य ठानेको छ । यो महाधिवेशनबाट पारित तथ्य भएकोले एमालेजन कसैले पनि नकार्ने चेष्टा गर्नु भनेको विधि संवत नै त्यो पार्टीबाट निस्कासित भएको ठानिन्छ । एमालेजनले पार्टीमा विगतको अध्ययन, भोगाई र वर्तमानको समस्याको रुपमा रहेको अवसरवाद, अराजकता अन्त्य विना नेकपा(एमाले)ले अंगिकार गर्दै आएको राजनीति र दार्शनिक मार्ग नेपाली मौलिक सिद्धान्त जबज जन जनको हितका लागि हुन नसक्ने ठहर पनि गरेको छ ।
हरेक राजनीतिक पार्टीमा वा संगठनमा विगतका तितामिठा अनुभव हुन्छन् । त्यसबाट एमाले पनि अछुतो रहेको छैन् । यो सानो निजी विचार मन्थनमा विगत कोट्याउनुको अर्थ छैन् । एमालेले एकदम सटिक र सार संक्षेपमा आफ्नो पार्टीभित्रको मुल समस्याको पहिचान गरिसकेकोले यसको समस्या पहिचानको मन्थको पनि अर्थ छै्न् । तर अबको एमालेजनका लागि चुनौतीको रुपमा रहेको अवसरवाद, अराजकतालाई ११औं महाधिवेशनसम्ममा कसरी अन्त्य गर्ने भन्ने नै केन्द्रदेखि टोल कमिटीको दायित्व हो । १० औं महाधिवेशनले संगठन निर्माणका लागि दिएको मुख्य कार्यभार पनि आन्तरिक जीवनमा विद्यमान अवसरवाद, अराजकताको अन्त्य हो ।
अहिलेको ज्वलन्त प्रश्न एमालेभित्रको अवसरवाद, अराजकताको धरातलीय अवस्था कस्तो छ, कस्तो रुपमा रहला वा अन्त्य होला ? यसका साथै विश्व कम्युनिष्ट पार्टीमा ठूलो अैझेरुका रुपमा रहेको अधिवेशन वा महाधिवेशनले अवसरवाद, अराजकता अन्त्य भन्दा पनि रुप परिवर्तन वा कित्ता परिवर्तनले कहाँ पुग्ला भन्ने रहदै आएको छ ।
देश आर्थिक मन्दीमा छ । सरकार महाकुम्भ मेलाका दर्शनार्थी जस्ताको संगम छ । समाजमा ‘हरि’ हराएको छ । व्यक्तिमा निराशाका चाँङ्ग छन् । राजनीति, वितृष्णाको पोको भएको छ । तर एमालेजन मध्यम तहको नेतृत्व चयनको कठिन मोडमा उभिएका छन् । यसो हेर्दा यो समस्या वा चुनौती एमालेजनको हो भन्ने पनि लाग्न सक्छ । यसका साथै यो अवसर र खुसियाली एमालेजनको मात्रै हो भन्ने पनि लाछ । तर यो लोकतन्त्रको संस्थागत भन्ने शब्दको सबैभन्दा महत्वपूर्ण परीक्षामा सिङ्गो राजनीतिका लागि चासो, अवसर र चुनौतीको मोड हो । यसलाई सतही र हल्का रुपमा व्याख्या गरियो भने त्यो राजनीतिमा अहम भुल हुनेछ । पछि पछुतो अर्थ छैन ।
एमालेमा एउटा ठूलो चुनौती छ, ‘एक व्यक्ति एक पद’ कार्यान्वयन । ‘एक व्यक्ति अनेकन पद र निरन्तर पद’, यो जगडिएर बसेको छ । व्यक्ति हिरा मोति जस्तो, व्यक्ति प्रधान हैन नीति प्रधान हो पनि भन्ने अनि त्यही व्यक्तिले दोर्याएर तेहर्याएर पार्टी र संगठन भित्रको पद पाउनु पर्ने ? संसदीय, राजकीयसँग संगठनात्मक पदमा पदासीन हुनै पर्ने ? त्यस प्रकारको अदभूत क्षमतावान व्यक्ति त खासै पाइदैन । फेरी एउटै व्यक्तिका लागि संगठनले संगठनात्मक पद र राजकीय पदमा बस्नै पर्ने भए किन चाहियो संगठन ?
