मायाको मिठास

मायाको मिठास

ज्ञानेन्द्र विवश  |  साहित्य  |  भदौ २३, २०८०

भदौको मध्य मासमा पनि बाढी प्रकोपको प्रहार । यही निष्ठुरीले जमीन र ज्यानको उठिबास भइरहेका समाचारले पिरोल्छ । बर्सेनि हाम्रा कति नेपालीको जीवन धाम अस्ताउँछ । रोग, भोक र शोकले समेत नमरेको ज्यान–प्राण भेल बाढीले निमेषमै निमिट्यान्न हुन्छ । कोरोनाबाट बचाएको, डेङ्गोबाट जोगाएको तर एक भेल बाढीले घरबाससँगै ज्यानै बगेर बेपत्ता भयो । अनायसैको आपत जिन्दगीभरिको खोट । 

मायाको मिठास माटोमै विलिन । पवित्र रहर र रुपहरू, बोली र व्यवहारहरू सबै उस्तै, उसरी नै जीवित रहिरहँदैन रहेछ । निराशामा परिणत हुन्छ मायाको मिठास । र, स्वतः धमिलिन्छ र धकेलिन्छ मृत्युको काखमा । दैवी लीला कसैले रोकेर रोक्न सक्दैन । यति भइकन हामीमा चेत आउँदैन । तत्पश्चात भित्रिन्छन् दुःखहरू । विरानिन्छन् सुखहरू । आफन्त पनि पराई बन्छन् र माया ममताको समेत अभाव खड्किन थाल्छ । 

समय र परिस्थितिले हामीलाई छिनमै हँसाउँछ, छिनमै रुवाउँछ । यी सँग आत्मसात हुनु नै जीवन । यिनमै रमाउँनु मै जीवन । बाँचुन्ज्यालको हाँसो र खुसी साटेर बाँच्नु नै जीवन । जीवन छ र नै हामी छौँ । जीवनको अस्तित्व नरहे कसैको चिनो र चिनारी रहँदैन । यसो भएपछि घृणा र प्रेम, विश्वास र दोषको पनि कुनै अर्थ रहँदैन । अर्थपूर्ण जीवनयापनका लागि स्नेहको उर्वर खेती गर्न सक्नुपर्छ ।

झमझम पानी परिरहेको रात पनि आँखाको तृष्णा हेर्नुको अभिलाषामा अभिशप्त । नहेरे–नदेखे दृश्य र दृष्टि शून्य ज्ञान–गन्तव्यमा पनि पूर्णविराम लाग्छ । अन्धकारतुल्य हुन्छ मन उज्यालैमा पनि । मूर्त मनमा साकार स्वरूप–सागर दृश्यमान । तत्पश्चात् आकारमा अवतरित हुन्छ अनेकौँ जीवन–ज्योति । 

आँखाले देखाएर भेटाउँछ खुसी । जीवनको बाटो हिँडाएर पुर्‍याउँछ शिखर । दृश्यका कैयौँ अवतारहरूसँग साक्षात्कार गराउँछ । ज्ञानको भोक मेटाउँछ र जीवन साँच्चै जीवन्त बनेर जग मगाउँछ बाँचुन ज्याल ।

सानै कुरा, सामान्य सन्दर्भ तर त्यसले नै त्यतिले नै पर्याप्त खुसी दिन्छ भने त्यो कति आनन्दको कुरा । त्यो कति खुसीको विषय । हामी सबैले खोजेको कुरा यही । चाहेको कुरा पनि यही । चाहनाको चास्नीमा दुःखको पीडा कसले खोज्छ र ! सबैको चाहना सुख र खुसीकै उपलब्धि हो । त्यसमा मायाको मिठास मिश्रित भएपछि विनिर्माणको नयाँ आविष्कार हुन्छ । 

छरछिमेकमा कति हुन्छ, जति सकिन्छ बाँडि चुँडी खानु जाती । आँखाको प्यासलाई भाग शान्ति बाँड चुँडको नासोले गलपासो होइन, मायाको मिठास, मेवा मिष्ठान्न व्यञ्जन होस् । बचेखुचेको तुलफूल जोगाएर अनिकाललाई गाँस होस् । अर्को वर्ष उन्नत बीऊको काम बनोस् ।

