ज्ञानेन्द्र विवश | साहित्य | असोज ०६, २०८०
झर्रो भाषा, खर्रो बोली तर सुललित स्वर । सत्य त्यसमै उहाँको । कतिलाई पटक्कै मन नपर्ने । कति उहाँका प्रशंसक । कति उहाँका आलोचक !
रिसाउने, खुसाउनेसँग उहाँलाई रत्तिभर पनि मतलब थिएन । कसैलाई रिझाउने आदत थिएन । बोल्दै हिँड्ने, हिँड्दै बोल्ने । साहित्य, संस्कृति, भाषाकै कुरा उहाँका । त्यसमा पनि स्वरको आकर्षक मिठास । ठेट नेपाली लवज र लहरमा उहाँले बोल्ने प्रत्येक शब्द दर्शक र स्रोताका हृदयभित्र स्पर्श गर्न पुग्थे । त्यो स्पर्शमा मौलिकता मौलाइरहेको अनुभव गर्न सकिन्थ्यो । उहाँ अर्थात् दाहाल यज्ञनिधि अथवा जदौ दाहाल ।
कहिल्यै फोटो खिच्न रूचाउनु भएन जदौ दाहालले । कहिल्यै निराश भएर उदास देखिनु भएन उहाँ । जहिल्यै फुर्तिफार्तीको बोली र व्यवहार उहाँको । जहाँ भेट्दा पनि आफ्ना अनुजप्रति कति धेरै माया र स्नेहका स्पर्श उहाँको । हार्दिकताले सुम सुम्याउने, मीठा शब्द चयनले बोलिरहने । आवाजको सुन्दर, सुमधुर मिठास । रेडियो तरङ्गमा उहाँको स्वर सुसेली झङ्कृत हुँदै स्रोताका कान–कानमा पुग्दा क्या मधुर मृदु वाणी प्रतिध्ननित हुने । सधैँ सुनि रहूँ झै लाग्ने । आवाजको जादूमय गुञ्जन गुँज्जिरहने । दैवी स्वर–सुसेलीको अमृतवाणी बोल्ने उहाँ ।र
वास्तवमा मानिस देखिरहनु पर्दैन आवाजले मान्छे चिनिन्छ । प्रत्येक मान्छेमा आवाजको समानता हुँदैन । मान्छे पिच्छे फरक स्वर हुन्छ । त्यही फरक स्वरले मान्छे को हो अलग्गै चिन्न सकिन्छ । मान्छेको स्वरबाटै उसको स्वभाव पनि थाहा हुन्छ । रूखो, कर्कश आवाजलाई कसैले मन पराउँदैनन् । मृदु मुस्कानसहितको मीठो आवाजको जो पनि प्रशंसक हुन्छन् । त्यस्तो आवाजले गाली गरेको पनि मीठै सुनिन्छ । त्यसमा कुनै दम्भ र दुःख हुँदैन । बरू कस्तै पीडामा पनि खुसीहरू चछल्कि रहेका हुन्छन् ।
कागको आवाज कसले सुन्न चाहन्छ तर कोइलीको आवाजमा ‘को हो, को हो ?’ को प्रश्न भए पनि शास्त्रीय सङ्गीतको झङ्कार जस्तै बनै गुञ्जायमान हुन्छ । अरण्यरोदनको पक्ष गौँण हुन्छ त्यहाँ ।
मान्छेको आवाजमा उसको चिनारी गाँसिएको हुन्छ । आवाजको कति ठूलो शान हुन्छ । जस्तो गायक, गायिकाहरूको आवाजमा बेग्लै मिठास सुनिन्छ । रेडियो, टेलिभिजनमा बोल्नेहरूको आवाजमै मिठास लेपन भएको हुन्छ । आवाजलाई सुनेर स्रोता, दर्शक मन्त्रमुग्ध हुन्छन् । कोहीसँग कसैको आवाज मिल्दैन । सबैको पृथक स्वर–सुसेलीको सुमधुर झङ्कार झङ्कृत भएको हुन्छ । त्यही झङ्कारमा हावासँगै बगेर आवाजको खेती गर्नेहरूले काम पाउँछन् । कामसँगै नाम र दाम कमाउँछन् ।
काठमाडौँका व्यस्त सडक, गल्ली र काँठतिर हिँडाइ र बसाइका बेलिबिस्तारको पाटो अलग्गै छन् । दाहालको दैलो अनामनगर जाँदा, आउँदाका कुराहरू पनि थुप्रै छन् । ती सबै–सबै त्यत्तिकै प्रेरणादायी र स्मरणीय पनि छन् । जदौ दाहाल दाजु ! जदौ !!
