हरिविनोद अधिकारी | शिक्षा | भदौ १६, २०८०
जीवनको भोगाइसँग सम्बन्धित धेरै अनुभूतिहरू छन्, भित्रभित्रै उकुसमुकुस भएर बसेका छन् । शिक्षा क्षेत्रमा देखिएका बेथितिका लागि हामी पनि केही हदमा जवाफदेही हौंला । तर शिक्षाको सबै कुरा नीति र अभ्यासमा भर पर्ने कुरा हो । हामी नीति बनाउनेमा परेनौँ तर अभ्यास गर्नेमा भने परेका छौँ किनभने शिक्षकको रुपमा काम गर्दा र पाठ्यक्रमको निर्माणमा रहँदा पक्कै त्यसको रहल पहल भेटियो होला ।
मसँग एउटा अनुभव यस्तो छ कि २०५० सालतिर जस्तो लाग्छ, हाम्रो समूहलाई व्यावसायिक लेखा विषयको कक्षा ९ र १०को पाठ्यक्रम सुधार गर्ने जिम्मा दिइएको थियो । भर्खरै जस्तो पाठ्यक्रम विषयमा स्नातकोत्तर गरेको अनि पाठ्यक्रम सुधार गर्नका लागि कुन कुन प्रक्रिया अपनाइन्छ भन्ने कुरा थाहा थियो सैद्धान्तिकरुपमा तर साँच्चै पाठ्यक्रम बनाउने चाँजो परेको थिएन ।
हाम्रो समूहमा थियौँ होमबहादुर कुँवर जो दशकौं देखि कक्षा ९ र १०मा व्यावसायिक लेखा विषय पढाउँदै हुनुहुन्थ्यो र त्यस ताका उहाँ पाटन माध्यमिक विद्यालयमा लेखा शिक्षकका साथै प्रधानाध्यापकको जिम्मेवारी पनि लिनु भएको थियो । म भएँ , मैले पनि २०३५ सालदेखि व्यावसायिक लेखा विषय पढाउँदै थिएँ अनि हुनुहुन्थ्यो अर्को साथी हुनुहुन्थ्यो गोपाल बाँस्कोटा जो श्री ५रत्नराज्य माध्यमिक विद्यालय, वानेश्वरमा प्रधानाध्यापक हुनुहुन्थ्यो र अर्को साथी हुनुहुन्थ्यो ज्ञानोदय माध्यमिक विद्यालय बाफलमा अध्यापन गर्ने डिल्लीराम रिमालजी जो लेखा पनि पढाउनु हुन्थ्यो माध्यमिक तहमा तर उहाँको स्नातक तहसम्मको लेखा विषयका अध्ययन सँगै बी एड र एम एड नेपाली अनि एम ए नेपाली गर्नुभएको थियो । अनि पाठ्यक्रम विकास केन्द्रका त्यो बेलामा महानिर्देशक हुनुहुन्थ्यो सागर उप्रेती सर ।
सायद ! त्यो बेलामा सबैजसो व्यावसायिक विषयहरुको पाठ्यक्रम परिवर्तन गर्ने बेला भएको थियो क्या रे ! किनकि २०२८ सालमा तयार गरिएको नयाँ शिक्षा योजनाको पद्धतिको पाठ्यक्रममा सामान्य सुधार पहिले गरिएको रहेछ । कतिपय विद्यार्थीहरुले व्यावसायिक विद्यालयमा जो पढ्थे, तिनले जुन विषय व्यावसायिक लिन्थे, तिनले चार विषय आफूले रोजेको विषयमा नै पढ्नु पथ्र्यो जुन ४०० पूर्णाङ्कको हुन्थ्यो । १०० पूर्णाङ्कमा ५० पूर्णाङ्कको प्रायोगिकको अङ्क हुन्थ्यो ।
साधारण विद्यालयका विद्यार्थीहरुले पनि व्यावसायिक विषय त पढ्नु पथ्र्यो तर २०० पूर्णाङ्कका मात्र । पाटन र लेबोरेटरी मावि व्यावसायिक थिए भने ज्ञानोदय र रत्नराज्य मावि चाहिँ साधारण विद्यालय थिए । यो प्रक्रिया २०४५ सालमा परिवर्तन भएको थियो जस्तो लाग्छ र त्यसपछि कुनै पनि विद्यालय व्यावसायिक रहेनन् , सबै नै साधारण भएका थिए । त्यसैले पनि कक्षा ८लाई माध्यमिक बाट निमाविमा लगिएकाले पनि माध्यमिक तह भन्ने बित्तिकै अब कक्षा ९ र १० भएको थियो । पहिलेको ४००को कक्षा ८,९ र १०को पाठ्यक्रममा परिवर्तन गरी एउटै मा समेट्नु थियो ।
