हरिविनोद अधिकारी | समाज | भदौ ३०, २०८०
अतीतमा जब फर्केर हेरिन्छ, सबैले अनायास आफ्नो समीक्षा गर्न थाल्छन् र आफूलाई निर्दोष साबित गर्नका लागि आफैँमा तर्क गर्न थाल्छन् । तर समसामयिक समाजले गल्ती नै हो भनेका काम गरेको रहेछ भने पक्कै आफैँमा लाज पनि लाग्नेछ, आजसम्म त्यसबारेमा अरुलाई जानकारी नभएकोमा आफैँलाई बुद्धिमान मान्ने पनि चलन देखिन्छ तर आफूलाई कसैले ढाँट्न सक्दैन यदि स्मृतिमा छ भने ।
हाम्रो शरीरको बनावट र मस्तिष्कको काम गराइले कतिपय कुरा आफैँ मेटिएर जान्छ भन्ने मनोवैज्ञानिकहरूको धारणा छ । कतिपय कुराहरु बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन र कतिपय सम्झन खोज्दा पनि सम्झनामा आउँदैन ।
हो, त्यसैका लागि दैनिकी लेख्ने चलन आएको हुनुपर्छ । त्यसैबाट पुरानो सम्झना ताजा हुन्छ । सबैको अतीत हुन्छ भने अतीत कति गर्व गर्न लायक पनि हुन्छ, कति बिर्सन लायक पनि हुन्छ । प्रगति, उन्नति र पेशागत उन्नयनको सम्झनाले पक्कै पनि बिर्सनु भन्दा पनि गौरवको अनुभूति हुन्छ होला तर आफू ठगिएको वा आफूले ठगेको, गलत काम गरेको कुराले हिजोको त्यो बेलाको याद आउँदा पनि आफूलाई कोक्याउने गरी अतीतले पोल्ने पनि हुन्छ । अझ कुनै दोष नभएको कुरामा दोषारोपण भएर दण्डित हुनुपर्दा या आफ्ना गल्तीले अर्काले दोष खपेको देख्नुपर्दा त्यसै पनि मन कुँडिन्छ होला ।
पक्कै जीवनमा कतिपय अपत्यारिला घटना पनि घटेका हुनुपर्छ, कति अचानक घटेका घटनाले जीवनको बाटो नै मोडेको हुनसक्छ । यसो आफूलाई म पनि समीक्षा गर्छु, मैले आफूलाई आफैँलाई नै धेरै पटक न्याय नगरेको पाउँछु ।
तर मलाई थाहा छैन के केमा न्याय गर्न सकिन छु या अन्याय गरे छु । यसको परिणाम के हो भने मैले भन्दा पनि मेरा कारणले अरुले त्यसको नकारात्मक परिणाम भोग्नु परेको मैले आजभोलि अनुभूत गरिरहेको छु । मेरो गल्तीका कारणले हो कि मैले कर्तव्य पालना गर्दा निरन्तरतामा भएका गल्तीले हो कि या मलाई ती काम गर्न कर्तव्यले नदिएको परिणाम आफूले र अरुले पनि भोग्नु परेकोले हो कि ? मैले अझै आफूलाई सम्झाउन सकेको छैन ।
म पिता तथा माताको कुनै पनि कुरा काट्न नसक्ने, किनकि मलाई सानैदेखि त्यही संस्कार दिइएको थियो । थाहा छैन, मैले कतिपटक बा आमाको चित्त दुखाएको हुँला तर ती पृथ्वी र आकासले कति दुःख सहे होलान् तर मलाई एकवचन केही भन्नुभएन । मैले त झन सकेसम्म चित्त दुख्ने गरी केही भनेको सम्झना छैन र त्यस्तो कुनै काम गरेको सम्झना छैन । अझ मेरो संस्कारमा, मैले जानेको पछिल्लो न्यायको विषयमा के थियो भने बा आमासँग अंश माग्नु हुँदैन । उहाँहरुले यदि यो तँलाई भन्नु भएछ भने लिउ ला, नत्र जन्म दिने बा आमासँग मलाई यति चाहियो भनेर अंशका लागि झगडा गर्ने, मुद्दा मामिला गर्ने त मेरो कल्पनामा पनि आएको थिएन । अझ मेरो धारणा थियो, बाले नै कमाएको हो, जुन बेलामा जति खर्च गर्नुपर्छ गर्नुहोस्, जसलाई जेजे दिन मन लागेको छ दिनुहोस् ।