वास्तवमा फरकपनको स्वरले बोलिएका कुरा बेस्वादको हुँदैन । चखिलो हुन्छ । गीतका शब्दहरूलाई सङ्गीतसँग घोलेर गायनकलाको प्रविष्टीले अर्कै अलग्ग आवाजको आनन्द हामीलाई सम्प्रेषण गर्छ । नाम नभने पनि, अनुहार नदेखाए पनि कसैले फोन गर्दा, भीडमा बोलाउँदा स्वतः यो आवाज फलानाको हो भनेर छुट्याउन सकिन्छ ।
इन्द्रजात्राको दिन इन्द्रचोकको अस्तव्यस्त बजारमा म हिँडिरहेको थिएँ । ‘ज्ञानू बाबू !’ को कति मीठो आवाज मेरो कानमा प्रतिध्वनित भएर गुञ्जियो । हल्लाखल्लाको त्यो भीडमा पनि मैले मलाई नै बोलाएको हो भन्ने अनुमान गरेँ । हुन त यस्ता बोलावटका आवाजहरू धेरै सुनेको छु । कसले मलाई बोलायो भनी फर्की–फर्की हरेको पनि छु । तर अरू नै मेरै नामधारी मनुवालाई बोलाएको थाहा पाउँदा झुक्किएर लज्जित भएको छु ।
जात्राको भीडमा आवाजै आवाजको जुलुस । मान्छेका आवाज, बाजा र गीतगुञ्जनका आवाज । आवाजहरूको भीडमा ध्वनि प्रदूषणको मापन उच्च थियो होला । कुनै आवाजमा कसैको ध्यान थिएन । सबै आ–आफ्नै ध्याउन्नमा व्यस्त । जात्रामा आएकाहरु, किनमेल र घुम्न, हेर्न आएकाहरू अनेकौँको त्यो महाभीडको माहौल । हल्लै हल्लाको यस्तो केही नसुनिने, केही नबुझिने अवस्था । यस्तै भीडभाडमा ठोक्किँदै मेरो कानसम्म स्पर्श गर्न आइपुगेको त्यो प्यारो आवाज । मलाई नै बोलाएको त्यो मायालु आवाजबाट म कसरी बिरानो बन्न सक्थेँ र !
