लोकसंवाद संवाददाता | दृष्टिकोण | भदौ २४, २०८०
नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुँदैछ । नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको विशेष फौज बिहीबार नेपाल आइपुगेको हो । सो टोलीले भदौ २४ गतेदेखि असोज १२ गतेसम्म अभ्यास गर्नेछ । जसमा नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना सैनिक सामेल हुनेछन् ।
विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाले जनाएको छ । नेपाल विश्वको महाशक्ति बन्ने होडमा सबैभन्दा अघि रहेको चीन र भारतजस्ता शक्ति राष्ट्रसँग सीमा जोडिएको देश हो । नेपालमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएदेखि नै अमेरिकी उपस्थिति बाक्लिएको छ । जसका माध्यमबाट चीनलाई चिहाउने अमेरिकी रणनीति हुनसक्ने कतिपयको आशंका छ । त्यसैले अमेरिकी सेनासँगको यो सैन्य अभ्यासबारे पनि प्रश्न उठ्नु स्वाभाविक हो, र उठिरहेको छ । यतिसम्म कि सत्ता पक्षमा रहेकै पार्टीका नेताहरुले समेत यो सैन्य अभ्यासको सान्दर्भिकता माथि प्रश्न उठाएका छन् ।
यद्यपि यो युद्ध अभ्यास नभएर विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी विषयको सैन्य अभ्यास भएकाले यसप्रति आपत्ति जनाउनु उचित नभएको सैन्य मामिलाका विज्ञहरूले बताउन थालेका छन् । यो अभ्यासलाई उनीहरुले २०७२ सालको भूकम्पका समयमा सेनाको भूमिकासँग तुलना गर्छन् । यद्यपि त्यसबेला विभिन्न देशबाट सहायताको घोषणा हुँदा त्यसको व्यवस्थापन झनै जटिल देखिएको थियो । नेपालले पछिल्ला समयमा जलवायु परिवर्तनको असरका कारण अप्रत्यासित प्राकृतिक विपद्को सामना गर्नु परिरहेको छ । प्राकृतिक विपद्को बढ्दो जोखिमको सामना गर्न नेपाली सेनाजस्तो प्रशिक्षित र प्रभावकारी अर्को निकाय छैन ।
नेपाली सेनाले अमेरिकाका साथै बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायत देशका सेनासँग पनि संयुक्त तालिम र अभ्यास गर्दै आएको छ । सैन्य क्षमता, दक्षता र प्राविधिक रुपमा पनि अगाडि रहेका सेनासँगको संयुक्त तालिमले थप ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास छ । यस्ता तालिम र अभ्यास मूल रूपमा प्राकृतिक विपद् र मानवीय सहायता केन्द्रित हुने गरेको सैनिक अधिकारीहरु बताउँछन् । अमेरिकासँगको पछिल्लो सैन्य अभ्याससम्म करिब चार हजार सैनिक सहभागी भएका छन् । ‘एक्स–टिक नेल’ नाम दिइएको संयुक्त अभ्यासमा करिब पाँच सय सहभागी भइसकेका छन् ।
जसलाई शीत युद्धकालीन अवस्थासँग तुलना गरिदै आएको छ । त्यसैले यस्तो समयमा गरिने संयुक्त सैन्य अभ्यास कुनै पनि छिमेकीलाई चिसो नपस्ने गरी र आपसी लाभको समीक्षा गरी गर्नु उपयुक्त हुने विश्लेषकहरूको ठम्याइ छ ।
नेपाली सेनाले अमेरिकी इन्डो प्यासिफिक कमान्डसँग मिलेर शान्ति प्रयास नामक बहुराष्ट्रिय सैनिक अभ्यासमा समेत सहभागीता जनाउँदै आएको छ । जुन अभ्यासमा दुई हजारभन्दा बढीले तालिम लिएका छन् । संसारमा विपद् व्यवस्थापन र मानवीय सहायता मात्रै होइन, सैन्य होडबाजीको ट्रेन्ड कता गइरहेको छ, नयाँ उपकरणहरु कस्ता विकास भइरहेका छन् भन्ने ताजा जानकारी विकसित देशका सैनिकहरूसँग छन् । त्यसैले ती देशका सेनासँगको सैन्य अभ्यास महत्वपूर्ण हुने पूर्व सैनिक अधिकारीहरु बताउँछन् ।
नेपाली सेनाले भारतसँग सन् २०११ देखि सूर्यकिरण नामक संयुक्त सैन्य अभ्यास गर्दै आएको छ भने सन् २०१७ देखि चीनसँग पनि ‘सगरमाथा मैत्री’ सैन्य अभ्यास सुरु गरेको थियो । यद्यपि कोभिड महामारीका कारण यी सैन्य अभ्यासले निरन्तरता पाउन सकेनन् । पछिल्लो समयमा नेपालमा अमेरिकी चासो बढ्नुमा उत्तरी छिमेकी चीनप्रति अमेरिकी चासो कारक रहेको कतिपयको विश्लेषण छ । नेपालमा अमेरिकी उपस्थिति बढ्नुलाई चीनले पनि संवेदनशील रुपमा हेरेको पाइन्छ ।
सामरिक हिसाबले पनि दुई ठूला छिमेकीको वीचमा रहेको भूपरिवेष्ठित देश नेपालले सन्तुलित कूटनीतिक भूमिका निर्वाह गर्नपर्ने आवश्यकता छ । विश्वका प्रविधि सम्पन्न देशका सेनासँग सामान्य अवस्थामा हुने संयुक्त सैन्य अभ्यास स्वाभाविक हुन्छन् । तर यतिबेला कूटनीतिक सन्तुलनका हिसाबले निकै जटिल अवस्था रहेकाले यस्ता सैन्य अभ्यास र त्यसमा हुने ठोस कार्यक्रमबारे गम्भीर बन्नुपर्ने आवश्यक रहेको कूटनीतिक क्षेत्रका विज्ञहरु बताउँछन् ।
युक्रेनमाथि रुसको हमला, दक्षिण चीन सागर, ताइवानजस्ता विषयले अमेरिका र चीनबीचको बढ्दो तनावका कारण यतिबेला विश्व बहुध्रुवीय तनावमा फसेको देखिन्छ । जसलाई शीत युद्धकालीन अवस्थासँग तुलना गरिदै आएको छ । त्यसैले यस्तो समयमा गरिने संयुक्त सैन्य अभ्यास कुनै पनि छिमेकीलाई चिसो नपस्ने गरी र आपसी लाभको समीक्षा गरी गर्नु उपयुक्त हुने विश्लेषकहरूको ठम्याइ छ ।