लोकसंवाद संवाददाता | शिक्षा | भदौ २३, २०८०
शिक्षाको जहाँ कुरा आउँछ, त्यसले भविष्यको बारेमा एउटा खाका देखिनु पर्छ रे । भविष्य कसको हेर्ने त ? बालबालिकाको, परिवारको , समाजको , देशको या अन्तर्राष्ट्रको ? त्यसैले पहिलो पात्र भनेको शिक्षा कसलाई भन्ने प्रश्न पहिलो हो । अनि शिक्षा भन्ने बित्तिकै त्यहाँ तत्काल आउने धारणा भनेको बालबालिकाहरुको कलिलो मस्तिष्कमा कसरी सही कुरा पुर्याउने ? अनि कसरी पुर्याउने ? अनि हामी शिक्षाका साधकहरूलाई ,शिक्षाका हल्काराहरुलाई लाग्छ, जसरी पनि पहिलो पात्र भनेको बालक हो , उसलाई सही जानकारी दिएपछि परिवार, समाज, देश तथा अन्तर्राष्ट्रको भलो हुन्छ, अर्थात् लक्ष्य पूरा हुन्छ ।
कसरी बालक समक्ष पुग्ने त भन्दा त्यसका लागि योजनाबद्ध तयारी हुनुपर्छ भन्ने मान्यता छ । आजको शैक्षिक सञ्चार प्रविधिको विकासले बालबालिकासम्म बेलैमा पुग्न एकदम सजिलो त भएको छ तर प्रविधिमैत्री हुनु पहिलो सर्त हुनजान्छ । कोरोनाकालमा सूचना प्रविधिको प्रशस्त प्रयोग गरियो तर त्यसको परिणाम भने सन्तोषजनक भएन भन्ने परिणामहरु आउँदै छन् र पनि प्रयोग सफल भएको हो र कम्तीमा पनि घरमा बसेका बालबालिकाहरुसँग दोहोरो सञ्चार गर्न सकिएको थियो । त्यसैले हामी शिक्षा र सञ्चारमा काम गर्नेहरुका लागि आजका जरुरी र समसामयिक जानकारी लक्ष्यसम्म पुर्याउनु पर्ने चुनौती थपिएको छ । हो, त्यसैको लागि चाहिने योजनालाई नै हामीले पाठ्यक्रम भन्ने गरेका हौँ ।
पाठ्यक्रम भन्ने बित्तिकै हामीहरुले एउटा जटिल विषयको रुपमा लिने गरेका छौँ । हो पनि जटिल विषय, किनभने त्यसले सिकारुको जिज्ञासा पूरा गर्न सक्नुपर्छ, अनेक दुःख गरेर घरबाट पढ्न पठाउने अभिभावकको आवश्यकता पूरा गर्न सक्ने हुनुपर्छ भन्ने अपेक्षा राखिएको हुन्छ र समाजले त्यो सिकारुबाट के अपेक्षा गरेको हुन्छ, त्यो पनि पूरा हुनु जरुरी मानिन्छ । समग्रमा समाजसँग देश पनि जोडिएको हुन्छ । पहिलो सर्त हो सिक्नेको आवश्यकता मानसिक तथा भौतिकरुपमा पूरा गर्ने । सायद त्यसैका लागि शिक्षालाई आधारभूत आवश्यकताको रुपमा मानिएको हो, नेपालको संविधानले त आधारभूत शिक्षासम्म लाई आधारभूत आवश्यकताको परिपूर्ति गर्नैपर्ने राज्यको कर्तव्यको रुपमा र राज्यमा कोही पनि निरक्षर या सामान्य जानकारी अप्राप्त कोही नरहून् भन्ने राष्ट्रिय, अन्तराष्ट्रिय चाहना पूरा गर्ने अनि आधारभूत मानव अधिकारको रुपमा शिक्षा र स्वास्थ्यलाई लिइने पर्ने गरिएको हो संविधानमा पनि , कानुनका पनि र व्यवहारमा पनि ।
जब कुनै पनि शैक्षिक कार्यक्रम, औपचारिक या अनौपचारिक तरिकाले सिकाउने होस्, त्यसको तयारी गर्ने भनेको नै पाठ्यक्रम निर्माण गर्ने हो । जीवनको गोरेटो तयार गर्ने हो साना साना लक्ष्यहरूको प्राप्तिसँगै । एकैपटकमा त पक्कै पनि चन्द्रमामा चन्द्रयानहरुको सफल अवतरण भएको होइन होला नि । अहिले ब्रह्माण्डको खोजीमा लागेको विश्व समुदायले पहिले आवश्यक साना साना जरुरी जानकारी नै सिकेको होला । त्यही जानकारी उपलब्ध गराउने तरिकाको योजनालाई हामीले पाठ्यक्रम भन्ने गरेका हौँ । वास्तवमा पाठ्यक्रम एउटा भावी योजना हो जसले कस्तो जानकारी कसरी पस्किने भन्ने कुराको योजना बनाउँछ , कार्यान्वयनका लागि पनि योजना बनाउँछ, कार्यान्वयन भनेको सिक्ने सिकाउने कामको पनि अनुगमन गर्छ र अन्तमा राखिएको लक्ष्य पूरा भयो कि भएन त्यसको लेखाजोखा गर्छ ।
