कमल बयेली | साहित्य | भदौ १६, २०८०
म काठमाडौं पुग्दा झमक्क साँझ परिसकेको थियो । म कलंकीबाट सिधै सुनधारातिर लागें ।
होटलहरू, गेस्टहाउसहरू च्याउ सरि छन् । म सकेसम्म सस्तो देखिने गेष्ट हाउस खोज्दै छु । धेरै डुलेपछि एउटा गेष्ट हाउस देखें । पाइ हालिन्छ कि ? उक्लिए । मभन्दा अघि सिँढीमा एउटी युवती उक्लिँदै थिई । उसको कपाल हल्का रातो पारिएको थियो मकैैको घोर्ले जुँगाजस्तो । बाटै मगमग हुने गरी ऊ उक्लिँदै थिई पुट्ठो थैथै पार्दै ।
नीलो जिन्स पाइन्ट लाएकी उसको अनुहारको दर्शन भने पाउन भने बाँकी नै छ । उसको खुट्टामा ट्वाकट्वाक बज्ने हिल भएको चप्पल थियो । म उसको पछि लागें ।
म रिसेप्सन मै रोकिए । ऊ अझ माथि गई । मैनबत्तीको मधुरो उज्यालोमा म पुग्दा रिसेप्सनमा एउटी काली बुङ्ची किशोरी उभिइरहेकी थिई ।
‘कोठा हो दाइ ?’ उसले झट्ट सोधी ।
‘अँ, तर सिङ्गल’ मैले भनें ।
‘सिङ्गल त छैन ।’
‘डबलको कति नि ?’
‘तीन सय ।’
‘बढी भएन र ?’
‘तपैँलाई २५० गर्दिन्चु नि ।’
म उसको को हुँ र यसरी पचास पचास रुपैयाँ घटाइ दिनुपर्ने ? कि त्यहाँ पाहुनाको खडेरी परेको छ ?
सोधें, ‘अनि खानाको ?’
‘सादा खाना ८०, मासु खाना १५० ।’
‘मलाई सादा है ।’
‘मासु खानुहुन्न दाइ ?’
मैले सोझो जवाफ दिएँ, ‘खान्न ।’
ऊ मुसुक्क हाँसी । मैले मासु खान्न भन्दा ऊ किन हाँस्नुपर्ने ?
मैले मासु नखाएको चाहिँ खर्च घटाउनुलाई मात्र थियो । मासु त घरमा पकाएर खाए भइहाल्यो नि किन होटलमा दोब्बर तिरेर खाइराख्नु !
उसले मलाई माथिल्लो तलामा लगेर कोठा नम्बर ११२ मा हुली । भित्र चिया टेबल रहेछ त्यसमै मैनबत्ती टाँसेर बालिदिई ।
‘एक्लै आउनुभा हो ?’
होटल होटल कसलाई लिएर हिँड्ने त ? तर मैले यसो भनिनँ ।
कुरा गर्न खोज्छे, नजिक नजिक हुन खोज्छे । साउनी कि छोरी हो कि को होली ?
‘तातो पानी भए लौ न एक गिलास पाऊँ ।’
‘पठाइदिन्छु है दाइ’ भनेर मस्किँदै ऊ माथि गई ।
एउटा भाइ छिटै आइहाल्यो । मैले गिलास ढोका बाटै समाते । उसले केही भन्न खोज्यो । मैले सुनिदिएँ । उसले भनेको थियो, ‘अरु केही चाहिन्छ भने भन्नुहोला है !’ कस्तो अरु केही ?
एउटा ज्यान छ ओछ्यान भने दुइटा । सोचेँ डबल बेड नै ठीक भयो मलाई । यो जाडोमा सिङ्गल बेडमा हुने एकसरो सिरकले के धान्छ ? त्यसमाथि मेरो जाडो छेक्न थोरै लुगाले हुँदैन ।
मलाई ट्वाइलेट लाग्यो । न त कोठामा चप्पलको व्यवस्था छ न त ट्वाइलेटमै । म ढोकामा उभिँदा त्यही रातो कोटवाली माथिबाट ओर्लिँदै रहिछ । मैनबत्तीको मधुरो उज्यालोमा उसको गोरो अनुहार स्वादले चम्केको थियो ।
‘चप्पल छैन बैनी ?’
