लोकसंवाद संवाददाता | समाचार | भदौ २३, २०८०
जुम्ला । नेपाली खस भाषाको जन्मथलोका रुपमा रहेको जुम्लाको सिञ्जा गाउँपालिकाले पालिका भित्र जुम्लेली खस भाषाको पात्रो शुभारम्भ गरिएको छ ।
गाउँपालिकाको ऐतिहासिक धार्मिकस्थल केदार महोत्सवको अवसर पारेर कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले खस पात्रो सार्वजानिक गर्नु भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो .
खस भाषाको संरक्षण र प्रवर्द्धन लागि उक्त पात्रो पालिकामा लागू भई सञ्चालनमा आएको छ । गाउँपालिकाले सार्वजनिक गरेको खस पात्रोमा राष्ट्रिय क्यालेण्डरलाई प्रवर्द्धन गर्ने उद्देश्यले खस भाषामा महिनासमेत उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष धितालले भन्नुभयो, 'खस पात्रोमा खस संस्कृति झल्किने कार्यक्रम देउडा, हुड्के नाच, खस पहिरन, यहाँका मार्सी धान खेतीसहित बालीहरू, पुरातात्विक संरचना, ऐतिहासिक सिञ्जा उपत्यका, केदारनाथ क्षेत्रलगायत विभिन्न स्थान दस्तावेजीकरण गरिएको छ ।'
सोही पात्रोमा खस भाषाअनुसार महत्वपूर्ण तिथिमिति र दिवस पनि उल्लेख गरिएको गाउँपालिका उपाध्यक्ष शीतली रोकायाले जानकारी दिनुभयो । कक्षा १ देखि ३ सम्म खस भाषाबाट पढाइसमेत हुने गरेको छ । ४ देखि ८ कक्षासम्म खस भाषाको पाठ्यक्रम तयार भइसकेको छ । आगामी वर्षको शैक्षिक सत्रबाट पढाइ गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख शङ्कर धितालले बताउनुभयो ।