लोकसंवाद संवाददाता | समाचार | भदौ २९, २०८०
पहिलो घटना
करिब एक महिना अघि कक्षा १२ को परीक्षाको नतिजा आउन लागेको थियो । नतिजा ब्रेकिङ गर्ने तारतम्य मिलाएर म भने घर जाने तरखरमा लागे । काठमाडौंको एक प्रतिष्ठित कलेजमा कार्यरत एक मित्रको फोल आयो आँखा टक्क अड्याए र फोन उठाएँ । सामान्य भलाकुसारीपछि उनले प्रश्न गरे प्लस टु पास गरेको, बीबीए र बीएचएम पढ्ने कोही विद्यार्थी छ ? उनको प्रश्नको उत्तर भुइँमा खस्न नपाउँदै मैले उत्तर दिएँ– ‘छैन, किन र ?’ उनले मलाई सहजै जवाफ दिए– ‘एउटा विद्यार्थी ल्याइस् भने तिमीलाई ३५ हजार आउँछ ।’ मैले ‘ए’ भने फोन राखे र घरतिर लागे । साँझ परिसकेकाले सिधै कोटेश्वर चोकबाट महानगर यातायात चढे ।
दाेस्रो घटना
करिब १५ वर्षअघि रत्न राज्यलक्ष्मी क्याम्पसमा आईए पढ्दाका मेरा एक सहपाठी हाल अस्ट्रेलियाको मेलबर्नमा बस्छन् । केही वर्षदेखि उतै जमेका उनी राम्रै कमाई गर्छन् । केही दिनअघि म नउठ्दै म्यासेन्जरमा ‘कल’ आयो । उनको फोनसँगै म ब्युँझिएँ र बिहानै फोन आउँदा कुनै समस्या परेको वा अरु कारण हो कि भनेर फोन रिसिभ गरेँ । खासै केही कुरा रहेनछ । उता छिटै उज्यालो हुँने भएकाले बिहानको चिया समय सदुपयोग गरेको रहेछ । पढ्दाका, त्यसबेलाका साथीभाइको प्रसंग हरुलाई ताजा बनाइयो । यत्तिकैमा मैले सोधे,– नेपाल यात्रा कहिले नि ! दशैंमा त आउने होला नि !’ उनले भने– दशैंमा त भन्न सक्दिन यो वर्षभित्र एक पटक आउँछु । दशैंमा आउन नसक्नुको कारण अरु नभएर अस्ट्रेलियामा यसैवर्ष घर किन्ने सोचमा रहेछन् । उनका छोराछोरी काठमाडौंकै निजी विद्यालयमा होस्टल बसेर बढ्छन् ।
तेस्रो घटना
भदौं २६ गते बिहान ५ बज्दै रहेछ । सिरानीमै राखेको बैगुनी मोबाइलको घण्टीले सुत्न दिएन । फोन परिचित मित्रको थियो । एक पटक उठाइन र निदाउने कोशिस गरे । तर अर्कोपटक पनि फोन आएसी उठाउन करै लाग्यो । फोन उठ्ने बित्तिकै एक्कासी उताबाट आवाज आयो– सुवास नेम्वाङ बिते रे हो ? यो प्रश्नमिश्रित आश्चर्यले राम्रोसँग खुल्न नमानेका आँखाहरु पुरै खुले । हतारहतार फेसबुक खोले अनगिन्ती श्रद्धान्जलीको पोस्टहरु आइसकेका रहेछन् । पत्याउन कर लाग्यो ।
दुई दिनअघिमात्रै धरान पुगेर फर्किएको थाहा पाएको थिएँ । सामान्य ज्वरोले घरमै आराम गरेको जानकारी पनि थिएन । राजनीतिक जीवन सक्रिय हुँदाहुँदै एक्कासी यस्तो घटना घट्यो । आन्तरिक राजनीतिमा जेजस्तो भए पनि खुला रुपमा कसैलाई नबिझाउने र शालिन लाग्ने व्यक्तिको एकाएक हृदयघातले ज्यान लियो ।
तर आम जनताका घरमा यस्ता कति घटना घटिरहेका छन् ? देशमा किन भविष्य नदेख्ने अवस्थाको सिर्जना भयो ? जब राजनीतिक दलहरु देश बनाउन आफ्नो सिंगो जीवन समर्पण गरेको भाषण बाजी गरिरहेका छन् भने युवाले, विद्यार्थीले, श्रमिकले भविष्य नदेख्ने कस्तो देश बनाउन लागिएको हो ? यसको उचित जवाफ बेलैमा दिनुपर्ने होइन र ?