हामी पाठ्यक्रमको भाषामा या शिक्षाको चलनचल्तीको भाषामा उद्देश्य भन्छौँ जसले के गर्ने भन्ने बारेमा सूत्रमा खाका तयार गर्छ । अनि त्यसका आधारमा मुलुकलाई कस्तो जनशक्ति चाहिने, हामीले कस्तो बनाउने भन्ने सूत्रमा तयार गरेपछि त्यसका लागि अनि हामीले विषय छान्छौँ र त्यसलाई विस्तृतीकरण गछौं, विषयवस्तुको अनुमान गरेपछि बल्ल विषयलाई कसरी ती आवश्यक परेका समक्ष पुर्याउने भन्ने विधि तयार गछौं जसलाई शिक्षण सिकाइ तरिका भनेर भने पनि त्यही नै हो उद्देश्य पूरा गर्नेगरी कार्यान्वयन गर्ने औजार । कक्षा कोठामा या सिकाउने ठाउँमा त्यसको प्रयोग कसरी गर्ने भन्ने महत्वपूर्ण पाटो त भयो अनि जुन लक्ष्यका साथ सिकाइएको हो सिकारुलाई, सिकाउने पनि त्यत्तिकै तालिम लिएका र जान्ने हुनु जरुरी हुन्छ । अनेकानेक तरिका अपनाएर कार्यान्वयनलाई सफल बनाउनु कामको जिम्मा सहजकर्ता या शिक्षकको हुने नै भयो ।
विद्यालयलाई स्थानीय पाठ्यक्रम बनाउने र त्यसको कार्यान्वयन गर्ने अधिकार दिइएको छ आधारभूत तहसम्मका लागि । त्यसले दोहोरो फाइदा हुने देखिन्छ, एउटा हो शिक्षकहरुले स्थानीय पाठ्यक्रम बनाउनु नै पर्ने भयो, विधिसम्मत तरिकाले बनाउनु पर्यो । विधिसम्मत भनेको के अध्यापन गर्ने, समाजका लागि त्यो जरुरत हो कि होइन भनेर समाजसँग बस्नै पर्ने हुन्छ, अभिभावकहरुको मन बुझ्नै पर्ने हुन्छ ।
खाका तयार भयो अब कक्षामा के,किन र कसरी प्रस्तुत हुने भन्ने तर जुन लक्ष्य पूरा गर्नका लागि खाका तयार गरिएको हो, साँच्चै दुरुस्त उपयोगी भयो कि भएन त भन्ने कुरालाई लेखाजोखा गर्नैपर्ने भयो, त्यसैलाई मूल्याङ्कन भनिन्छ जसले लक्ष्यसँग दाँजेर परिणामको तुलना गर्छ । कसरी तुलना गर्ने भन्ने अझै पनि बहसको विषय बनेकै छ र तर हामीले सजिलोको लागि यसो समयावधिभित्र कक्षा कोठामा समय तोकेर जाँच लिन्छौं, त्यसले तोकेको अंक या अक्षर ल्याए पछि लक्ष्य पूरा भयो , कति पूरा भयो भनेर भन्ने गछौं र परिणामलाई आफ्ना तरिकाले व्याख्या गर्छौँ ।
यो पढ्न पनि बेरसिलो छ नि । बनाउन पनि प्राविधिक रुपले जटिल छ किनभने भावी सिकारुलाई सिकाउने हो,भावी समयको लागि कति आवश्यक होला,समसामयिक होला भन्ने बारेमा अहिले नै अनुमान गर्ने हो । त्यसो त कक्षाको दीर्घकालीन तयारी मात्र होइन कि साना साना सिकाइहरू तथा प्रशिक्षणहरूको समेत पाठ्यक्रम तयार गर्नुपर्छ, आखिर सिकाउने भनेको मनोवैज्ञानिक प्रक्रिया हो । मन मानिस पिच्छे फरक फरक हुन्छ, जिज्ञासा पनि फरक फरक हुन्छन् र सांस्कृतिक परम्परा पनि फरकफरक हुन्छन् तर सिक्न ठाउँ एउटै हुन्छ । कति संवेदनशील छ नि सिक्ने सिकाउने काम ?