विशेष गरी आम सचेत नागरिकका लागि विशेष निगरानीको समय हो । एमालेको कुन पदमा कुन नेता चुनियोसम्म मात्रै बुझियो भने त्यो अभिशाप हुने छ । यसमा अधिवेशन अवधीमा भएका शक्ति प्रतिष्पर्धा, समूह निर्माण र समूह भत्कने जुन संस्कार तथा परम्परा छ यस पटक विगत भन्दा पनि अझै डरलाग्दो हुने जोखिम छ ।
अवसरवादः पाएको मौकाबाट लाभ उठाउने हो । अधिवेशन वा यस्तो चुन्ने–चुनिने सयमा अवसरवादीले त्यो संगठन तथा व्यवस्थालाई अति प्रभावित बनाउने र लयलाई आफु अनुकुलको बनाउने गर्दछन् । यसमा अवसरवादीका लागि सुनौलो समय पनि हुन्छ । अझ भन्दा यस्तो समय कुरेर बस्ने र आफ्ना फाइदाका निम्ति मौकाको उपयोग गर्न सिपालुले सधै प्रयोग गर्ने गर्दछन् ।
हुनत, अवसर मौका पाउने, दिने र सदुपयोग गर्ने पनि हुन्छ तर इतिहासका कालखण्ड र एमाले लगायत नेपाली राजनीतिमा यसलाई मौकाको उपयोग गरी गलत प्रयोग गर्ने परम्परा रहेको सबैका अगाडी जग जाहेर छन् । एमालेको १० औं महाधिवेशन पहिले र त्यस पश्चात पनि अवसरवाद र अवसरवादीका कारण पार्टीको शक्ति क्षयीकरण गरेकोले यसको अन्त्य अनिवार्यता ठानी नारामा यो अवसरवाद अन्त्य भनिएको हो । अवसरवादीले आफ्नो हित र व्यक्तिले शक्ति आर्जन गर्ने पनि यही मौका हो । अधिवेशन पश्चात समग्र संगठनका लागि नयाँ जोस, सोच र शक्ति निर्माण हुनु पर्ने हो । शक्ति आर्जन भयो पनि भनिन्छ ।
कालान्तरमा विगतको समीक्षा गर्दा हामीले त्यहाँ त्यो गल्ती गरेका थियौ पनि लेखिन्छ तर यो सबै श्रृंखलामा पहिला किन प्रश्नको उत्तर खोजिँदैन । आजको प्रश्न यो हो ? उत्तर अवसरवाद अन्त्य हो । यसको अन्त्य गर्ने जिम्मेवारी १०औं महाधिवेशनबाट यी सबै समस्याको बोझ उठाउने र अन्त्य गर्ने अभिभारा बोकेका पदीय हैसियत वालाको हो । यस्तो नहोस, १० औं महाधिवेशनको नेतृत्व नै कमजोर भन्ने समीक्षा भावि दिनमा ‘विगत समीक्षा’मा नसमेटिने गरी कार्यभार पुरा गर्नु हालको नेतृत्वको कर्तव्य हो ।
पहिलो पटक संघीय लोकतन्त्रको स्थापना पश्चात केन्द्रीयताका आधारमा प्रदेशको संरचनामा नेतृत्व पदासीन थियो । अहिले एमालेजनले सातै प्रदेशमा जनवादको प्रयोग गर्दै प्रदेश नेतृत्व चयनको श्रृंखलामा छन् । त्यसको सुरुवात लुम्बिनी प्रदेशबाट हुँदैछ । यही नै ठूलो चुनौती एमालेजनले आँटेका छन् । नेकपा (एमाले)को पदीय शक्तिको केन्द्रको रुपमा लुम्बिनी प्रदेश रहेको छ । यहाँ पदीय भुमिकाले उच्चतम तहका नेताको लर्कोको छ । त्यही जिम्मेवार नेताको मातहत र बजारीकरणमा अवसरको खोजी गर्ने मध्यम र आधारभुत तहका नेताको पौँठेजोडी पनि हुने गरेको छ ।