उसले मेरो सोधाइ क्याप्टेनसम्म पुर्याइदिई । तर चप्पल ल्याइदिएनन् । म जुत्ता चढेरै चर्पी गएँ ।
मेरो पेटलाई पिरोले डाम्छ । तिहुनमा पिरो नहाल्नु भन्न म माथि भान्सातिर उक्ले । माथि कोही तरुनी कड्किइरहेकी छे !
‘चुँजी न पुँजी हात भरि ...!’
यति सुनिसक्दा मैले सिँढी चढिसकेको थिएँ । त्यही रातो कोट वाली पो रहि छे । उसको बोलीले लुगा लगाए कै थिएन । मलाई देखेर कानसम्म मस्किई । लाज मानेझैँ गरेकी होली । भान्सामा त्यो काली बुङ्ची थिई, तावामा केही भुटिरहेकी । क्याप्टेन केटो पनि त्यहीँ सिग्नेचर ह्वीस्की फोर्दै थियो । कसैले कोठामै अर्डर गरेको होला ।
खाना खाने बेला भयो । म उक्लिए । अहिले भने भान्सामा एउटी दिदी पनि थिइन् । उनले नै खान पस्किइन् । सेवा पुर्याउने भने त्यही काली । त्यो गोरी त्यहाँ थिइन । मभन्दा अघि र पछि गरी खाना खाने बराँठ पुरुषहरू देखिएका थिए । उनीहरू त्यै कालीलाई पनि ‘दिलवाली’ भनेर जिस्क्याउँदै थिए ।
भोकले हर्नाएको थिएँ कपाकप गाँस टिप्न लागें । पेटलाई अक्षता चढाएर म कोठातिर झरिहालें ।
दिनभरि बसले झाङलझुङल पारेको छ । उसै पनि धमिराले खाएको काठजस्तो यो जीउ । अब सुतिहाल्छु सोच्दै दुइटै खाटका सिरक एकैतिर ल्याएँ । सिरक कति मैलो पारेका ? धुनुपर्दैन ? कस्तो गेस्टहाउस हो यो ? गेट आउट हुन पर्ला जस्तो पो छ गन्ध त । आइयो, खाना पनि खाइयो अब २५० रुपैयाँ उठ्ने गरी सुत्नु त पर्यो पर्यो । म दोब्बर सिरक मुनि छिरे । सिरकको छेउ नाकमा जोतिँदा त ओहो अजीर्ण भएर पेट ढाडिएको मान्छे सुतेको र रातभरि सिरकभित्रै फुस्स फुस्स अपान वायु छाडेको जस्तो गन्ध । एउटै उपाय थियो गोलबन्दीले मुख र नाकमा पर्दा लाउने । भनिन्छ आफ्नो घुर सबैलाई मन पर्छ ।
▪▪▪
निदाउन के लागेको रहेछु, झ्यालपट्टि स्याँत्त आवाज आयो । के यो घरमा तर्साउँछ पनि ?
ढकढक ! ढकढक !