बाको लागि हामी सन्तान सबै बराबर । हो यहीँनेर म चुके कि ? या त्यो गल्ती नभए पनि आज पनि मैले त्यसको परिणाम अनावश्यकरुपमा किन भोग्दै छु भन्नेचाहिँ लाग्दैछ । विमातृ भाइहरु पनि छन् मेरा जसलाई बाले आफू जीवित हुँदा नै आवश्यक जग्गा, जमिन र नगद दिएको भन्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, उनीहरु दुई भाइहरूलाई मैले अंश दिएको छु । बा २०६१साल भाद्र ३१ गते स्वर्गीय हुनु भएको हो, मेरो आमा पनि २०७०साल चैत्र २४गते धाम गमन गर्नु भएको हो र ती विमातृ भाइहरूको माता मेरो अर्की आमाको मृत्यु पनि २०४२सालमा भएको बुझिन्छ । हामीसँगै बसेनौ ।
जीवनमा हाँस्न पनि जान्नुपर्छ, खुसी हुन पनि सक्नुपर्छ भन्ने मान्यतामा हामी अनावश्यकरुपमा मुद्दा मामिलामा पर्दा पनि संयमता गुमाएका छैनौँ किनभने भाइले एकदिन त बुझ्ला वास्तविकता र पश्चाताप गर्ला भन्ने आशा गरेका छौँ ।
सायद, बालाई लाग्यो होला, सौतेनी भावना बढ्ने छ र आपसमा विवाद झगडा गर्नेछन् । बाले दिएको सम्पत्तिमाथि चित्त बुझेन होला तर हामीलाई के पनि थाहा थिएन भने बाले कसलाई कति दिनु भएको हो ? हामीलाई कति छुट्याएर राख्नु भएको थियो ? आमाले जहिले पनि अंश हो, स्पष्ट हुनुपर्छ, बासँग स्पष्टसँग कसलाई कति हो भन्ने बुझ्न मलाई बारम्बार भन्दा पनि मैले भनेँ, आमा म तपाईँहरूसँग अंशका बारेमा केही पनि बोल्दिन, दिनुहुन्छ दिनुस् तर मलाई यति भनेर माग्दैन ।
माहिलो भाइ हिमालय घरमा बा आमासँग बसेर खेती गर्यो, स्थानीय राजनीतिक गतिविधिमा सक्रिय भयो र ऊ पनि २०६९ चैत्रमा सडक दुर्घटनामा परेर दिवंगत भयो । मेरा आमा पट्टिका हामी पाँच भाइ छोराहरु पनि चार भाइ भयौँ तर हाम्रो कुनै भागबन्डा भएको छैन किनभने आफूलाई बाले दिएकोले नपुगेर २०७७ असोजमा भाइले हामी सबै भाइ र हाम्रा दुलहीहरूको समेत नाममा अंश मुद्दा दिएको छ । हामीले त अंश लिएका छैनौँ, जे छ संगोलमा छ भने हामी आफ्ना आफ्ना कमाइले बाँचेर बसेका तथा हाम्रा पत्नीहरूले के पाएका थिए र त्यो भाइलाई अंश दिऊन् ? तर मुद्दा चलिरहेको छ ।
यहाँनेर कसलाई के अन्याय परेको होला, या के गर्नुपर्ला सम्मानित अदालतले सबै कुरा सुनेपछि भन्ने नै छ तर बाले दिने जति दिएको, अनि हामीले केही पनि भाग लगाएर नलिएको, लिने जब बेला घर्किन थाल्यो, मुद्दाले त्यसलाई रोकेको अवस्थामा मेरो आफैँलाई के जिज्ञासा रह्यो भने यहाँनेर मेरो दोष कति हो ? मैले बा आमासँग अंशको बारेमा स्पष्ट भएर सबै भाइहरूको अंश माग्नु थियो कि सधैँ बा आमाको नैतिक डरले चुपचाप बस्नु ठिक थियो ?