हामीले हाँस्ने, बोल्ने र हेर्ने अनुहारमा खुल्नुपर्छ मुस्कानको सुन्दर बिहान । रूप–सौन्दर्यको लालित्यमा लेपन हुनुपर्छ सुकोमल रङका गुञ्जन । आपसी सम्बन्धहरूको सधैँ नवीकरण । सहरको कुना काप्ची निष्ठुरी र निर्दयी मनहरु छन् । मायाको अभावले होइन । धेरै माया पनि थोरै ठान्ने स्वभाव । थोरै मायालाई धेरै देख्ने आदत । 

तथापि नबोल्नेहरूलाई बोलाउँदै, बिउँझाउँदै, जगाउँदै सम्बन्ध र साथ जोगाउँदै । सबै–सबै सधैँ लाई बिर्सिँदै दागका निशानीहरू । माया र ममताका खातमा मस्तले निदाउँदै जिन्दगी जीवन्त जिउनुको नवीन प्राप्तिमा हलक्क हुर्किदै ।

वास्तवमा सम्बन्धलाई किनेर आफ्नो बनाउनु हुँदैन । बेचेर पराई पठाउनु पनि मिल्दैन । सस्तो र स्वार्थको सम्बन्ध होइन, हुनु हुँदैन । मायाको मिठासले भरिभराउ सम्बन्ध कति सुन्दर, कति प्रिय र हुन्छ साह्रै ऊर्जा मय, उल्लासमय, उमङ्गले प्रफुल्ल । घरपरिवारदेखि आफन्त, नलनाता हुँदै छरछिमेकी र चिनजानका, जानपहिचानका सारा मानवीय मनहरूमा पस्न र बस्न सक्नु ठूलो कुरा हो जीवनमा ।

त्यसैले भनिएको छ– ‘सम्बन्ध यस्तो होस् जसमा कुनै कुरा लुकाउनु नपरोस् अनि सबै कुरा भनिराख्न नपरोस् । कुनै कुरामा शङ्का नहोस्, कसैको पनि कुनै स्वार्थ नरहोस् ।’
माथि–माथि लेकाली पाटनहरूमा चौंरी चरनका ताँती । अझ हिउँ फुलेर सेताम्मे भूमि हिमचुली बनेका । पातला रूख पात, खोल्सा खहरे, खुल्ला धरतीको आँगन । जीवन दान दिने जडिबुटी यार्चागुम्बा खोज्नेहरू । त्यही खोजीमा ज्यान जोखिममा राखेर लाला बालासहित चिसो लेकमा जीवन । 

यी सबै हन्डर र हैरानी । अनि ज्यानलाई हत्केलामा राखेर सुखद बाँच्ने अभिलाषा । मायाको मिठास प्राप्तिकै लागि । पारिवारिक सुख र समृद्धि कै लागि । जीवनमा अलिकति खुसी निम्त्याउनका लागि । तर त्यो भोलिको खुसी आजै नमिल्दोरहेछ । मीठो सपना विपना नहुँदै जडिबुटीले ज्यान दिने र ज्यान खाने पनि रहेछ ।
तल–तल धेरै तल साप्सु जस्तै सुसाइरहेको । अरूण, तमोर जस्तै, कोशी जस्तै सुस्तरी बगिरहेको । खोला खहरेको जस्तो उर्लदो उत्ताउँलो भेलबाढी होइन । नबगे जस्तो देखिने तर बगिरहेको । सागर जस्तै शान्त र सुन्दर नदीहरू । आफ्नै सुर, लय र गतिमा गतिमान । तिनका आफ्नै मुर्छनाहरू । आफ्नै दुःख र पीडाहरू गनगन गर्दै बगिरहेछन् अनवरत । ती सबै सुन्दरताको दीप जलाउँदै । मायाको मिठास चखाउँदै ।

माथि धेरै माथि आकाश छोइरहे झै लाग्ने पहाडहरू । पर–पर जमिनमै बिलीन भए झैँ लाग्ने दृश्यहरू । जिज्ञासाले चञ्चल मन । आँखाको तृष्णा उत्तिकै । मनको रहर उस्तै । हरदम, हरपल उत्कण्ठाले वशीभूत । 

स्वादे जिब्रोलाई स्वादकै चाहना । लोभी नजरलाई दृश्यकै तिर्सना । थोरै पाइला घिसार्दै भए पनि, एक, दुई फड्को अगाडि पुग्न पाए भयो । धन्य मन, तिमी कति असन्तोषी ?!