यो निरन्तर प्रक्रिया हो, भइरहेको हुन्छ । सिक्ने सिकाउने काम मानिसहरुले जन्मँदा देखि नै स्वतः गरिरहेको हुन्छ । मानिसहरुलाई सिकाउनु पर्छ अनि जान्दछ भन्ने चलन पनि सिकाउनु भएकाले आएको हो । कि मानिसले पढेर जान्दछ , कि परेर जान्दछ भन्ने चलन पनि छ । भोलिको जीवनलाई सहज बनाउनका लागि सिकाइन्छ । शिक्षामा कति ठुलो लगानी गरिन्छ किनभने भावी जनशक्तिको तयारी नगर्ने हो भने जीवन र जगतको निरन्तरतामा ह्रास आउँछ, जसले रिक्तता ल्याउने छ, समाजमा देखिने सकारात्मक प्रतिस्पर्धामा पनि ह्रास आउने छ ।
मैले स्नातक तहमा जब शिक्षा विषय पढ्न थालेँ, अनि मलाई पाठ्यक्रम भन्ने विषयसँग साक्षात्कार भयो । मज्जा लाग्यो किनभने भावी सिकाउने कुराको खाका त्यहाँ हुने रहेछ । सानोठिमी क्याम्पसको लेखा व्यावसायिक विषय पढ्न भनेर जब २०३२ सालमा त्यहाँ गएँ, पहिलो सेमेस्टरमा नै पाठ्यक्रम पुनरावलोकन भन्ने विषय रहेछ , त्यसको सहजकर्ता हुनुहुन्थ्यो गुरु मुरारिराज शर्मा । जो पछि परराष्ट्र मन्त्रालयको सचिव तथा विभिन्न देशहरुमा राजदूत भएर जानु भयो र अहिले स्मृतिमा मात्र हुनुहुन्छ । गुरुप्रति हार्दिक श्रद्धाञ्जलि भन्दै पाठ्यक्रम प्रतिको चासो जगाउने काम गुरुले नै गर्नु भयो र हामीलाई विश्वका करिब १५ओटा देशहरुको पाठ्यक्रम पुनरावलोकन गराउनु भयो । मलाई मन परेको थियो मलेसियाको पाठ्यक्रम । बहुजातीय, वहुभाषीय देश भए पनि, धर्मका नाममा राज्यको धर्म इस्लाम हुँदा पनि त्यहाँ समानताका आधारमा मातृभाषामा आधारभूत शिक्षा दिने चलनले मलाई लोभ्याएको थियो । आज त नेपालमा पनि त्यस्तै तरिकाले सिक्ने सिकाउने काम गरी रहेका छौँ ।
स्नातकोत्तर तहमा त मेरो मुख्य विषय नै पाठ्यक्रम रह्यो । धेरै जसो स्नातक शिक्षाका विद्यार्थीहरु पाठ्यक्रम विषय पढ्नु नपरे हुन्थ्यो भन्ने ठान्छन् किनभने औसतमा पाठ्यक्रम विषयमा धेरै विद्यार्थीहरु अनुत्तीर्ण भएको पाइन्छ । त्यसको कारण भाषागत पनि होला,कारण कक्षा १२मा स्पष्ट नभएकाले पनि होला तर हामीसँग सिकारुलाई प्रोत्साहन गर्ने परम्परा पनि छैन र अभ्यास नभई कसरी पाठ्यक्रम जस्तो विषयमा सिकारुलाई भित्रैसम्म जानकारी पुग्ने अन्तर चेतना जागृत होला ?