अन्ततः ‘ज्ञानू बाबू !’ शब्दको झङ्कारमा चिरपरिचित चिनारीको आभास थियो ।मेरा प्रिय अग्रज, पथप्रदर्शक दाहाल दाजुको स्वर नचिन्नु कसरी ? त्यत्रो भीडमा पनि उहाँले मलाई देखिहाल्नु भएछ । बोलाएको सुन्ला नसुन्लातिर केको मतलव । बोलावटको चिनारु स्वर मेरो कानसम्म फुत्त पठाइहाल्नु भो ।मैले उहाँको बोलावटको आत्मीय निम्तो चिनिहालेँ, सुनिहालेँ । बरू भीडमा उहाँलाई देख्न र भेट्न मुस्किल भयो ।
केही महिनाअघि मात्रै मृर्गौला प्रत्यारोपण गरी भारतबाट उहाँ फर्किनुभएको थियो । निकै थकित र गलेर अर्कै स्वरूपका मृर्गौला रोगी उहाँ । तर उहाँको आत्मबल र आत्मविश्वास बलियो । ‘ज्यान रहेसम्म जे गरे नि हुन्छ, ज्यान नरहेपछि सबै खेल खत्तम’ भन्नुहुन्थ्यो । ईन्द्रचोकबाट गफिँदै उहाँले असन हुँदै भोटाहिटी पु¥याएर पुरानो समोसा पसलमा समोसा खुवाउनुभयो । उहाँसँग जता जाँदा पनि उहाँको आवाज सुनेर झुम्मिने र श्रद्धाले झुक्नेहरू कैयौँ भेटेको छु मैले । उहाँले २०३६ सालदेखि खाँदै आउनुभएको त्यही समोसा पसलमा उहाँका शुभचिन्तकहरू प्रशस्तै भेटिए । भलाकुसारीले समय बितेको कसैलाई पत्तै भएन ।
दाहाल दाजुले मलाई कहिल्यै पनि मेरो पूरा नामले बोलाउनु भएन । उहाँलाई ‘ज्ञानेन्द्र’ नाम नपर्ने । अनि ‘विवश’ उपनाम पनि । त्यसैले सधैँ उहाँ मलाई ‘ज्ञानू बाबू !’ भन्नुहुन्थ्यो । मैले पनि यही नामको सम्बोधनमा मेरो पूरा परिचय प्रकट भएको महसुस गर्थेँ । उहाँको मुखबाट यो नाम सुन्दा मलाई पनि आनन्द लाग्थ्यो । उहाँ आफैँ पनि ‘ज्ञानू बाबू !’ नाममा बोलाउँदा आनन्द लाग्छ भन्नुहुन्थ्यो । उहाँले ‘नाम फेर्नुस्, उपनाम अर्कै राख्नुस्’ पनि भन्नुभयो । मैले मेरो नामलाई मेटाउन चाहिनँ । यही नाम लिएर यहाँसम्म आएको म मेरो परिचित नामबाट विमुख हुनु भएन । तर रेडियोमा बोल्दा मात्र मेरो पूरा नाम दाहाल दाजुले बोल्नुहुन्थ्यो।
विपन्न, उपेक्षित, दलित, पीडित भनौँ सहारा विहीनहरूका आवाजलाई उहाँ प्रकाशमा ल्याउने काम गर्नुहुन्थ्यो । उहाँसँगका सम्झनाहरू बगे्रल्ती छन् । उहाँकै निवासमा हामीले गफगाफमै आँखा झिमिक्कै नगरी एक रात बिताएका थियौँ ।उहाँको निवास अनामनगरस्थित दाहालको दैलोमा रात छर्लङ्गै हुँदासमेत हामीलाई अनिँदोको आभास भएन ।
त्यस रात महाकवि लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, गोपालप्रसाद रिमाल र वीपी कोइरालाका भक्त दाहाल दाजुले उहाँहरूकै सिर्जनाको कति गहिरो, कति सजिलो विश्लेषण र व्याख्या गर्नुभयो भनी साध्य छैन । कविता वाचन गर्दै सुनाउँदा र त्यसको पृष्ठभूमि बताउँदा हामी मक्ख, दङ्ग । धाराप्रवाह उहाँको बोलीको नदी बगेपछि कसले रोक्न सक्नु ?कसले थुनछेक गर्ने साहस गर्नु ? यस्तो सुनौलो स्वर त्यसमाथि साहित्यको चाख र चासोको कुरा सुनेर कहाँ अघाउन सक्नु ?‘रात रहे, अग्राख पलाउँछ’ उक्ति चरितार्थ भएन । रात रहेन र अग्राख पनि पलाएन ।