२०७२ को संविधान जारी हुँदाका प्रधानमन्त्री सुशील कोइरालाको पनि यसरी अचानक मृत्युको खबर सुन्नु परेको थियो । नेम्वाङको मृत्युको खबरपछि अफिसतिर लागे । मनमा अनेकौं तर्कना आए । गाडीमा चढेपछि म मोबाइल डाटा उतिधेरै खोल्दिनँ । घरमा वाईफाई, दिनभरी वाईफाई, चिया पसलमा वाईफाईले दिक्क लागिरहेको हुन्छ । फेरि एकैछिन नेट नचलाउँदा हाम्रो आकाशै खस्ने घटना हुने पनि होइन । तर मनले मानेन । सिनामंगल पुगेपछि एकपटक फोन निकालेर फेसबुक खोले ।
नेम्वाङलाई श्रद्धान्जली दिनेको लर्को, अस्पताल र पार्टी कार्यालयमा जस्तै फेसबुकमा पनि थामिसक्नु थिएन । त्यही बिचमा कसैले साहित्यकार राजेन्द्र पराजुलीको हँसिलो फोटो पोस्ट गरेको रहेछ । क्याप्सन के थियो हेरिनँ । भर्खरै जन्तरमन्तर नामको किताब लेखेका पराजुलीलाई यसैबारे कसैले केही लेखेको हुनुपर्छ भन्ने भयो र ध्यान पनि उतिसारो गएन । अहिलेका साहित्यकारमध्ये मैले संगत गरेका साहित्यकार थिए, पराजुली । उनीसँगका रमाइला पलहरु ताजै भएकाले उनको जीवन नै तलमाथि भएको सोच्न सकिने कुरै थिएन । तर जब अफिस पुगेर फेसबुक खोल्छु त मनै चिसो भयो । निमोनियाका कारण साहित्यकार पराजुलीको निधनको नमीठो खबर देख्नु र सुन्नु पर्यो ।
नेम्वाङको श्रद्धान्जलीका लागि रिपोर्टिङको बन्दोबस्त मिलाएर पशुपतितिर दगुरेँ । ब्रम्हनाल छेवैको पाटीमा ‘राजेन्द्र दाइ’ चीर निद्रामा थिएँ । उठेर ‘भाइ कफिले बोलाइसक्यो जाने हैन’ भन्छन् जस्तो लाग्यो । तर राजेन्द्र दाइ अब सधैंका लागि हामीबाट गइसकेका थिए । केहीबेर राजेन्द्र दाइको परिचय भएको प्राण बिनाको राजेन्द्र दाइको छेउमा बसेँ । नजिकै रहेका आफन्तहरुसँग सोधेँ, ‘दाइको अन्त्यष्टि कतिबेला हुन्छ ?’ छेउमै रहेकी एक जना दिदीले भन्नुभयो, ‘छोरा विदेशमा छ, आएपछि दिउँसो साढे २ देखि ३ बजेतिर हुन्छ होला ।’ त्यहाँ एक किसिमको अनिश्चितता देखियो । आधा घण्टा बसेँ र दिउँसो राजेन्द्र दाइको अन्तिम बिदाईको साँच्ची बन्न आउने गरी त्यहाँबाट फर्किएँ ।
अफिस फर्किदा सुवास नेम्वाङको श्रद्धान्जली र अन्त्येष्टिका अनेकौं खबरमा व्यस्त भइयो । तर नेम्वाङका दुवै छोराहरु विदेशमा भएका कारण अन्त्येष्टि आएपछि मात्रै हुने खबरसँगै दिनभर पशुपति, कार्यालय, एमाले मुख्यालय दौडिने क्रम जारी रह्यो ।
देशले लामो र पट्यार लाग्दो राजनीतिक परिवर्तन पाएको छ । देशमा जनताका प्रतिनिधिको शासन छ अर्थात हामी लोकतान्त्रिक गणतन्त्रको उपभोग गरिरहेका छौं । तर यहाँ एउटा विद्यार्थीले भविष्य देख्दैन, एउटा स्कुल/कजेल यही पढ्ने विद्यार्थी खोज्न कमिसन दिन तयार हुन्छ । विदेश गएको मान्छे नेपाल फर्किने भन्दा उतै ऋण काडेर घर किन्न तिर लाग्छ । यहाँ मृत्यु भएपछि पनि दाग बत्तीका लागि अभिभावकले सन्तान पर्किनु पर्छ भने हामी कस्तो देश बनाइरहेका छौं ?
यहाँ देशमा प्रतिष्ठा कमाइसकेका व्यक्तिहरु भएकाले यो कुरा आम जनताले थाहा पाए । भलै नेम्वाङका छोराहरु बाध्यताका वैदेशिक रोजगारीमा थिएनन् । तर आम जनताका घरमा यस्ता कति घटना घटिरहेका छन् ? देशमा किन भविष्य नदेख्ने अवस्थाको सिर्जना भयो ? जब राजनीतिक दलहरु देश बनाउन आफ्नो सिंगो जीवन समर्पण गरेको भाषण बाजी गरिरहेका छन् भने युवाले, विद्यार्थीले, श्रमिकले भविष्य नदेख्ने कस्तो देश बनाउन लागिएको हो ? यसको उचित जवाफ बेलैमा दिनुपर्ने होइन र ?