एमालेको प्रदेश तहको पहिलो अधिवेशन यसै प्रदेशको हुँदैछ । यसको सन्देश साँच्चिकै एमालेजनका लागि आगमी ११औं महाधिवेशन र प्रदेश अधिवेशन पश्चात तल्लो तहका अधिवेशनमा प्रचुर प्रभाव पर्ने छ । त्यसका लागि नेतृत्वले समुन्द्र मन्थन गर्नु पर्ने हो । त्यो भएको छैन । अब त्यो मन्थनको समय पनि छैन् । अबको बाटो जस्तो जे खायो पचायो भन्नेतिर लम्किएको देखिन्छ । यसरी समुन्द्र मन्थन जस्तै मन्थन नगर्नु नै एमालेको भावी दिनको प्रदेश अधिवेशन र त्यसका भुल भनेर समीक्षाको उपशीर्षक नबनोस् ।
गुपचुपमा गुटः लुकाउन खोज्दा खोज्दै लुम्बिनीमा दुई धारको चलखेल र अशोभनीय खेल सुरु भएको छ । दुई धारका संरक्षण कर्ता भनिएकाको कहीँकतै छिसिक्क पनि भुमिका देखिदैन तर बजार हल्ला र आमसञ्चारका पाना भरिएका छन । यस खेलभित्रका पात्रहरु आफु चोखो देखिन विभिन्न खालका सतही चोखो देखिने हर्कत पनि गरिरहेका छन् । यसमा मध्यम तहको धेरै ठूलो भुमिका रहेको छ । यसले राम्रो विउ रोप्दै छैन् । किनकी यो खेल बैचारिक संघर्षको क्षमता कम भएकाको हालीमुहाली छ । कतिपय मध्यम तहकाहरू आफ्नो विजारोपण जसरी भएको थियो उसैगरी नेतृत्वको ढोकामा पुग्ने र आफै सन्देश बनाएर पार्टीको लाइन अन्तिम यही हो भन्ने तर्क फ्याँकी रहेका छन् । उनीहरु आधिकारिक लाईन, पार्टी निर्णय अझै लम्केर नेतृत्वले दिएको जिम्मेवारी हो भन्दै आफु आधिकारिक आवाजको प्रतिनिधित्वको ठेकेदार समेत हुन भ्याएका छन् । यो ठूलो घातक तत्व हो । आमुन्ने सामुन्नेको संघर्ष भन्दा पनि पछाडिबाट छुरा रोप्नेको यसमा अलि बढी योगदान रहेको छ ।
विचार विहिनका झुण्डको रुपमा एमालेजनमा कही कतै गुट निर्माण पनि भएका छन् । त्यो जुके प्रवृति हो । यसले आहारा पाउने अधिबेशन खास समय हो । त्यसकारण प्रदेश अधिवेशन नीति भन्दा पनि नेतृत्व चयनको समय हो । यो नीति कार्यान्वयनको महत्वपूर्ण अंग पनि हो । यही समयमा विचार मिल्नेहरू चुन्ने–चुनिने समयमा गुट निर्माणमा जुटेका छन् । जुन गुट विजयी भएर शक्तिमा आसीन हुने छ त्यसले कमजोर गुटलाई स्खलित बनाउने छ । इतिहासका पाना पल्टाउने हो भने संगीन समय पुगाउने छ ।
विगतलाई वर्तमानमा हेर्दा हार्नेहरू राजनीति, संगठन र विचारको वहसबाट ओलप्पिएका ताजा इतिहास समाजमा जिवित प्रमाण छन् । नौरङ्गी र विचार लैसहरु चुच्चो मिलाउनुमा अहिले विशेष सक्रिय पनि छन् । उनीहरुकै विशेष पहलमा गुप चुपी गुट पनि निर्माण भएका छन् । यसको अर्थ अरुले गर्ने थिएनन् भन्ने पनि हैन । गुट निर्माणका विशेष योग्यता भएको दक्षता प्रर्दशन गर्ने दिन पनि अधिवेशन हो । हिजोको उनीहरुको कार्यशैली, व्यवहार र आजको दम्भी स्वरले फेरी १०औं महाधिवेशनको नाराको मुल तत्व एमालेजनबाट छुट्टिएला भन्न सकिदैन । अवसरवाद झाँगिँदै छ ।