अझ एउटा गज्जबको संयोग के थियो भने पहिले दुई बर्से स्नातक शिक्षाको सिकाइ हुँदा या पढाइ हुँदा शिक्षाको आधार भन्ने विषयमा एउटा एकाइ मात्र थियो पाठ्यक्रमका बारेमा । जब बी एड गरेका विद्यार्थीहरु विद्यालय निरीक्षक भएर गाउँ गाउँमा जान थाले, त्यहाँ पाठ्यक्रमका बारेमा केही भन्न नसक्ने अवस्थामा पुगेको कुरा लोकसेवा आयोगमा जानकारीमा आएपछि लोकसेवा आयोगले विद्यालय निरीक्षकको पदमा आउने शिक्षामा स्नातक तह पार गर्नेहरुले पाठ्यक्रमको जानकारी राखेको हुनुुपर्ने भन्दै विश्वविद्यालयलाई बेग्लै पाठ्यक्रमको पाठ्यक्रम तयार गर्न भन्यो भन्ने सुनेको हो किनभने तीन बर्से बी एड सुरु भए पछि भने पाठ्यक्रम भन्ने विषयसँग शैक्षिक मूल्याङ्कनलाई राखिएको छ । नत्र पहिले शैक्षिक मूल्याङ्कन शैक्षिक मनोविज्ञानसँग संयुक्तरुपमा राखिएको थियो । स्नातकोत्तर तहमा पनि त्यस्तै थियो तर स्नातकोत्तर तहमा पनि अहिले त पाठ्यक्रम भन्ने विषय नै ३क्रेडिट आवरको राखिएको छ । पाठ्यक्रम मूल विषय लिनेका लागि पनि छ । नत्र त पहिले अनिवार्य विषयहरु मध्ये पाठ्यक्रम थिएन । वार्षिक प्रणालीमा पाठ्यक्रम सुधार हुँदा राखिन थालेको थियो ।
अहिले एकातिर शिक्षा विषय लिएर अध्ययन गर्नेहरु बेरोजगार भएको देखिन्छ, अर्कोतिर विद्यालयमा या क्याम्पसमा शिक्षकहरुको संख्या नपुग भएर पठन पाठनमा व्यवधान आएको सुन्न र देख्न पाइन्छ । दरबन्दी अनुसार पनि शिक्षकहरु छैनन् एकातिर भने दरबन्दी नै नपुग छ भन्ने गुनासो यथावत् छ । विद्यालयलाई स्थानीय पाठ्यक्रम बनाउने र त्यसको कार्यान्वयन गर्ने अधिकार दिइएको छ आधारभूत तहसम्मका लागि । त्यसले दोहोरो फाइदा हुने देखिन्छ, एउटा हो शिक्षकहरुले स्थानीय पाठ्यक्रम बनाउनु नै पर्ने भयो, विधिसम्मत तरिकाले बनाउनु पर्यो । विधिसम्मत भनेको के अध्यापन गर्ने, समाजका लागि त्यो जरुरत हो कि होइन भनेर समाजसँग बस्नै पर्ने हुन्छ, अभिभावकहरुको मन बुझ्नै पर्ने हुन्छ ।
अनि त्यसको अभ्यास गर्नुपर्दा पक्कै नै सबैसँग सोधखोज गर्ने बानी राख्नै पर्ने हुन्छ । विद्यालयमा पनि त्यसलाई सबैको सहयोग र स्वीकृति ले प्रयोग गर्नुपर्छ । स्थानीय आवश्यकता भनेको राज्यका लागि राज्यले तयार गरेजस्तै हो स्थानीय तहका लागि । प्रत्येक गाउँ, सहर, टोल र प्रदेशका आफ्ना आफ्नै विशेषता हुन्छन्, आवश्यकता पनि हुन्छन् । तिनको संबोधन गर्ने हो । पहिलेभन्दा पाठ्यक्रम बनाउने कुरामा सहज पनि छ, चुनौती पनि छ । क्रमशः