अझै मैले आफूलाई सम्झाउन सकेको छैन । थाहा छैन, परिणामले के रुप लेला, कसरी समय अगाडि बढ्ला तर मेरो दोष यत्ति हो कि मैले बा हुँदै बासँग ती भाइहरूले जस्तै गरी आफूलाई अंश माग्न सकिन र बाबाट लिन त परै जाओस्, शब्द पनि उच्चारण गर्न सकिन ।
मलाई बासँग अंश नमागेर गल्ती भएको जस्तो लागेकै छैन, कम्तीमा बालाई हामी पाँच भाइले मुख छोडेनौँ, अनावश्यक विवाद गरेनौँ र विषादको वातावरण दिएनौँ, बरु जे सक्छौँ सेवा गरेर बस्यौँ । त्यसमा ग्लानि हुनुपर्ने केही पनि छैन भन्ने लाग्छ । हो यहीँनेर मलाई आफ्नो अतीतसँग कहिले छक्क लाग्छ त कहिले बेलामा केही पनि नगर्ने हुस्सुको अवस्था मेरो जस्तै अलमलमा पर्ने हुन्छ भन्ने पनि लाग्छ ।
यो गुनासो होइन तर अतीतको कुरा सम्झेको हो । अहिले बालापनको मात्र सम्झना आउँछ, आमाको माया, बा आमाको नैतिक संस्कार र गरी खानका लागि सधैँ प्रेरणाको मात्र याद आउँछ ।
मैले एउटा कविता लेखेको थिएँ केही वर्ष पहिले मेरी नातिनीको बालापन हराउन थाल्यो भनेर । काखमा लुट पुटिने ती नातिनीहरू अब विद्यालय जान थाले, ख्याल ख्यालमा उनीहरुको बालापनसमेत हराउन थाल्यो । प्रतिकमा त मेरी ठूली नातिनी विश्रुता छिन् जसलाई हामी परिवारका मानिसहरुले हातहातमा नचाएर हुर्कवयौँ , हामी बाजे बज्यैलाई उसले बाबा र आमा भनेर संबोधन गरिन् बोल्न थाल्दा देखि । उसको सिको गरेर उसका बहिनीहरू फुपूका छोरीहरुले समेत बाबा र आमा भन्छन् हामीलाई । जीवनमा हाँस्न पनि जान्नुपर्छ, खुसी हुन पनि सक्नुपर्छ भन्ने मान्यतामा हामी अनावश्यकरुपमा मुद्दा मामिलामा पर्दा पनि संयमता गुमाएका छैनौँ किनभने भाइले एकदिन त बुझ्ला वास्तविकता र पश्चाताप गर्ला भन्ने आशा गरेका छौँ ।
मेरो विचारमा मेरी नातिनीको बालापन हराउन लागेको प्रतीकात्मक शैलीमा मैले लेखेका कविता यहाँ सान्दर्भिक होला जस्तो लागेर राखेको छु ।
कविता
२०७६.१०.१२(२०२० जनवरी २६)
तिमी नरोऊ है , तिम्रो बालापन हराउँदै छ तर कतै पछि भेटिएला
मलाई मेरो बालापन हराएकोमा अब कुनै दुःख छैन
किनभने त्यो बालापन थाहा नपाउँदै हराएको थियो
अहिले मेरो काखैमा तिम्रो बालापन खेलिरहेको छ
र बिस्तारै तिम्रो बालापन खोसिँदै छ मेरो अघिल्तिर
तिमी मेरो काँधमा उभिएर फोटोका पोज दिन्थ्यौ
र मेरो काखमा अर्को कोही पनि लुटुपुटु नगरोस् भन्ने
ईष्र्यामा हुन्थ्यौ र त मेरो बाजेपन सुकेको ठुटोमा
हरियाली आएको थियो तर
अब तिमीले मात्र स्कुल जाने हतारोमा
होमवर्कको भ्याइनभ्याइमा र राम्रा नाना र मिठा खाजामा
आफ्नो बालापन बिर्सन लाग्यौ
समयले त कसलाई पो पर्खेको छ र ?
न मलाई पख्र्यो न अरु कसैलाई
तर तिम्रो बालापन मेरै काखमा कसरी हराउन थाल्यो
मैले नै थाहा पाइन नातिनी ,थाहै पाइन
मलाई तिम्रो बाबु पनि सानै लाग्छ अहिले पनि
तिम्रा अरु हजुर्बाहरु , फुपु बज्यैहरु र फुपुहरु अनि काकाहरु
सबै नै साना लाग्छन् र तिनका पनि बालापन यसैगरी
मेरा काखमा खेल्दा खेल्दै हराएका थिए
तर उनीहरुको बालापन हराओस् भनेर धेरै कुरा सिकाएँ
अहिले मेरै काखमा तिम्रो पनि बालापन हराउन खोज्दा
मलाई साह्रै माया लाग्यो र अमूल्य बालापन कसरी जोगाउने भन्ने चिन्ता लाग्यो
त्यसैले म तिम्रा प्रत्येक क्षणका फोटाहरु फेसबुकमा राख्न चाहन्छु
अचेल जुकरबर्ग भाइले पनि मेरा ती फोटाहरु मलाई नै सम्झाउन राख्ने गर्छन्
अनि म झन भाव विह्वल भएर तिम्रा बालापनको पक्षमा
बकालत गर्छु आफैँसंग—कसरी म तिम्रो बालापनलाई जोगाउन सक्छु ?