ध्वासो लागेको स्वरः जनस्तरमा सम्म एमालेमा अहिले सुन र सुनजन्य बस्तु पहिचानका लागि ‘कसी’को प्रयोग गरेजस्तै ‘कसी’को लगाउनु पर्ने खाँचो छ । प्रश्न गरेका स्वरहरु सुनिँदैनन् । के बाकसमा राखेको सुनमा दियालोको ध्वासो छिरेको हो ? सँगै राखेको वस्तुको रुप एकाकार भएकोले पहिचा गर्नु पर्ने हो । यस्तो अवस्था सिर्जन नहुनु पर्ने हो । तर भएको छ । अब खाँचो कसीको हो । एमाले १०औं महाधिवेशनले पार्टीबाट समुलनष्ट बनाउन खोजेको ‘अराजकता’ यही गुपचुपको पृष्ठपोषण हुने छ ।
एमालेले प्रदेशस्तरको अधिवेशन गरेर ‘कसी’ले पहिचान गरेजस्तो पहिचान त नगर्ला तर कसी लाग्नुनुको विकल्प छैन् । यदि ‘कसी’ लगाएन भने एमालेका लागि त्यो सबैभन्दा जघन्या भुल हुने छ । तर्कलाई कुर्तकको व्याख्याले तोप्दैमा इतिहास बाँङ्गिदैन ।
पदलोलुपको पराकाष्ठाः गाउँ वस्तीमा सुख्खा परेपछि सनातन धार्मिक आस्था र दैवीय शक्तिमा विश्वास गर्नेले पानी पार्नका लागि हुल बाँधेर(विशेषगरी युवा वर्ग) घरघरमा घुम्दै घरभित्रको पानीले हुललाई छ्याप्ने चलन छ । खडेरीमा पानीको संकट हुने नै भयो । पानी हाल्नु पर्ने घरवालाका लागि बाध्यता हुन्छ । पानी नदिऊँ घरको पानी नपरेर सुख्खा हुने, पानी दिउँ भने सुख्खामा संकलन गरेको पानी । अझै थोरै पानी दियो भने महादेव खुसी नहुने डर । ती पानी माग्ने हुलले ‘हरहर महादेवा यत्तिले भएन अरु थपि देउ’ भन्दै आँगनमा अटेरी गरेर बसिरहने भएकोले आँगनबाट भगाउनुका लागि पनि पानी दिनै पर्ने बाध्यता हुन्छ ।
अहिले एमाले नेता र प्रदेश अधिवेशनका प्रतिनिधिका लागि यीनै ‘हरहर महादेव यत्तिले भएन अरु थपि देउ’बाट कसरी पन्छिने ठूलो चुनौती छ । कम्युनिष्ट पार्टी जसको मुल उद्देश्य नीति हो, नेतृत्व हैन भन्ने अनि अरु थपि देउँ भन्दै जरो गर्ने प्रवृति अन्त्य गर्न सकिएन भने अझै ११औं महाधिवेशनमा पार्टी भित्रको अराजकता वाद अन्त्यका लागि यही नारा कायम गर्नु पर्ने बाध्यता हुनेछ ।
एमालेमा एउटा ठूलो चुनौती छ, ‘एक व्यक्ति एक पद’ कार्यान्वयन । ‘एक व्यक्ति अनेकन पद र निरन्तर पद’, यो जगडिएर बसेको छ । व्यक्ति हिरा मोति जस्तो, व्यक्ति प्रधान हैन नीति प्रधान हो पनि भन्ने अनि त्यही व्यक्तिले दोर्याएर तेहर्याएर पार्टी र संगठन भित्रको पद पाउनु पर्ने ? संसदीय, राजकीयसँग संगठनात्मक पदमा पदासीन हुनै पर्ने ? त्यस प्रकारको अदभूत क्षमतावान व्यक्ति त खासै पाइदैन । फेरी एउटै व्यक्तिका लागि संगठनले संगठनात्मक पद र राजकीय पदमा बस्नै पर्ने भए किन चाहियो संगठन ? यो गिद्धे प्रवृति आजको एमालेका लागि कलंक भएको छ ।