हामी चार जनाका लागि चुनौती थपिएको थियो तर पाठ्यक्रम निर्माण गर्नका लागि खटिएको तालुकी अड्डा पाठ्यक्रम विकास केन्द्रले कामको जिम्मा अरुलाई दिएकाले समयावधिको चक्र देखाएर छिटै गर्नका लागि ताकिता पो हुन थाल्यो । हामीले जुन काम पाएका थियौँ, हामीलाई त्यसमा गर्व लागेको थियो किनभने भावी लेखा अधिकृत, लेखापाल, लेखापरीक्षक तयार गर्ने र व्यापार शास्त्रप्रति चासो राख्न चाहनेका लागि पाठ्यक्रम तयार गर्नु थियो । उच्च शिक्षाको प्रवेश विन्दु माध्यमिक विद्यालयमा दिइने प्रारम्भिक व्यावसायिक ज्ञानले विद्यार्थीमा , सिकारु मा नयाँ जोस आओस् यदि उसले उच्च शिक्षामा कमर्स या व्यवस्थापन विषय पढ्छ भने कम्तीमा पनि विषय प्रवेश होस् भन्ने चाहना हामीमा थियो ।
महानिर्देशकले तान तान तुन तुन गर्दा अरु ५०० सम्म बढाउने सक्ने पनि जानकारी दिनु भयो । अनि १० दिनभित्रमा पाठ्यक्रमको खाका नबुझाए पाठ्यक्रम परिषदको बैठकमा पारित हुन नसक्ने पनि उप्रेती सरले भने पनि हाम्रो समूहले बुझ्यो कि पाठ्यक्रम विकास गर्ने भनेको सामान्य काम रहेछ उहाँहरुका लागि र यसो टाकटुक पारेर मिलाएर बुझाउने कुरो पो रहेछ ।
मलाई एउटा कुराको सजिलो के थियो भने म पाठ्यक्रमको विद्यार्थी थिएँ र लेखा पढाउँदै थिएँ । कुँवर सर र गोपाल सर प्रधानाध्यापक पनि हुनु भएकाले शिक्षकहरु जम्मा गरे उनीहरुको धारणा बुझ्नका लागि आवश्यक ठाउँ र खर्च गर्न तयार हुनुहुन्थ्यो । मैले भर्खरै जस्तो पढेको पाठ्यक्रमको सिद्धान्तको प्रयोग गर्न पाउने लालसा पनि थियो । पाठ्यक्रमका बारेमा सरोकारवालाहरुको जानकारी नलिई र सरोकारवाला तथा विद्वानहरूको जानकारी नलिई पाठ्यक्रमलाई न त संक्षिप्ती करण गर्न सकिन्थ्यो, न भोलि पाठ्यपुस्तक लेख्नेले त्यो दिशानिर्देश बमोजिम पुस्तक नै तयार गर्न सक्ने थिएँ ।
अनि हामीले पाठ्यक्रमको खाका तयार गर्नका लागि समयावधिको लामो चक्र तयार गर्यौँ । हाम्रो समय चक्रमा करिब २ महिना लाग्ने, कम्तीमा पनि ५ओटा सेमिनार गर्नु पर्ने , कम्तीमा पनि नेपालका विकास क्षेत्रहरु मध्ये पहाड, मधेस र हिमाली जिल्लामा गएर जनताका आवश्यकता पनि जान्नुपर्ने भन्ने तालिका बनायौँ । यसमा हामीले को को कुन जिल्ला जाने पनि भन्यौँ कागजमा । कुँवर दाइले आफ्नो गाडी प्रयोग गर्न भन्नुभयो र आफू पनि अन्तरक्रिया गर्नका लागि जहाँ पनि जाने तयारी गर्नुभयो ।
त्यसका लागि प्रधानाध्यापक गोपाल सर र कुँवर सरले विद्यालयमा समय मिलाउनु पर्ने थियो तर हाम्रो चाँजो पार्नका लागि पाविकेले हामीलाई विदाको र रकमको व्यवस्था गर्नुपर्ने थियो । उप्रेती सरको कोठामा हामी हाम्रा योजना लिएर गयौँ र बडो जोसका साथ नयाँ पाठ्यक्रम बनाउने काममा खटिने आफ्ना योजना सुनायौँ । सरले बडो मज्जासँग भन्नुभयो- मास्टर साहेबहरू ! जम्मा व्यावसायिक कृषि र लेखाका लागि २ हजार छुट्याइएको छ, एउटा बैठकमा १ सय दिइन्छ त्यसमा १० प्रतिशत कर कट्टी गरिन्छ । तपाईँहरूको योजनामा लेखिएको भन्दा हामीलाई पाठ्यक्रमको खाका अबका १० दिनभित्र चाहिन्छ तर चार सयकै समेटिनु पर्छ तर १०० पूर्णाङ्कको हुन्छ । हाम्रो दुई महिनाको योजना पनि हावा भयो, हामीले करिब २० हजारको हिसाब गरका थियौँ दैनिक भत्ता बाहेक, त्यो पनि हावा भयो ।