समयसंग त कालको त केही लाग्दैन,जो आफैँ समय हो बितेर जान्छ क्षणभरमा नै
मैले त समयलाई किन बाँधेर राख्न सक्थेँ र ? राख्नु पनि हुँदैन
र पनि मेरी नातिनीको त्यो स्वतन्त्र बालापन जसलाई मैले पनि मलजल गरेर
तिमीलाई स्वतन्त्र नागरिक बनाउन मद्दत गरिरहेको छु
सबैले तिमीलाई स्वच्छन्द बनाउन मद्दत गरेका छन्
ती सबै तिम्रो बालापन हराउन थालेकोमा खुसी व्यक्त गर्दै केक काट्छन्
म पनि एकमनले त खुसी छु तिम्रो किशोरावस्थाको प्रवेश हुने समयका लागि
तर त्यो मेरो काँधमा उभिएर हात समाएको अनि
मसँग फोटो खिचाउन पोज दिएको
मुखभरि माम राखेर पोको पारेका
मलाई पछिल्तिरबाट झ्याप्प समाएर बुई चढेको
अनि हाक्की हाक्की भन्दै मनेर आएर अर्कैतिर लागेको
त्यो स्वच्छन्द अनि निस्फिक्री अन्दाज त हराउने नै भयो
मलाई अरुको बालापनभन्दा पनि तिम्रो बालापनको समय समाप्त हुन लागेकोमा
ठूलो चिन्ता यसकारणले लाग्न थालेको छ कि
तिम्रा स्वतन्त्रताका दिनहरु अपहरण हुन थालेका छन्
ती दिनहरु फेरि कहिल्यै नआउने गरी अस्ताउने भएका छन्
अनि मैले फेरि त्यसरी तिमीलाई हाक्की हाक्की भनेर खेलाउने दिन आउने छैनन्
अब त तिमी पनि समयको प्रवाहसँगै आफूलाई थाहै नपाई
हेलिएकी निरीह प्राणी भएकी पाउने छ्यौ अनायाश आफैँलाई
तिम्रो जीवन तिम्रो अधीनमा पनि हुनेछैन र हाम्रो अधीनमा पनि हुनेछैन
मात्र समयको जिम्मामा पुगेकी हुनेछ्यौ ।
तिम्रो बालापनको त्यो उत्तराद्र्धमा म खुसी हुँ कि रोउँ ?
न त्यो तिम्रो अधीनमा छ , न त्यो मेरो अधीनमा छ
र पनि तिम्रो बालापनको
मीठो सम्झना मलाई बाँचुन्जेलसम्म किन पनि रहने छ भने
तिमी मेरो त्यस्तो सन्तान भएकी थियौँ जसले
मलाई बुढौलीमा पनि अपरिमित खुसीको रसास्वाद गराएको थियो
सन्तति तन्तुको मीठो मायाको स्वाद पहिलो
मिठास चखाएको थियो समयले तिम्रा नाउँमा
त्यसै त्यसै म आह्लादित भएको थिएँ तिम्रो अनुहार हेर्नका लागि
र जब देखेँ त्यसै हराएँ आफैँमा
म पनि बाजे भएँछु भनेर एउटा अर्कै स्वाद जीवनमा चाखेर ।
बालापन तिम्रो जाँदा मेरो पनि बालापनसँग खेल्ने वालापन हराउला जस्तो छ
कतैबाट थाकेर आउँदा पनि ताजा गराउने तिम्रा ती बोलीहरु ऋब
ल्यापटप र गृहकार्यमा व्यस्त हुनेछन्
म नजिक आएको वा नआएको केही थाहा किन हुने छैन भने
तिम्रा भविष्यका बाटाहरु मेरा निकटताले भन्दा पनि
आफ्ना मिहिनेतले खनिने छन्
तर पनि तिम्रा बालापनका ती स्मृतिहरु
म नहुँदा पनि कतै भेटिएलान् जतनसँग खुसी भएर हेर्नू
र बाजेसँग, बज्यैसँग बिताएका ती क्षणहरुलाई स्मृतिमा ताजा राख्नू । क्रमशः