मेरै कोठामा कोही ढक ढक्याइरहेछ । ‘को हो ?’ भन्छु बोल्दैन । बल्ल खुट्टा तात्न खोज्या’थ्यो कुनलाई लडाउनुपर्ने होला यतिबेला ? ढोका खोले । मोरो त्यही क्याप्टेन केटो पो रहेछ । मभन्दा माथि बस्ने मान्छेको कोट खसेछ । मेरो झ्यालबाट झिक्नुपर्ने भयो । मैले नै टिपेर दिएँ । त्यो लेडिज कोट रातो रङको थियो ।
निदाउनै लागेको रहेछु फेरी केही आवाजले म खलबलिएँ । सीधा माथिको कोठाबाट ट्वाकट्वाक कट्याक क्याक आइरहेछ । के अघि खसेको कोट झुन्ड्याउन भित्तामा किला ठोक्दैछन् ? हैन–हैन, कपडाहरू झुन्ड्याउन त भित्तामा ह्याङ्गर गाडिएकै होला मेरोमा जस्तै । बीचबीचमा खस्याकखुसुक सुनिन्छ अनि फेरि ट्वाकट्वाक कट्याककट्याक । लडकी लडिएको आवाज पनि मेरो कानमा छिर्यो । मोबाइलको घडीमा १२ बज्यो र मेरो मनमा पनि । अब मैले यो रात कसरी काट्ने ? कोल्टे फेर्याफेर्यै छु अहँ निद्रा आउँदैन ।
तीन घण्टा गइसकेछ नयाँ दिनको पनि । हाइ आएको आयै छ । ऊ मेरो मुखलाई हाब्रो बनाउँदै जाँदै गरिरहेछ । अब भोलि त मेरो अनुहारमा पनि डण्डी फोरका दानाहरू फल्नेछन् । बैँस गएको रहेनछ भनेर चित्त बुझाउनु पर्ला । माथि खसा खुसु आवाज सुनेको मात्र के थिएँ फेरि त्यही आवाज - ट्वाकट्वाक कट्याकट्याक । मोबाइलमा सर्प र क्यारमको खेल छ । सर्पले काला धब्बाहरूलाई ठुङ्दै अनि क्यारमका गोटीहरू छिराउँदै उत्तानो पल्टिइरहें बिहान उज्यालो नखस्दा सम्म ।
म बिहानै दाह्रीको घाँटी रेट्न धारोतिर निक्लें । मैले ऐना बोकेको थिइनँ । धारो पनि खण्डहरजस्तो छ के ऐना हुन्थ्यो । म माथि भान्सातिर उक्ले । ए रात्तै ! हिजोकी त्यो रातो कोटवाली त भान्सामा केही पकाउँदै चुरोट तान्दै पो छे । उसले चुरोट देब्रे हातको चोर र माझी औँलाले समातेकी थिई ।
‘ऐना छैन बैनी ?’
एक सर्को चुरोट तानेर धुवाँ फुक्तै उसले चुरोट समाएकै हातले जुठेल्नु तिर देखाउँदै भनी -‘ऊ त्याँ छ ।’
ठाउँ देखेर, मान्छेहरू देखेर मलाई सिकसिक लाग्यो । हिजो खाएको खाना सम्झेर पनि थुकथुकी लाग्न थाल्यो । ‘म खाना नखाई जाने हो है’ भन्दै ऐना लिएर तल झरे ।
खसी खुइल्याए झैं अनुहार पारेर कोठामा आएँ । म आफ्ना पोका पुन्तरासमेत बोकेर माथि उक्लिए । हिसाब मिलाउन र ऐना दिन पनि । रातो कोटवाली थिइन । भित्र कोठामा त्यै बुङ्ची कालीसँग दुई जना घोर्लेहरूको मस्कामस्की पो परिरहेको रहेछ ।
‘म त घरबण भागेर आ’की नि !’
बुङ्चीको कुराले मेरो हिजोको अनुमानलाई लोप्पा ख्वाइ दियो । साउनीको छोरी भनेको त कहाँ हुनु ? काली पनि गोरी पनि उही ड्याङका पो रहेछन् ।
ऐना यथास्थानमा राखिदिएँ र कारोबार फच्चे गरें । रातो कोटवाली आइपुगी । ऊ बाथरुमबाट निस्किएकी थिई । यस्तो चिसोमा किन नुहाउनुपर्ने होला ? तल हिजोकै नीलो जिन्स लगाएकी थिई । माथि सेतो ब्रा मात्र उनेकी थिई । जाडोले पीपलको पातजस्तै कामिरहेकी थिई । बच्चाले खानेकुराहरू पनि उसँगै हल्लिरहेका थिए । चिसै कपाल फिँजारेर ऊ भित्ताको कुनातिर घोप्टो परी ! ऊ राइस कुकुरको भाले प्लग भित्तामा टाँसिएको पोथी प्लगमा हुल्दै थिई । म त्यहाँबाट निस्कँदा थरथर कामेको स्वरमा गुन गुनाउँदै थिई - उ लाला उ लाला...!