लोकसंवाद संवाददाता | समाचार | असोज ०८, २०८०
काठमाडौँ । पत्रकार कृष्णसिंह धामीमाथि दिनदहाडै सांघातिक आक्रमण भएको घटनाको शिक्षा पत्रकार समूहले एक विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा पत्रकार समूहले रातोपाटी अनलाइनमा कार्यरत पत्रकार धामीमाथि भएको सांघातिक आक्रमणको घोर भर्त्सना गरेको हो ।
शिक्षा पत्रकार समूहका महासचिव रोशन क्षेत्री गाउँले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘शिक्षा पत्रकारमाथि भएको यो जघन्य घटनाको शिक्षा पत्रकार समूह खेद प्रकट गर्दछ । समाचार लेखेको कारण यसअघि पटक–पटक आक्रमणको धम्की खेपिरहेका धामीमाथिको आजको आक्रमणले राजधानीमै सञ्चारकर्मीहरु असुरक्षित रहेको भान हामीलाई भएको छ ।’
रातोपाटीको कार्यालय नजिकै पुल्चोकमा धामीमाथि सोमबार दिउँसो अज्ञात समूहले आक्रमण गरेको थियो । त्यसैगरी अनलाइन पत्रकार संघका सचिव गोविन्द मरासिनीले पनि विज्ञप्ति जारी गरी कुनै पनि प्रकाशित समाचारमा चित्त नबुझेमा कानुनी उपचार खोज्नुको सट्टा पत्रकारहरूलाई दिन दाहाडै आक्रमण गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको हाम्रो ठहर छ ।
संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार पुर्ण रूपमा उपयोग गर्दै समाचार सम्प्रेषण गर्न पाउने व्यवस्था मिलाउन सम्पूर्ण सरोकारवालासँग संघ जोडदार माग गर्दछ । घटनामा जो–कोहि संलग्न रहेको भएपनि तत्काल कानुनी दायरामा ल्याई दोषीलाई कडा कारवाहीका लागि ध्यानाकर्षण गराउँदछौँ ।