दाहाल दाजुको उन्मुक्त हाँसोमा शारीरिक पीडाको अलिकति पनि दुखाइ थिएन । वंशाणुगत रोगको कति पीडा सहनुभएको थियो । तर व्यक्त गर्नुहुन्थ्यो । बोलेर, हिँडेर र खाएर उहाँले पचाउनुभएको थियो असह्य पीडाका चोटहरूलाई ।
जदौ दाहालले सधैँ वर्गीय चरित्र बोकेका समाजका अनेक पात्र र पाटाहरूलाई खोतल्ने कोसिस गर्नुभयो । रेडियो कार्यक्रमका लागि पनि उहाँले यस्तै विषयमा निबन्ध लेख्न प्रेरित गरिरहनुभयो । महिना, ऋतु, पर्व, व्यक्ति, किताब, स्थान आदि यी विषयमा उहाँका भावनाहरूलाई आत्मसात् गरी प्रशस्तै निबन्धहरू लेखियो ।ती निबन्धका बान्की उहाँको उही चिरपरिचित आवाजबाट प्रसारण हुँदा कति हर्ष, कति खुसी । यसको सीमा थिएन । स्रोता–संसारको उस्तै प्रेम । तिनताक रेडियो नसुन्ने कोही थिएनन् सायद । गाउँघरमा रेडियो हुन्थ्यो । रेडियोले सबै बोल्थ्यो, बताउँथ्यो ।
भन्ने गर्नुहुन्थ्यो–‘हामी त धेरै सुख सुविधामा बाँचेका छौँ बाबू । हामीभन्दा कति मान्छे खानलाउन नपाएर बाँचेका छन् । कति मान्छे, मान्छेबाटै दबिएर, हेपिएर मर्दै बाँचेका छन् ।अन्नलाई कहिल्यै पनि फाल्नु हुँदैन । कति ज्यान अन्न खान नपाएर मरेका होलान् भन्ने हेक्का राख्नुपर्छ ।’
दाहाल दाजुको बोलीको थालनी ‘जदौ’ बाट हुन्थ्यो । ‘जदौ’ बाटै बोलीको बिट मार्नुहुन्थ्यो । कसैलाई भेट्दा पनि ‘जदौ गरेँ बा’ बाट बोल्नुहुन्थ्यो । ‘जदौ’ शब्द उहाँलाई अति नै प्रिय लाग्थ्यो । उहाँले कथित तल्लो जातकाहरूले प्रयोग गर्ने भनिएको अभिवादन ‘जदौ’ शब्दको प्रयोगलाई सर्वव्यापी पार्दै आउनुभएको थियो ।जीवनभर उहाँले जात, धर्म, राजा, ईश्वर मान्नु भएन ।
‘जदौ’ शब्द सर्वप्रिय, सनातन र सभ्य समाजको भाषा हो, आफूभन्दा ठूला र सानालाई पनि समानताका आधारमा सम्मानपूर्वक बोलिने भाषा हो भन्ने जदौ दाहालको ठहर थियो । उहाँ भन्नुहुन्थ्यो– ‘यो शब्द दलितले मात्रै आफूभन्दा माथिल्लो जातिकालाई बोल्ने होइन । दलितले हामीलाई नमस्कार गर्दा ‘जदौ’ भन्नुपर्छ भन्ने नियम अभिजात भनाउँदाहरूले बनाएका हुन् । वास्तवमा जदौ शब्द यौटा जातिको होइन । ‘जदौ’ सम्मानित र सबैले बोल्नुपर्ने शब्द हो ।’
वि.सं. २०१० साल श्रावण ८ गते खोटाङ, खाल्लेमा जन्मनुभएका यज्ञनिधि दाहालले २०७५ साल श्रावण २५ गते सदाका लागि बिदा लिनुभयो ।उहाँले सधैँ आफूलाई दाहाल यज्ञनिधि भनी लेख्नुभयो, बोल्नुभयो । अझ यसलाई छोट्याएर ‘जदौ दाहाल’मा आफ्नो परिचय राख्नुभयो । ‘मानिसलाई दासता र रैतीबाट नागरिक बनाउनुपर्छ’ भन्ने अभियान र मान्यताका रेडियोकर्मी दाहाल युवापुस्ताका प्रेरणा हुनुहुन्थ्यो ।