जब प्रायोगिक त ५० बाट २५ मा झार्ने निर्णय भएको छ र कक्षा १०को परीक्षा जसलाई एस एल सी भनिन्थ्यो, अब ७५ पूर्णाङ्कको हुनेछ । त्यसको मतलब थियो हाम्रो भागमा जम्मा १ हजार रुपैया थियो, त्यो पनि समूहको भत्ताका लागि । महानिर्देशकले तान तान तुन तुन गर्दा अरु ५०० सम्म बढाउने सक्ने पनि जानकारी दिनु भयो । अनि १० दिनभित्रमा पाठ्यक्रमको खाका नबुझाए पाठ्यक्रम परिषदको बैठकमा पारित हुन नसक्ने पनि उप्रेती सरले भने पनि हाम्रो समूहले बुझ्यो कि पाठ्यक्रम विकास गर्ने भनेको सामान्य काम रहेछ उहाँहरुका लागि र यसो टाकटुक पारेर मिलाएर बुझाउने कुरो पो रहेछ ।
तैपनि हामीले हरेस खाएनौँ । कुँवर सर र गोपाल सरले निकट शनिवार काठमाडौँ र ललितपुरका लेखा शिक्षकहरु, केही प्रधानाध्यापकहरू र उत्तीर्ण गरेर उच्च शिक्षा पढ्दै गरेका केही विद्यार्थीहरुलाई जम्मा गर्यौँ र अन्तरक्रिया गर्यौँ । हामीले पाविकेका महानुभावहरूलाई पनि बोलाएका थियौँ हाम्रो अन्तरक्रियामा तर उहाँहरुले नभ्याउने जबाफ नरम तरिकाले दिनु भयो । सायद त्यसरी हामीले पाठ्यक्रमको खाका बनाएकोमा उहाँहरुलाई चित्त बुझेको थिएन होला । तर १० दिनभित्रमा बुझाउनु जो थियो ।
हामी चार जनालाई त्यहाँका लेखा अधिकृतले भने पछि साथ दिनु भयो र भन्नुभो - म पनि लेखाको विद्यार्थी हुँ , तपाईँहरूसँगको कामका संयोजन गर्दैछु । मलाई पनि सिकाउनु होस् है । हामीले हाम्रा प्रत्येक बैठकमा पछि उहाँलाई बोलायौँ । हामीले उहाँलाई बोलाउनुको कारण थियो, एक हामीले कसरी पाठ्यक्रम विकास केन्द्रको सीमित बजेट र सीमित समयमा काम गरेका थियौँ र खासमा कसरी पाठ्यक्रम निर्माण गर्नुपर्छ भन्ने देखाउनु पनि थियो ।
हामीले सुन्थ्यौँ, पाविके शिक्षाको पैसाको कुनै कमी छैन, त्यो त कामका आधारमा लाखौँ खर्च गरिने ठाउँ हो । तर हामीलाई न त खर्चको कुनै व्यवस्था गरिने छाँट देखिएको थियो , बरु कुँवर सर र गोपाल सरले ती आएका साथीहरुलाई आफ्ना आफ्ना विद्यालयमा खाजा र चियाको व्यवस्था गर्नु भएको थियो ।
हामीले पनि बडो मिहिनेतका साथ कम्तीमा पनि ३ओटा अन्तक्र्रिया गर्यौँ सरोकारवालाहरुसँग । डिल्ली सर र म काठमाडौँ शिक्षा क्याम्पसमा पनि पढाउने भएकाले कतिपय शिक्षकहरु जो थिए बाहिर जिल्लाबाट पढ्न आएका बी एड एक बर्से र दुई बर्से तीसँग पनि कस्तो पाठ्यक्रम भए राम्रो होला भनेर छलफल चलायौँ र तोकिएको दिनमा हामीले खाका तयार गर्यौँ र उप्रेती सरलाई दियौँ ।
हामीलाई गर्व लाग्छ खुसी लाग्छ आजको मितिसम्म पनि त्यही पाठ्यक्रमको खाका र त्यसको आधारमा तयार भएको पाठ्यपुस्तक नै कक्षा ९ र १० लागू छ । पछि २०६४ सालमा कक्षा १०को मात्र पाठ्यक्रम र पाठ्यपुस्तकबाट माध्यमिक तहको अन्तिम परीक्षामा प्रश्नहरु सोधिने प्रणाली बनेपछि केही पाठहरू कक्षा ९ बाट १० मा र केही पाठहरु १०को पुस्तकबाट ९ मा राखिएको छ । त्यही पाठ्यक्रमले नै सिकारुहरुलाई लेखा र व्यापार व्यवस्थापनका चासो बढाएको देखिन्छ ।
हाम्रो त्यो पाठ्यक्रम तयार गर्ने समूहका सक्रिय सदस्य गोपाल बाँस्कोटा सरको कोरोना कहरमा कोरोनाबाट संक्रमित भएर निधन भयो । हामी पछिसम्म पनि यो अनुभवका बारेमा रमाइलो मानेर छलफल गथ्यौँ । क्रमशः