एमालेजनका लागि अर्को कष्टकर अवस्था फेरी नयाँ रुपमा विकास हुन लागेको छ । संगठनात्मक अराजकताका लागि यो ठूलो सहयोगी भएको छ । जुन अवसर आउछ मलाई चाहिन्छ । किन कि मेरो पहुँच छ, म यो वर्गको एकल हुँ, किन की म यो समुदायको एकल हुँ, किन की म यो भेगको एकल हुँ, भाषा, धर्म, भुगोल को एकल हुँ, किन की म यो संप्रदायको एकल हुँ, किन की म यो लिङ्गको एकल हुँ, किन की म पार्टी र संगठनको नेता हुँ । अझ पालिका अधिवेशन उसैलाई, जिल्ला अधिवेशन उसैलाई, प्रदेश अधिवेशन उसैलाई, केन्द्रीय अधिवेशन उसैलाई, पालिका प्रमुख उसैलाई, प्रदेश र संघीय संसदीय तथा राजकीय अवसरका लागि पनि उसैलाई, नभए गुट फरक, नेता फरक, त्यती पनि नभएर पार्टी नै फरक हुने ! अर्को प्रवृति पार्टीमा बसिरहने तर सूचना र निर्णय प्रकृयामा इतर पार्टीलाई सहयोग गर्ने, बाँकी माथी मेरो छँदैछ भन्ने धाक धम्कीका आधारमा अराजकता फैलाई रहने ? यही हो एमालेभित्र मुख्य संगठनात्मक अराजकता हो जड । के प्रदेश अधिवेशनले यो तथ्य अन्त्यको बाटोमा जाने छन् कि प्रोत्साहनतिर ? यशर्थ एमालेका लागि प्रदेश अधिवेशन अग्नी परीक्षा हो ।
त्यसकारण नेकपा(एमाले)का आधारभुत र मध्यम तहका नेता कार्यकर्ताको आँट, कौशलता र संस्कार कहिले पनि उच्च तहका नेतालाई नजरअन्दाज गरेको इतिहास छैन् । हिजो, आज जे जति र जुन प्रकार गुटगत स्वार्थहरु मौलाएका छन ती सबैमा उच्च तहका नेताको संरक्षण र सहभागितामा भएका छन् । प्रदेश अधिवेशनको धु्रवीकरण पनि यसैको परिणाम हो । एमालेमा सबैभन्दा स्वार्थी आफु केन्द्रित गुटगत क्रियाकलापमा अग्र पन्थीमा रहने भने मध्यम तहका नेता छन् ।
एमाले मध्यम तहका नेताको नेतृत्व मोह र उच्च नेतृत्वको सुक्ष्म विश्लेषण अभावका कारण केन्द्रीय कमिटी अहिले आधारभुत तहमा जिम्मेवारी निर्वाहसम्म गर्नु पर्ने बाध्यता रहेको छ । यसको कारक उच्च तहको केही जिम्मेवारी भएपनि मध्यम तहको सुल सुले प्रवृतिका कारण सिर्जना भएको हो । अहिले संगठनात्मक सुदृढीकरण सँगसँगै अंकुश प्रवृतिको अन्त्य पनि खाँचो रहेको छ ।
एमालेमा समस्याको जड विचार हैन । व्यवहार हो । एमालेको नीति जनताको बहुदलीय जनवाद हो भने मुल नेतृत्व अध्यक्ष हो । अझ भन्दा नेतृत्व अध्यक्ष केपी शर्मा ओली । यी दुबै पक्षलाई कसैले प्रश्न गर्ने अवस्था छैन् । आँटसम्म गरेको अवस्था पनि छैन् । तर सुसुप्त रुपमा नेतृत्वको हवाला दिँदै मध्यम तहका नेताको जुन प्रकारको अवसरवाद र अराजक राजनीतिक कौशलता प्रदर्शन हुँदैन छ समयमै नेतृत्व चनाखो हुनु पर्ने छ । अतः अवसरवाद, अराजकता र सुल सुले प्रवृतिलाई थेचार्ने समय पनि अधिवेशन भएकोले नेतृत्व र प्रतिनिधिले क्षमता विहिन, चाटुकार प्रवृति, पदलोलुप र संकुचित मानसिकतालाई अधिवेशनबाट सही व्यवस्थापन आजको खाँचो रहेको छ ।