लोकसंवाद संवाददाता | समाचार | असोज ११, २०८०
काठमाडौँ । हरेक वर्ष जस्तै यस वर्षपनि विश्वभरी पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन् । यसै दिवसलाई लक्षित गर्दै नेपाल अटोेमोबाइल्स एसोसिएसन (नासा नेपाल) र विमा नेपालको संयुक्त आयोजना र उपत्यका पर्यटन कार्यालय, हातिवन, ललितपुरको सहकार्यमा आउँदो शनिबार काठमाडौँ–नमोबुद्ध टुरिङ र्याली आयोजना गरिने भएको छ । नासा नेपाल र सो संस्थाका विभिन्न क्लबहरूले विगतका वर्षमा पनि पर्यटन प्रवर्धन गर्नेहेतु बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
उपत्यका पर्यटन कार्यालयले बागमती प्रदेशमा रहेका विभिन्न पर्यटकिय क्षेत्रको पहिचान गर्नुका साथै प्रवर्धनात्मक कार्य गर्ने र यससँग सम्बन्धित संघ संस्थाहरुसँग सहकार्य गर्दै आन्तरिक पर्यटनलाई बढावा दिइरहेको छ । यस वर्ष काठमाडौँ नजिकैको लोकप्रिय गन्तब्य नमोबुद्धसम्म टुरिङ्ग र्याली आयोजना गरिको हो । करिब सय बढि सहभागी रहने उक्त र्यालीको मुख्य उद्देश्य युवा तथा मोटरसाइकल चालकहरुलाई आन्तरिक पर्यटनमा जोड्नु रहेका हो ।
सानो हातिवनस्थित उपत्यका पर्यटन कार्यालयबाट बिहान ८ बजेबाट सुरु हुने सो र्याली कोटेश्वर–सल्लाघारि–सागाँ–बनेपा–धुलिखेल हुदै नमोबुद्ध पुग्नेछ भने पुनः धुलिखेल आएर समापन हुनेछ । र्यालीको लागि सन्तोष न्यौपाने, सञ्जु बज्रचार्य र मिङ्मा डोल्मा तामाङ रहेको समिति गठन गरिएको छ ।