आँखालाई चटारो । मनलाई हतारो । अन्ततः आँखाको तृष्णा न हो । एक पल हेर्नलाई पनि मरिहत्ते । हेर्नुको तृप्तिले सारा खुसीहरू जाग्दै । मायाको मिठासको भोक । 

मौसम मासका काँक्रा फर्सी, बोडी सिमीको बेलो लहराउँदै, लठारिँदै क्रमशः माया प्रेमको एक अनौठो प्रीति । नागबेली पर्दै चढिरहेका जमिनदेखि आकासिँदो फैलिन ताउरमाउर गर्दै । तिनको यात्रा जमिनमा फैलिनु छैन । बरू आकाशमा तैरिनु छ । आकाशबाट तल–तलको संसार पर–परसम्म हेर्नु छ । भरथेगलाईसहारा नजिकका थाङ्ग्रा खोज्दै, समाउँदै । 

दिनदिनै हलक्क हुर्किँदै जिन्दगी हराभरा । फुल्दै, फल्दै तार्लाङ्गतुलुङ्ग कति फसलहरू । कति असल अमृत तुल्य तुलफूलहरू । कुनै औषधिले हलक्क हुर्काइएको होइन । ‘अग्र्यानिक’ तुलफूलको ताजुबलाग्दो ताजाफल । खानुको बेग्लै स्वाद । स्वास्थ्यमा लाभ ।

कति चिचिला, मुन्टा, गटाहरू । आँखाको मृगतृष्णा त्यसमा रहस्य खोज्न थाल्छ । रमाउँदै प्रकृतिसँग संवाद गर्छ । क्रमागत सिलसिला यसरी नै निरन्तर प्रकृतिको परम्परा ... ! तिनमा पनि आपसी मायाको स्पन्दन । तिनमा पनि हार्दिकताको संलाप ।

रस चोर्न, चुस्न मौरीका भुनुभुन त्यहीँ । चौथी हान्न दाउ हेर्ने जवान त्यहीँ । कसरी जोगाउँदै हलक्क हुर्काउनु काँक्रा, फर्सी, लौका, स्कुस । आवश्यकतानुसार घामपानीको प्यारमा हुर्काउँदै । घरबेटीको स्याहार कति । छिमेकीका तृषित आँखा साँझ बिहान त्यहीँ । 

कसरी हुर्काउनु, कसरी जोगाउनु बोटमै पाकुन्ज्याल । फल्न थालेपछि किरालाई त्यही मनपर्ने । थाहै नपाई खाएर पातसमेत बाँकी नराख्ने । किसानलाई सुख र दुःख उत्तिकै ।

छरछिमेकमा कति हुन्छ, जति सकिन्छ बाँडि चुँडी खानु जाती । आँखाको प्यासलाई भाग शान्ति बाँड चुँडको नासोले गलपासो होइन, मायाको मिठास, मेवा मिष्ठान्न व्यञ्जन होस् । बचेखुचेको तुलफूल जोगाएर अनिकाललाई गाँस होस् । अर्को वर्ष उन्नत बीऊको काम बनोस् ।

अन्ततोगत्वा मायाको मिठासमा घोलिएको खानपान स्वादमा अब्बल हुने नै भयो । सम्झनामा सदा ताजै रहने नै भयो । खानपान जस्तै त्यस्तै सम्बन्धमा पनि आफ्नो पन ! मायाको चोखो आभास र अनुभूति ।

अतः मायामा मिठास घोलिनु, त्यसमा विना स्वार्थ साथसाथै हिँड्नु र हाँस्नु एक प्रियतम् पल । एक अनुपम उदाहरण ।

gyanendravivas@gmail.com