उहाँलाई के कुरा थाहा थिएन ? उहाँले के मात्र योजनाहरू बनाउनुभएको थिएन ? तर मृत्युले उहाँलाई मनको सारा ईच्छा पूरा गर्न कहाँ समय दिनु ! उहाँ बोल्दाबोल्दै बित्नुभयो ।
गत श्रावण २५ गते जदौ दाहालको पाँचौँ स्मृति दिवस मण्डिखाटारस्थित ‘सुधाको डिही’ मा सम्पन्न भयो । सोही कार्यक्रममा ‘दाहाल यज्ञनिधि–सुधा सदन’ ले साहित्यकार निनु चापागाईंलाई एक लाख पचास हजार राशिको ‘दाहाल यज्ञनिधि पुरस्कार’ प्रदान गर्यो । सुधा भाउजूले निम्त्याएर उक्त कार्यक्रममा पुग्दा जदौ दाहालको चिरपरिचित आवाज सुन्न पाएर म लगायत उपस्थित उहाँका परिवार, आफन्त, शुभचिन्तक सबै भावविह्वल भएका थिए ।
रेडियो नेपालको ‘साहित्य–संसार’ कार्यक्रम सञ्चालनका माध्यमबाट उहाँले लाखौँ शुभचिन्तक, स्रोता कमाउनुभएको थियो । साहित्यको संसारै उहाँको आवाजमा मिसिएर त्यो देशव्यापी हुन पुग्थ्यो । त्यो सुन्न कति गाउँले, सहरिया, पढेका, नपढेका सबै उत्सुक हुन्थे ।‘कुन बार, कति बजे रेडियोमा जदौ दाहाल आउँछन् ?’ बार र समय सम्झेर दाहालको स्वर सुन्न स्रोता पर्खिएर बसेका हुन्थे । काम छोडेर उहाँको आवाज सुन्थे । ढाकर बिसाएर, तोक्मा अड्याएर उहाँको स्वरमाघुल्थे । गफिन छोडेर, खान बिर्सेर दाहालको जदौमा लट्ठ हुन्थे ।
सरल भाषा सबैले बुझ्ने, गाउँका कुरा ठेट शब्द कति मीठो संयोजन लगातार उसरी नै बोलेर हँसाउने उहाँको सीपकौशल ।स्रोता सबै प्रभावित, सबै प्रशन्न ।प्रिय दाहाल दाजुले जीवनमा आफूले सोँचेको र चाहेको कुरा धेरै गर्नुभयो । जस्तो कि ‘जदौ’ शब्दलाई व्यापक पार्नुभयो । आफूलाई चित्त नबुझेको कुरा फटाफट भन्नुभयो । कसैको सम्मान र पुरस्कारको आशा राख्नुभएन । आफ्नो व्यवहारले को रिसाउँला, को खुसाउँलाको बाटो हेर्नुभएन । यसरी आफ्नो अडानमा अडिग दाहाल दाजुलाई आज सम्झेर श्रद्धाका फूल अर्पण गर्छु यिनै शब्दहरू मार्फत् ।
तथापि उहाँ भन्नुहुन्थ्यो– ‘मरेको मान्छेलाई धेरै सम्झनु हुँदैन ।’ तर बिर्सेर पनि कहाँ बिर्सिन सकिन्छ र दाहाल दाजु । तपाईले मलाई लेख्न प्रेरित गर्नुभयो । तपाईसँग चितवन पुगेका, पोखरा घुमेका, बाहुनेपाटी गएका यादगार सम्झनाहरू धेरै छन् । काठमाडौँका व्यस्त सडक, गल्ली र काँठतिर हिँडाइ र बसाइका बेलिबिस्तारको पाटो अलग्गै छन् । दाहालको दैलो अनामनगर जाँदा, आउँदाका कुराहरू पनि थुप्रै छन् । ती सबै–सबै त्यत्तिकै प्रेरणादायी र स्मरणीय पनि छन् । जदौ दाहाल दाजु ! जदौ !!