भक्तपुरमा सडक मापदण्ड हेरफेर गर्ने विषयमा बहस शुरु

भक्तपुरमा सडक मापदण्ड हेरफेर गर्ने विषयमा बहस शुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २२, २०७६

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको ठूलोब्यासीदेखि कमलविनायकसम्मको मुख्य सडक आसपासका पुराना घरहरु पुनर्निर्माण गर्न नक्सा पासमा समस्या भएको जानकारी दिनुभएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आज भएको ‘भक्तपुरमा निजी आवास पुनर्निर्माणसम्बन्धी’ छलफलमा प्रमुख प्रजापतिले सडकको मापदण्डका कारण ठूलोब्यासी–कमलविनायक सडकमा नक्सा पासको समस्या भएको हो । 

प्रमुख प्रजापतिले ठूलोब्यासी–कमलविनायक सडक छेउमा भक्तपुरको प्राचीन र ऐतिहासिक पाटी, सत्तल, पोखरी तथा ढुङ्गेधाराहरु रहेको हुँदा सो क्षेत्रमा बाटो फराकिलो गर्दा सम्पदाहरु नास हुने भएकाले वैकल्पिक सडक बनाउनुपर्नेमा समेत जोड दिनुभएको थियो  । 

प्रजापतिले भन्नुभयो,– तत्काल ठूलो व्यासीदेखी कमलविनायकसम्मको घरका नक्सा पास हुने स्थिति छैन । सडक मापदण्डका कारण त्यहाँका प्राचीन सम्पदा नष्ट हुने भएकाले त्यस क्षेत्रमा वैकल्पिक सडक निर्माण गरेर सडक मापदण्ड सच्याउनु पर्छ’। 

 सडक साँघुरा हुँदा यात्रुुलाई आवागमनमा समस्या भएको र सडक दुर्घटनाको सम्भावना भएको बताउँदै प्रमुख प्रजापतिले त्यस क्षेत्रलाई व्यवस्थित रुपमा फुटपाथ बनाई पुरानै शैलीमा घर निर्माण गर्ने योजना नगरपालिकाले बनाई रहेको जानकारी समेत दिनुभयो ।

 छलफल कार्यक्रममा काठमाडौँ उपत्यका प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सडक छेउका घरहरु पुरानै शैलीमा पुनर्निर्माण गर्न नगरपालिकाले पहल गर्नुपर्ने बताउँदैं ठूलोब्यासी–कमलविनायक सडकको वैकल्पिक सडकका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा डा. श्रेष्ठले स्थानीय जनताको राय–सुझावअनुसार सडकको मापदण्ड हेरफेर गरी सडकको दायाँबायाँ पेटी निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुु भएको दिनुभयो ।